
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाइराख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्दै उनले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढंगबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे ।
मन्त्री उप्रेतीले भने, ‘अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सेनाले ठूलो योगदान पुर्याएको छ । विश्व शान्तिका लागि जोखिम बहन गर्ने एवं साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधैँ अग्रपंक्तिमा छ ।’
सेनाले दुर्गम क्षेत्रमा, राज्यका सबै विकट स्थानसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान पुर्याउँदै आएको बताउँदै उनले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको भ्रमण गर्ने क्रममा भइरहेको प्रगति देख्दा आफू सन्तुष्ट भएको उल्लेख गरे ।
रक्षा मन्त्रालयको नेतृत्व सम्हालेपछि उनले पहिलोपटक जंगी अड्डा पुगेर सेनाबारे औपचारिक जानकारी लिएका हुन् । सो अवसरमा मन्त्री उप्रेतीसमक्ष सेनाको संगठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।