Skip This
काठमाडौं महानगरले ६ महिनामा पार्किङबाटै उठायो ७५ लाख 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o८:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरले ६ महिनामा पार्किङबाटै उठायो ७५ लाख 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:५२:oo

मेयर साहले पार्किङ व्यवस्थित गर्ने नाममा खाली ठाउँहरूमा ठेक्का लगाए

काठमाडौं महानगरले पार्किङ ठेक्काबाट मात्रै ६ महिनामा ७५ लाख ३९ हजार चार सय ४६ रुपैयाँ उठाएको छ । महानगरभित्रका अव्यवस्थित पार्किङ हटाउने नाममा ‘व्यापारीकरण’ गरेपछि आर्थिक वर्ष ०७९/८० को ६ महिनामा पार्किङबाट हुने आम्दानी बढेको हो ।

महानगरले यो वर्ष पार्किङ शुल्कबापत एक करोड राजस्व संकलन हुने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउँदा महानगरका मेयर बालेन्द्र साहले पार्किङ शुल्कबाट गत वर्षभन्दा धेरै राजस्व संकलन गर्ने कार्ययोजना तय गरेका थिए । उनले सोही योजनाअनुसार निःशुल्क पार्किङ हटाएर ठेक्का लगाएको आरोप छ ।

महानगरले आर्थिक वर्ष ०७८/७९ को सोही अवधिमा पार्किङ शुल्कबापत ५५ लाख आम्दानी अनुमान गरे पनि ३६ लाख ३९ हजार चार सय ८८ रुपैयाँ संकलन गरेको थियो । मेयर साहले पार्किङ व्यवस्थित गर्ने नाममा महानगरका भित्री चोक पार्किङ ठेक्का दिएका छन् । उनले मूल सडक, फुटपाथ तथा केही भित्री सडक–किनारमा पार्किङ हटाएर महानगरकै खाली जग्गाहरूलाई पार्किङका रूपमा भाडामा लगाएका छन् । जसका कारण पार्किङबाट महानगरले आम्दानी बढाएको छ । उपत्यकाका सडक–किनार र खुला ठाउँमा पार्किङ हटाउँदै आए पनि न्युरोड तथा वसन्तपुर क्षेत्रलाई भने महानगरले पार्किङ ‘हब’ बनाएको छ । सबैभन्दा बढी आम्दानी गर्ने क्षेत्र पनि वसन्तपुर तथा न्युरोड हुन् । न्युरोडस्थित पीपलबोट क्षेत्र, भूगोलपार्क, धर्मपथ, पिपुल्स प्लाजा, न्युरोड–झोछेँ सडक–किनारलगायतमा मोटो रकम लिएर पार्किङ ठेक्का लगाएको आरोप छ । 

महानगरको राजस्व विभाग प्रमुख शिवराज अधिकारीले गत वर्षको तुलनामा महानगरले यो वर्ष पार्किङबापतको कर बढी उठाएको जानकारी दिए । उनका अनुसार निश्चित ठाउँलाई पार्किङस्थलका रूपमा प्रयोग गरेपछि महानगरको आम्दानी स्रोत थपिएको हो । ‘महानगरको मुख्य आम्दानीको स्रोत पार्किङ पनि हो,’ उनले भने, ‘घना सहरका बीचमा व्यवस्थित पार्किङ चाहिन्छ नै ।’ महानगरले ह्विल्स ट्रली योर्स प्रालिलाई स्मार्ट पार्किङको ठेक्का लगाएको छ । तर, जथाभावी पार्किङ लगाउँदा भित्री सहर नै अस्तव्यस्त भएको छ । महानगरले ठेक्का दिएको कम्पनीले १२ भन्दा बढी स्थानमा पार्किङ शुल्क उठाउँछ । काठमाडौं महानगरभित्र दुईपांग्रे सवारीसाधनलाई प्रतिघन्टा ३० रुपैयाँ र चारपांग्रेलाई ६० रुपैयाँका दरले शुल्क लिइन्छ । 

सरकारी संस्थाको पार्किङस्थल प्रयोग गर्न नपाएको गुनासो
न्युरोडस्थित नेपाल बैंक लिमिटेड, नेपाल वायुसेवा निगम, सुन्धारामा रहेको नेपाल टेलिकम, वीर अस्पतालको नयाँ भवन, जुद्ध वारुण यन्त्रको कार्यालय, दरबार हेरचाह कार्यालयलगायतमा प्रशस्त पार्किङस्थल भएर सर्वसाधारणले सवारीसाधन पार्किङ गर्न नपाएको गुनासो गर्दै आएका छन् । सडक–किनारका पार्किङ हटाएर विकल्प नदिँदा दरबारमार्ग, न्युरोड, रत्नपार्क, सुन्धारा, बागबजार, पुतलीसडकलगायत क्षेत्रमा यात्रुहरूले सास्ती खेप्ने गरेका छन् ।