मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २० शुक्रबार ०७:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तेस्रो मुलुकका नागरिक प्रयोग गरी नेपालमा सुन तस्करी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २० शुक्रबार ०७:३५:००

डेढ महिनाभित्रै दुईजना पक्राउ, अर्धठोस अवस्थाको २८ केसी सुन बरामद 

मध्यपूर्व एसियाली मुलुकबाट नेपाल हुँदै भारतमा सुन तस्करी गर्न तेस्रो देशका नागरिकलाई भरिया बनाएको पाइएको छ । तस्करीमा भरियाका रूपमा प्रयोग भएका क्यानेडियन नागरिक मोहम्मद कमाल मोहोयुव नौ केजी एक सय ३५ ग्राम सुनसहित बुधबार बेलुका त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि यस्तो खुलेको हो । 

दुबईबाट आएका मोहोयुवलाई अवैध सुनसहित पक्राउ गरेको प्रमुख भन्सार अधिकृत अरुण पोखरेलले बताए । पोखरेलका अनुसार मोहोयुवले कम्मरमा बाँधेको पेटीभित्र अर्धठोस बनाएर सुन लुकाएका थिए । भन्सार जाँचका सुन पत्ता लागेको हो । 

यसअघि ८ पुसमा पनि विमानस्थलमा भन्सार जाँचका क्रममा सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला साराफेल्दिन १९ केजी सुनसहित पक्राउ परेका थिए । केमिकल प्रयोग गरी सुनलाई अर्धठोस बनाई उनले पनि कम्मरमा बाँधेर तस्करी गर्न खोजेका थिए । दुबईमै बस्ने एक सुडानी व्यक्तिले तीन लाख सुडानी पाउन्ड (करिब ७० हजार नेपाली रुपैयाँ) दिएर सो सामान ओसार्न लगाएको उनले बताएका थिए ।

सो घटनाको पनि भन्सारले अनुसन्धान गरिरहेको जनाएको छ । सो सुन लिन गएका अर्का सुडानी नागरिक अहमद मोहम्मद इब्राहिम मोहम्मदलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले सो सुन भारत लैजाने जिम्मा पाएका थिए । प्रहरीका अनुसार उनले पहिला पनि तस्करीको सुन भारत लगिसकेका थिए । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थुनामा राखी उनीमाथि अनुसन्धान गरिरहेको छ । ‘दुबईबाट यसरी आउने सुन उनले झापा र मोरङका नाका हुँदै भारत लैजाने गरेको देखियो,’ सिआइबीका एक अधिकारीले भने । उनी दोस्रोपटक नेपाल आएका हुन् । पहिलोपटक ३ नोभेम्बरमा आएर ६ नोभेम्बरमा फर्किएका थिए ।

पछिल्लोपटक भने उनी २१ नोभेम्बरदेखि नेपालमै थिए । नेपालमा बसेर दुबईबाट आउने सुन भारत पठाउने उनको जिम्मेवारी थियो । उनकै माध्यमबाट सुन तस्करीमा संलग्न केही भारतीय नागरिकबारे पनि प्रहरीले पत्ता लगाइसकेको जनाएको छ । त्यसमा नेपालीको संलग्नता हालसम्म देखिएको छैन । भारतीय र सुडानी नागरिकको गिरोहमाथि सिआइबीले अनुसन्धान अघि बढाएको छ । 

विमानस्थलका प्रमुख भन्सार प्रशासक पोखरेल शंका नगरून् भनेर सुन तस्करीमा तेस्रो मुलुकका व्यक्ति प्रयोग गर्न थालिएको हुन सक्ने बताउँछन् । अझ कमजोर आर्थिक अवस्था भएका अफ्रिकी मूलका व्यक्तिलाई छानिएको उनको भनाइ छ ।