१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
रमेश सुवेदी काठमाडौं
Invalid date format o६:३७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीप बन्द प्रशिक्षणमा फर्किए

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:३७:oo

धरौटीमा रिहा भएका पूर्वकप्तान सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा समावेश भएका छन् । सन्दीप ३० अगस्ट २०२२ पछि नेपाली टोलीसँगै प्रशिक्षणमा जोडिएका हुन् । गत वर्षको ३० अगस्टमा केन्याविरुद्धको पाँचौँ अन्तर्राष्ट्रिय टी–२० खेलमा सन्दीपले अन्तिमपटक राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरेका थिए । केन्या भ्रमणको बीचमै उनी सीधै क्यारेबियन लिग खेल्न त्यसतर्फ लागेका थिए । 

बालिका बलात्कार आरोपमा सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो । गत मंगलबार र बुधबार पोखरामा क्यानको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्‍यो । यससँगै सन्दीपको राष्ट्रिय टोलीमा फर्किने बाटो खुला भएको हो । क्यानले २ फागुनमा कीर्तिपुरस्थिति अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाका लागि बन्द प्रशिक्षणको दोस्रो चरणका लागि घोषित गरेको २० खेलाडीमा सन्दीपलाई समावेश गरेको छ । 

सन्दीप लगभग साढे तीन महिनापछि टोलीमा फर्किएका हुन् । सन्दीप बिहीबार नै सोल्टिमोडस्थित खेलाडी बसेको होटेलमा पुगेका छन् । होटेलमा टोलीसँगै रिपोर्टिङ गर्नुअघि उनले त्रिवि खेलमैदानमा अभ्याससमेत गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीअन्तर्गत छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले पूर्वकप्तान सन्दीप प्रशिक्षणमा फर्किएको जानकारी दिएका छन् । ‘क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीप प्रशिक्षणमा फर्किएका छन्,’ छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले नयाँ पत्रिकासँग भने, ‘पहिलो दिन त्यति धेरै अभ्यास गरेनन्, सम्भवतः शुक्रबारदेखि नियमित अभ्यासमा उनी लाग्नेछन् ।’

डिभिजन–२ मा नेपाल छैटौँ स्थानमा छ । नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डको सामना गर्नेछ । नेपालले २ र ६ फागुनमा नामिबियासँग खेल्नेछ भने ५ र ९ फागुनमा स्कटल्यान्डविरुद्ध खेल्नेछ । 

फिट भए सन्दीप टोलीमा
पूर्वकप्तान सन्दीपले फिटनेस लेभल पास गरे राष्ट्रिय टोलीमा पर्न सक्ने छनोट कमिटीका संयोजक चौधरीले जानकारी दिएका छन् । ‘प्रशिक्षक, छनोट कमिटी, फिजियो, डाक्टर सबैले उहाँको स्वास्थ्य हेर्छाैं, फिटनेस अवस्था बुझ्छौँ, यदि सबै राम्रो भए सन्दीप टोलीमा पर्न सक्छन्,’ चौधरीले भने, ‘धरौटीमा रिहा भएका सन्दीप कुनै पनि वेला प्रहरी वा अदालतले बोलाएको अवस्थामा उपलब्ध हुनेछन् । 

३० अगस्ट २०२२ मा सन्दीपले अन्तिमपटक राष्ट्रिय क्रिकेट टोलीबाट केन्याविरुद्ध प्रतिस्पर्धा गरेका थिए । आइसिसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत नामिबिया र स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्ने घोषित दोस्रो चरणको खेलाडी सूचीमा पूर्वकप्तान सन्दीप पनि समावेश छन् । 
 

चौधरीले त्रिवि मैदानमा शुक्रबार सन्दीपको फिटनेस परीक्षा हुने बताए । यसैगरी, टोलीका डाक्टरले उनको मानसिकदेखि विभिन्न विवरण संकलन गर्नेछन् । क्यानले आधिकारिक रूपमा मुख्य प्रशिक्षक नियुक्त नगरे पनि मोन्टी देसाईले नेपाली खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । सन्दीप केही दिनयता प्रशिक्षक देसाईसँग नजिकिएका छन् । मोन्टीले सन्दीपसँग दैनिक सरसल्लाह गर्दै आइरहेका छन् । 

दोस्रो चरणमा १० खेलाडी बाहिरिए
क्यानको छनोट कमिटीका प्रमुख चौधरीले बिहीबार दोस्रो चरणको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गर्दा १० जना बाहिरिएका छन् । दोस्रो चरणमा क्यानले सन्दीपसँगै युवा खेलाडी प्रतिश जिसीलाई बोलाएको छ । विनोद भण्डारी, शरद भेषवाकर, सिद्धान्त लोहनी, अभिनाश बोहरा, विवेक यादव, अनिल शाह, विक्रम सोब, भुवन कार्की, अंकित सुवेदी र सागर ढकाल दोस्रो चरणको बन्द प्रशिक्षणमा अटाएनन् । यसअघि क्यानले सन्दीपलाई प्रारम्भिक २८ खेलाडीमा समावेश गरेको थिएन । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले निलम्बन फुकुवापछि सन्दीपलाई दोस्रो चरणमा राख्ने नयाँ पत्रिकालाई बताएका थिए । 

महिला खेलाडीमा मापदण्ड कमी
क्यानको बोर्ड बैठकले बुधबार पुरुष तथा महिला खेलाडी वर्गीकरण गरेको थियो । पुरुषको तुलनामा केन्द्रीय करार सम्झौतामा थोरै संख्यामा महिला खेलाडी परेका छन् । महिला खेलाडीको अन्तर्राष्ट्रिय मापदण्ड नपुगेका कारण थोरै संख्यामा सम्झौता गरिएको जनाइएको छ । क्यानले सार्वजनिक गरेको केन्द्रीय करार सम्झौतामा १२ महिला खेलाडी राखेको थियो । ‘खेलाडीको केन्द्रीय सम्झौता निश्चित मापदण्डअनुसार गरेका हौँ, यसमा धेरैजसो महिला खेलाडीको मापदण्ड पुगेन,’ क्यानका एक पदाधिकारीले भने, ‘मापदण्डअनुसार सम्झौता गर्दा १० संख्या पनि नपुग्ने अवस्था आएको थियो ।’ 

महिला क्रिकेटमा कम खेलाडी मात्र सम्झौतामा पर्दा नराम्रो सन्देश जाने भएकाले खेलाडी थप गरेको उनले बताए । ‘हामीले अन्तिममा १२ खेलाडीलाई राख्यौँ ।’ गत वर्ष क्यानले केन्द्रीय करारमा १८ खेलाडीसँग केन्द्रीय सम्झौता गरेको थियो । क्यानको महिला खेलाडी वर्गीकरणमा अन्तर्राष्ट्रिय टी–२० खेललाई आधार बनाएको छ ।