१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २० शुक्रबार ०६:२३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टिआइएमा १० यात्रु क्षमताको नयाँ एलिभेटर थपिने

लिफ्ट साँघुरो र ट्राभलेटर भिरालो रहेको यात्रुको गुनासोपछि आइएमएसले नयाँ एलिभेटर निर्माण गर्ने घोषणा गरेको हो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २० शुक्रबार ०६:२३:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को नयाँ आगमन कक्षमा १० जना यात्रु क्षमताको नयाँ एलिभेटर थपिने भएको छ । यात्रुबाट व्यापक गुनासो आउन थालेपछि आइएमएस एयरपोर्ट सर्भिसेजले यात्रुहरूको आगमन सरल, सहज र सुरक्षित बनाउन नयाँ एलिभेटर थप्ने भएको हो । 

नयाँ आगमन कक्षमा रहेका तीनवटा लिफ्ट अत्यन्तै साँघुरा रहेको र भिरालो खालको ट्राभलेटरमा ट्रली ल्याउँदा लड्नुपरेको यात्रुहरूको गुनासो छ । सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोमा पनि ट्राभलेटर प्रयोगकर्तालाई ट्रलीले तानेर लडेको प्रस्ट देखिन्छ । चौतर्फी गुनासो आउन थालेपछि त्रिभुवन विमानस्थल कार्यालयको आग्रहमा आइएमएसले आगमन कक्षलाई थप व्यवस्थित गर्न लागेको हो ।

नयाँ एलिभेटर थपेपछि आगमन कक्षमा हुने भिडभाड व्यवस्थापनमा सहज हुने र समस्या न्यूनीकरणमा सहयोग पुग्ने आइएमएसको दाबी छ । ट्राभलेटरमा यात्रुहरूले दुःख नपाऊन् भन्ने उद्देश्यले सहयोग गर्न, सहज बनाउन र गाइड गर्न २४सै घन्टा एक सुरक्षा गार्डको व्यवस्थापन गरेको बताइएको छ । ‘ट्राभलेटरमा के गर्ने र के नगर्ने भन्ने जानकारी दिन तथा यात्रुहरूलाई सूचित गर्न त्यहाँ साइनबोर्ड पनि राखिएको छ,’ आइएमएसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, आगमन कक्षमा ह्विल लकिङ सिस्टम भएका ट्रली र प्रस्थान कक्षका ह्विल लकिङ सिस्टम नभएका ट्रली मिसमास नहोस् भन्नका लागि उच्च सतर्कता अपनाउने पनि कम्पनीले जनाएको छ । र, त्यहाँ भएका ट्रली नियमित रूपमा मर्मत–सम्भार गर्ने पनि कम्पनीको प्रतिबद्धता छ । ‘दुईवटा सुटकेससम्म भएका यात्रुहरूले आगमन कक्षको ट्राभलेटर सुरक्षित रूपमा ट्रलीविना नै प्रयोग गर्न सक्नुहुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘ट्राभलेटरको अन्त्यमा यात्रुहरूले बाहिरसम्म सुटकेस निकाल्नका लागि ट्रली प्रयोग गर्न मिल्ने व्यवस्थापन गरिएको छ ।’ अर्को सूचना जारी नभएसम्मका लागि विमानस्थल कार्यालयले अहिले ट्राभलेटरमा ट्रलीको प्रयोग गर्न पूर्ण रूपमा बन्देज गरेको छ । आइएमएस ग्रुपले निर्माण, व्यवस्थापन, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा ३० वर्षसम्मका आगमन कक्ष निर्माण गरी सञ्चालनमा ल्याएको हो ।