मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ २० शुक्रबार ०५:५७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नागरिक उन्मुक्तिका फरार सांसद चौधरी पक्राउ, काठमाडौं लगियो 

Read Time : > 1 मिनेट
२०७९ माघ २० शुक्रबार ०५:५७:००

ट्रयाक्टरमा आगजनी गरेको मुद्दामा १० वर्षअघि नै कैलाली जिल्ला अदालतबाट ६ महिनाका लागि कैद सजाय सुनाइएका नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनलाई बाँके प्रहरीले बैजनाथ गाउँपालिका– १ चिसापानीबाट पक्राउ गरेको हो । 

साबिकको बलिया गाविस– ५ कैलालीका महादेव बजगाईंको लु.२त २११ नम्बरको ट्रयाक्टर ढुंगा बोकेर चिसापानीबाट लम्की जाने क्रममा ३ भदौ ०६६ को बेलुका स्थानीय धोबेनी खोलामा आगजनी भएको थियो । बजगाईंले बलिया– ३ का अरुणकुमार चौधरी र परशुराम चौधरी तथा साबिकको कोटालुल्सीपुर गाविस– १ का वीरबहादुर चौधरीविरुद्ध ‘चालकलाई कुटपिट गरी ट्रयाक्टरमा आगो लगाएको’ भन्दै ५ भदौ ०६७ मा किटानी जाहेरी दिएका थिए ।

तर, जिल्ला अदालतका अधिकृत नवराज पाण्डेयका अनुसार म्याद तामेलीसमेत नबुझेका उनीहरू बहसका क्रममा पनि अदालतमा हाजिर भएका थिएनन् । तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले ९ वैशाख ०७० मा तीनैजनालाई कैद सजायसँगै कुल आठ लाख १९ हजार ४२३ रुपैयाँ बिगो असुल्ने फैसला गरेको थियो । तर, फरार रहेका उनीहरूमध्ये वीरबहादुरलाई गत बुधबार प्रहरीले टिकापुरबाट पक्राउ गरेपछि सांसद चौधरी पनि फरार सूचीमा रहेको सार्वजनिक भएको थियो । गोप्य सूचनाका आधारमा बिहह्ीबार उनलाई पनि पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताए ।

सांसद चौधरीलाई पक्राउ गरेपछि बिहीबार नै हवाईमार्गबाट काठमाडौं लगिएको छ । स्थलमार्गबाट लैजाँदा उनका पार्टीका नेता, कार्यकर्ताले अवरोध गर्ने आशंकामा हवाईमार्गबाट लगिएको बाँके प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए । 

४ मंसिरमा सम्पन्न निर्वाचनमा उनी कैलाली २ मा २१ हजार ८७१ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका झपटबहादुर रावल र सत्ता गठबन्धनका उम्मेदवार माओवादीका भगत बडुवाललाई पराजित गरेका थिए । 

सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्तिको २४ घन्टे अल्टिमेटम
पक्राउ परेका सांसद चौधरीको रिहाईको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले २४ घन्टे अल्टिमेटम दिएको छ । १० वर्षसम्म कुनै कारबाही नभएको र अहिले पूर्वाग्रहर राखेर पक्राउ गरिएको भन्दै २४ घण्टाभित्र रिहा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । 

पार्टी प्रवक्ता दामोदर पण्डितले बिहीबार विज्ञप्ती जारी गर्दै ‘०६६ यता चारपटकसम्म चुनाव लडिसक्दा राज्यका निकायहरूले के हेरेका थिए ?’ भनेर प्रश्न गरे । उनले यसअघि स्थानीय तहको निर्वाचन र प्रदेश सभा निर्वाचनमा पनि उम्मेदवारी दिएका थिए । प्रवक्ता पण्डितले करिब डेढ दशकअघि थरुहट÷थारुवान आन्दोलनका क्रममा भएको घटनालाई लिए अहिले सांसद पक्राउ गर्नु आपत्तिजनक भएको बताएका छन् । सांसद चौधरीविरुद्ध मुद्दा चलाउनु थरुहट आन्दोलनका क्रममा भएका घटनाका मुद्दा फिर्ता लिने सम्झौताविपरीत भएको पनि उनको दाबी छ । 

‘सम्झौताविपरीत राज्यलेनै थरुहट आन्दोलनको घटनालाई लिएर मुद्दा चलाउनु आपत्तीजनक छ । उहाँ फरार हुनुहुन्थेन, अहिलेसम्म किन समातिएन र अहिले किन समातियो ?’ पण्डितले भने, ‘यसमा हाम्रो पार्टीको घोर आपत्ती छ ।’

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारले थारुलाई मात्र अपराधी देख्ने गरेको भन्दै विरोध जनाएकी छन् । ‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन चाहिदैन रहेछ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।