१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १९ बिहीबार १२:४५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिमसार क्षेत्रको संरक्षण तथा दिगो व्यवस्थापन गर्न प्रधानमन्त्रीको आह्वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १९ बिहीबार १२:४५:००

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमसार क्षेत्र सबैका साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। 

सिमसार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जलवायुजन्य जोखिम तथा अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र संकटमा पर्दै गएको उल्लेख गरेका छन्। 

सन्देशमा प्रधानमन्त्री प्रचण्डले सिमसार क्षेत्रको संरक्षण, संवर्द्धन तथा दिगो व्यवस्थापन गरी त्यहाँबाट उत्पादन हुने वस्तु र सेवाको दिगो सदुपयोगका लागि तीन तहका सरकार, स्थानीय समुदाय र निजी क्षेलाई आह्वान गरे। 

दिवस अवसरमा उनले सफा जल र स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक सिमसार क्षेत्रको संरक्षण, संवर्द्धन र सदुपयोग गर्नका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गरे। 

प्रधानमन्त्रीले यसका लागि आवश्यक नीतिगत तथा संस्थागत व्यवस्थाका लागि आपसी समन्वय, सहकार्य र सहअस्तित्वसहित सिमसार क्षेत्रको संरक्षण गर्नसमेत आग्रह गरे।  

आज फेब्रुअरी २ तारिखका दिन संसारभर ‘आजको आवश्यकता : सिमसारको पुनर्स्थापना’ भन्ने संकल्पका साथ विश्व सिमसार दिवस मनाइँदै छ। 

जानेर वा नजानेर सिमसार क्षेत्र अतिक्रमण हुने गरेका, सहरी क्षेत्रका सिमसार प्रदूषित हुने गरेका, पहाडी क्षेत्रमा जथाभावी रूपमा सडक खन्दा र सहरी क्षेत्रमा जथाभावी रूपमा हुने बसाइँसराइ र भौतिक विकास निर्माणले गर्दा सिमसार क्षेत्र नासिँदै गएका छन्। 

पछिल्ला दिनमा जलवायु परिवर्तनको जोखिमका कारण सबैभन्दा बढी नकारात्मक प्रभाव सिमसार क्षेत्रमा पर्ने गरेको छ भने तापक्रम अत्यधिक वृद्धि हुँदा सुक्खा समयमा सिमसारको पानी सुक्ने गरेको र अत्यधिक वर्षाले गर्दा बाढीपहिरो र डुबानको कारण सिमसार क्षेत्र पुरिने गरेका छन्।

‘सिमसार संरक्षण गर्ने नेपालको आफ्नै मौलिक परम्परालाई सन् १९८८ मा कोसीटप्पु वन्यजन्तु आरक्षलाई विश्व रामसार सूचीमा सूचीकृत गरेर अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै सिमसार क्षेत्रको जगेर्नामा क्रियाशील रहेको सर्वविदितै छ । नेपालमा भएका तालतलैया, ढाव, कुवा, कुलो, खोलानाला गरी करिब ५.५ प्रतिशत क्षेत्रफल सिमसार क्षेत्र रहेको छ । त्यसमध्ये अन्तर्राष्ट्रिय महत्व भएका १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गर्न सफल भएका छौँ,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ।

सिमसार क्षेत्र भएका पारिस्थितिकीय प्रणालीले कार्बन सञ्चिति गर्ने क्षमता बढी हुने र जलवायु अनुकूलन क्षमतासमेत बढी हुने हुँदा यिनको संरक्षण, संवर्द्धन र दिगो सदुपयोग अति आवश्यक रहेकामा उनले जोड दिए।