मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ १९ बिहीबार ०६:३९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘आन्तरिक विवादले क्यान फेरि निलम्बनमा पर्न सक्ने’

Read Time : > 2 मिनेट
२०७९ माघ १९ बिहीबार ०६:३९:००

विवादैविवादबीच पोखरामा मंगलबार र बुधबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकमा १३ वटा महत्वपूर्ण निर्णय भएका छन् । आन्तरिक विवादका कारण फेरि एकपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले क्यानलाई निलम्बन गर्न सक्ने खतरा देखिएको ११औँ बुँदाको निर्णयमा उल्लेख छ । ११औँ नम्बरको निर्णय क्यानकै असन्तुष्ट पक्षप्रति लक्षित छ । यस निर्णयमा पाँचजना केन्द्रीय निर्वाचित सदस्यले क्यान अध्यक्षसहित कार्यसम्पादन कमिटीमा रहेका सदस्यको राजीनामा मागबारे छलफल भएको उल्लेख छ । 

‘क्यानमा विद्यमान निर्वाचित १५ सदस्यमध्ये पाँचजना निर्वाचित सदस्यले नेपाल टी–२० लिगको विषयलाई लिएर अध्यक्षलगायत कार्यसम्पादन समितिका सदस्यहरूको राजीनामा माग गर्दै बैठक बहिष्कार गरेका थिए । यस विषयमा छलफल हुँदा उनीहरूको मागले क्यान फेरि एकपटक निलम्बनतिर जाने खतरामा रहेको महसुस भएको छ,’ क्यानको ११आँै नम्बरको निर्णयमा भनिएको छ, ‘तसर्थ, विगतमा भएका कमीकमजोरीलाई सच्याई एकढिक्का भएर अगाडि बढ्नुपर्छ, सहकार्यमा आउन बोर्डले हार्दिक आग्रह गरेको छ ।’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बुधबार बैठकमा भएका निर्णयहरू सुनाउँदै ११औँ निर्णयमाथि ध्यानाकर्षण गराएका थिए । 

कार्यवाहक सचिवको जिम्मेवारी पाठकलाई
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बुधबारै पदबाट राजीनामा दिएका छन् । तत्कालीन सचिव अशोककुमार प्याकुरेलले राजीनामा दिएपछि मल्लले सो जिम्मेवारी सम्हाल्दै आएका थिए । क्यानको बोर्ड बैठकले मल्लको राजीनामा अनुमोदनसमेत गरेको अध्यक्ष चन्दले जानकारी दिएका छन् । अब मल्लको स्थानमा कार्यसमिति सदस्य दुर्गाराज पाठकले जिम्मेवारी पाएका छन् । नेपाल टी–२० का सम्बन्धमा एभरेस्ट प्रिमियर लिगका सञ्चालक आमिर अख्तरलगायतले क्यान र अध्यक्ष चन्दविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । बोर्ड बैठकमा यस सम्बन्धमा बृहत् छलफल भएको थियो । बैठकले अख्तरलाई मुद्दा फिर्ता लिन आग्रह गरेको छ । यसैबीच, संघको विशेष साधारणसभा आगामी जेठ ०८० भित्र हुने भएको छ । यसका लागि जिल्ला प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने निर्णय बैठकले गरेको अध्यक्ष चन्दले जानकारी दिए ।

भारतीय कम्पनीसँग सम्झौताको निर्णय साधारणसभाबाट
क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँगको सम्झौता यथावत् राख्ने कि नराख्ने निर्णय बोर्ड बैठकले गर्न सकेन । बैठकले भारतीय कम्पनीसँगको सम्झौतासम्बन्धमा क्यानको साधारणसभामा निर्णयार्थ पेस गर्ने भएको छ । सोही साधारणसभाले सम्झौता अगाडि बढाउने वा नबढाउने निर्णय हुने अध्यक्ष चन्दले बताए । मंगलबार भारतीय कम्पनीले एकलौटी रूपमा नेपाल टी–२० लिगको सम्झौता तोडेको घोषणा गरेको थियो । 

साथै, सो कम्पनीले क्यानसँग लिग सञ्चालनका लागि लाइसेन्स प्राप्त गर्न खर्चेको एक करोड २० लाख रुपैयाँ फिर्ता मागेको छ । यसैगरी, क्यानले नेपाल टी–२० को गभर्निङ काउन्सिललाई विघटन गर्ने निर्णय गरेको छ । बैठकले पूर्वप्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीको संयोजकत्वमा संघका एन्टिकरप्सन अफिसर रितेश सिंह र थप एकजना सदस्य पछि मनोनयन गर्ने गरी तीन सदस्यीय क्यान इन्टिग्रेटी कमिटी गठन गर्ने निर्णय गरेको छ । 

नयाँ वर्गीकरणमा सन्दीप परेनन्
क्यानको बैठकले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन फुकुवा गरेको थियो । बुधबार खेलाडीहरूको वर्गीकरण सार्वजनिक गर्दा क्यानले सन्दीपलाई समावेश गरेको छैन । यसअघि सन्दीप ग्रेड ‘ए’मा थिए । सन्दीपलाई वर्गीकरणमा नराखिएको सम्बन्धमा क्यानले कुनै प्रतिक्रिया दिएको छैन । मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर पनि वर्गीकरणमा छैनन् । 

क्यानले बुधबार राष्ट्रिय क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको हो । क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन् २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाका लागि १८ जना पुरुष खेलाडी र १२ जना महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो । गत वर्ष महिलामा १८ खेलाडीलाई समावेश गरिएकोमा यसपटक १२ खेलाडी मात्र केन्द्रीय करारमा समावेश गरिएको छ ।

पुरुषतर्फ ‘ए’ ग्रेडमा रहेका क्रिकेटरले मासिक ६० हजार, ‘बी’मा रहेकाले मासिक ५० हजार र ‘सी’मा रहेका क्रिकेटरले मासिक ४० हजार रुपैयाँ पाउनेछन् । महिलातर्फ ‘ए’ ग्रेडमा रहेका क्रिकेटरले मासिक २१ हजार, ‘बी’का क्रिकेटरले मासिक १८ हजार र ‘सी’का क्रिकेटरले मासिक १५ हजार रुपैयाँ पाउँछन् ।

 यस्तो छ वर्गीकरण पुरुष 
ग्रेड ए : रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख 
ग्रेड बी : आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल
ग्रेड सी : कमलसिंह ऐरी, विनोद भण्डारी, गुलसनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल, विवेक यादव
महिला 
ग्रेड ए : रुविना क्षत्री, सीता रानामगर, इन्दु बर्मा
ग्रेड बी : काजोल श्रेष्ठ, कविता कुँवर, अस्मिना कर्माचार्य
ग्रेड सी : कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे, अप्सरी बेगम