Skip This
कामना सेवा विकास बैंकको सिइओसहित चार पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
तस्बिर : दमकमा रहेको कामना सेवा विकास बैंकको शाखा कार्यालय । तस्बिर : नयाँ पत्रिका
Invalid date format २३:३१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कामना सेवा विकास बैंकको सिइओसहित चार पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २३:३१:oo

कामना सेवा विकास बैंकका कर्मचारीको मिलेमतोमा भएको अनियमितता एकपछि अर्को गर्दै बाहिरिन थालेको छ । 

बैंकको दमक शाखामार्फत केन्द्रीय कार्यालयका कर्मचारीको मिलेमतोमा भएका घोटलाहरू धमाधम बाहिरिन थालेको हो । 

बैंकको एउटा मुद्दा टुंग्याउन नपाउँदै प्रहरीले अर्को अनुसन्धान थालेको छ । यसअघि करिब दुई महिनाअघि अनुसन्धान सकाएर यही बैंक ऋण प्रवाहमा भएको अनियमिततासम्बन्धी मुद्दा इलाका प्रहरी कार्यालय दमकले अदालतमा बुझाएको थियो । 

त्यसको दुई महिनापछि इलाका प्रहरी कार्यालय दमकले कामना सेवा बैंकको मिलेमतोमा ऋण प्रवाहमा भएको घोटलासम्बन्धी मुद्दामा बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नै पक्राउ गरेको छ । 

प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतसहित दमकका तत्कालीन शाखा प्रबन्धक वीरेन्द्रसिंह भण्डारी, ऋणीहरू हरेन्द्र दाहाल र चन्द्रबहादुर थापालाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । 

उनीहरूलाई बैंकिङ कसुर मुद्दा जिल्ला अदालत झापाबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । 

ऋण प्रवाहमा गडबडी गरेका कारण उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कम धितो मूल्यांकनमा बढी ऋण प्रवाह गरेका कारण अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए । 

‘राष्ट्र बैंकले प्रतिवेदन तयार गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीलाई मुद्दा चलाउन लेख्यो । सिआइबीले हामीलाई जिम्मेवारी दिएका कारण जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाएका हौँ,’ उनले भने ।

घटनामा बैंकका कर्मचारी र ऋणि गरी अझै दसजना फरार रहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

दमक, गौरादह र उर्लाबारीका विभिन्न धितोमा ऋण प्रवाह गर्ने क्रममा मिलेमतोमा झण्डै आठ करोड रुपैयाँ घोटला भएको हुनसक्ने प्रहरीले जनाएको छ । ‘गलत धितोमा ऋण प्रवाह गरेको, ऋण गलत ठाउँमा प्रयोग गरी ऋण नै डुबेको अनुसन्धानमा भेटिएको छ,’ डिएसपी गिरीले भने । 

यसअघि मिलेमतोमा १४ करोड ४० लाख ऋण प्रवाह
बैंकका कर्मचारीको मिलेमतोमा ऋण लगानी हुँदा यसअघि कामना सेवा विकास बैंकको १४ करोड ४० लाख बढी रकम हिनामिना गरेको मुद्दामा इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरेको थियो । 

कामना सेवा विकास बैंकले ०७६ असारपछि एक वर्षमा सविन एण्ड ब्रोदर्श रियल स्टेटलाई चार करोड, क्रियन्स इन्जिनियरिङलाई चार करोड, आस्थालक्ष्मी सव प्रालिलाई दुई करोड ४० लाख, थापा ब्रोदर्श एण्ड कम्पनी प्रालिलाई  दुई करोड ६० लाख र सुवास दाहाल नाम गरेका व्यक्तिलाई एक करोड ४० लाख ऋण प्रवाह गरेको थियो । 

धितो राखेर ऋण दिएको केही महिनापछि उनीहरूले बैंकमा किस्ता जम्मा गर्न छाडे । त्यसपछि फेरि धितो मूल्यांकन गर्दा धितोमा राखेको सबै जग्गाको मूल्यांकन ऋण लगानी भएको भन्दा धेरै कम भएको पाइएको यो विषयमा इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरेको थियो ।  

बैंकबाट ऋण लिने क्रममा यी चार फर्म र दाहलले सरकारी कागजात किर्तेसमेत गरेको पाइएको थियो ।  बैंकिङ कसुरमा धरौटीमा रिहा भए पनि सरकारी दस्ताखत किर्तेमा बैंकका तत्काली प्रदेश–१ प्रमुख सुजन छाराहाङ पुर्पक्षका लागि कारगारमा रहेको डिएसपी गिरीले बताए । 

यही कारण मूल्यांकनकर्ता कमल नेपालले आत्महत्या समेत गरेको प्रहरीले जनाएको छ । बैंकले आन्तरिक अनुसन्धान सुरु गरेपछि उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । ‘कमलको आत्महत्याको पछाडि यही घटना प्रमुख कारण देखिन्छ,’ डिएसपी गिरीले भने ।