
चितवनको गीतानगर बजारमा रहेको एक बुटिक पसलमा आगलागी भएको छ । भरतपुर- ६ गीतानगर बजारमा रहेको कमला शर्मा ढुंगानाको एन्जी बुटिक एन्ड कलेक्सनमा बुधबार बिहान आगलागी भएको हो । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको पीडितले बताएका छन् ।
आगलागी भएको पसल इलाका प्रहरी कार्यालय, गीतानगरको छेउमा पर्छ । नेपाल प्रहरी, स्थानीय र भरतपुर महानगरको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगलागीको यकिन कारण भने खुल्न नसके पनि बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । पसलका सबै सामान काम नलाग्ने गरी नष्ट भएको गीतानगर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम दवाडीले जानकारी दिए । बिहान ६ बजेतिर स्थानीयले आगो लागेको देखेपछि अन्य पसलमा आगो फैलन नपाएको हो ।