Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीले नियन्त्रणमा लिएको ट्यांकर र पक्राउ परेका चालक–सहचालक । तस्बिर : सौरभ यादव
गणेश लम्साल विराटनगर
अजित अधिकारी काठमाडाैं
२०७९ माघ १८ बुधबार ०७:३७:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

साढे २७ लाखको डिजेल चोरी, निगमले पत्तै पाएन

ट्यांकर हराएको चार दिनसम्म आयल निगमले थाहा नै पाएन, प्रहरीले पक्राउ गर्‍यो

Read Time : > 3 मिनेट
गणेश लम्साल, विराटनगर
अजित अधिकारी, काठमाडाैं
२०७९ माघ १८ बुधबार ०७:३७:००

दुई वर्षपछि इन्धन चोरीको घटना पुनः दोहोरिएको छ । नेपाल आयल निगम लिमिटेडको अमलेखगन्ज (बारा)स्थित मधेस प्रादेशिक कार्यालयबाट विराटनगरस्थित १ नम्बर प्रादेशिक कार्यालयका लागि चलान भएको एउटा ट्यांकरबाट २७ लाख ५२ हजार रुपैयाँ मूल्यबराबरको १६ हजार लिटर डिजेल चोरी भएको छ ।

अमलेखगन्ज डिपोमा २० हजार लिटर डिजेल लोड भएको को.१ख ३६५५ नम्बरको ट्यांकर ११ माघमा विराटनगरका लागि निस्केको थियो । एक दिनमै विराटनगर पुग्नुपर्ने ट्यांकर तेल खन्याउनका लागि पालो कुर्नुपर्ने भएपछि बीचबाटोमै रोकिएको थियो । तर, रोकिएको ट्यांकरका विषयमा विराटनगरस्थित निगमका कर्मचारीले कुनै सोधखोज गरेनन् । सो ट्यांकर बेवारिसे अवस्थामा १४ माघमा सप्तरीको रुपनीमा प्रहरीले फेला पारेको हो ।

बरामत ट्यांकरको १ नम्बर च्याम्बरमा चार हजार लिटर डिजेल रहेको र अन्य २, ३, ४ र ५ नम्बर च्याम्बरमा रहेको कुल १६ हजार लिटर डिजेल चोरी भएको प्रहरीले जनाएको छ । ट्यांकरको डिजेल चोरी भएको पत्ता लागेपछि प्रहरीले ट्यांकरका चालक सप्तरीको कञ्चनरूप नगरपालिकाका नवराज भुजेल र सहचालक विराटनगर–४ का अनिलकुमार चौधरीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका चालक र सहचालकले चोरी गरिएको डिजेल सप्तरीकै विक्की टे«डर्स र भण्डारा स्टोर्स पेट्रोलपम्पलाई बिक्री गरेको खुलेको छ । त्यसपछि प्रहरीले पम्प सञ्चालकहरू शेखर गुप्ता र श्यामकुमार साहलाई पनि पक्राउ गरेको छ । २७ लाख ५२ हजार रुपैयाँ बजार मूल्यको डिजेल बोकेको ट्यांकर चार दिनदेखि सम्पर्कमा नआउँदा पनि आयल निगमका कर्मचारीले चासो दिएका थिएनन् । स्थानीय बासिन्दाले बेवारिसे अवस्थाको ट्यांकर देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएपछि मात्रै निगम कर्मचारीले थाहा पाएका हुन् ।

आयल निगम कर्मचारीले गुपचुप राख्न खोजेको तेल चोरी घटना प्रहरी अनुसन्धानबाट बाहिर आएपछि निगमको केन्द्रीय कार्यालयले सोमबार विराटनगर कार्यालयलाई पत्र लेख्दै घटना विवरणबारे सोधेको थियो । निगम प्रवक्ता विनीतमणि उपाध्यायले विराटनगर कार्यालयबाट घटना विवरण मंगलबार साँझ प्राप्त भएको बताए । ‘दुई वर्षपछि फेरि ठूलो परिमाणमा इन्धन चोरीको घटना दोहोरिएको छ । निगमका तर्फबाट विनियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने । यसअघि ०७७ मंसिरमा अमलेखगन्जबाटै विराटनगर जाँदै गरेको ट्यांकरबाट २० हजार लिटर डिजेल चोरी भएको थियो ।

ट्यांकरमा आधुनिक लकिङ लागे पनि फलामको रड काटेर तेल चोरी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । यस्तो चोरीको तेल किन्न नपाइने व्यवस्थाविपरीत दुई पम्पले विनियमावलीविपरीत कारोबार गरेको प्रवक्ता उपाध्यायले बताए । आयल निगमको विराटनगर कार्यालय प्रमुख अशोक साहले भने केन्द्रीय कार्यालयबाट घटना विवरण माग भएकाले मंगलबार साँझ पठाएको बताए ।

प्रहरीले चोरी घटनामा छुट्टै अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइरहँदा आयल निगमले पनि ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, ०७३’ अन्तर्गत हदैसम्मको कारबाही गर्ने तयारी गरेको छ । कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आफू आएको एक वर्ष नपुग्दै तेल चोरीको ठूलो घटना भएकाले विनियमावलीले हदैसम्मको सजाय गर्ने संकेत दिएको एक कर्मचारीले बताए ।

यस्तो घटनामा ट्यांकरधनीलाई तीन महिनासम्म तेल ढुवानी गर्न नमिल्ने गरी निलम्बन गर्ने व्यवस्था छ । यो ट्यांकर पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघको पूर्वाञ्चल कमिटीका वरिष्ठ उपाध्यक्ष गुणराज निरौलाको हो । निरौलाको ट्यांकर भएकाले विराटनगर कार्यालयमा कार्यरत निगम कर्मचारीले यो घटनालाई गुपचुप राख्ने प्रयत्न गरेको स्रोतको भनाइ छ । प्रहरीको सहयोगमा घटना बाहिरिएपछि विनियमावलीअनुसार ठूलो कारबाही गर्नुपर्ने पक्षमा कार्यकारी निर्देशक थानीले जोड गरेको स्रोतको भनाइ छ ।

चालक–सहचालकलाई भने ६ महिनासम्म तेल बोक्ने ट्यांकर चलाउन बन्देज लगाउने निगमको तयारी छ । त्यस्तै, चोरी भएको तेलको बजार मूल्यको दुई गुणा जरिवानासमेत तिराउन सक्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार ढुवानीकर्ता निरौलालाई १६ हजार लिटर तेल चोरी भएको परिमाणअनुसार दुई गुणा हुन आउने ५५ लाख चार हजार रुपैयाँ जरिवाना तिराउनुपर्ने हुन्छ ।

विगतमा पनि तेल चोरीका घटनामा ढुवानीकर्तालाई दोब्बर जरिवाना हुने गरेको थियो । निगम कर्मचारीको सहमतिविना ठूलो परिमाणमा तेल चोरीको घटना सम्भव हुँदैन । तर, प्रत्येक छानबिनमा कर्मचारीलाई सतर्क वा सचेत गराउनेसम्मका अभ्याससमेत हुने गरेको छैन । जसकारण वेला–वेला तेल चोरीका घटना दोहोरिने गरेको निगमका एक कर्मचारीले बताए । 

तेल चोरी घटनामा विराटनगर डिपो सबैभन्दा बढी बदनाम
आइओसीको रिफाइनरी–टमिर्नलबाट पेट्रोल, डिजेल र मट्टीतेल तथा अमलेखगन्जबाट डिजेल ढुवानी गर्ने विराटनगर डिपोमा सबैभन्दा धेरै तेल चोरीका घटना हुने गरेका छन् । विगतमा पनि विराटनगर डिपोसँग जोडिएर पटक–पटक तेल चोरी हुने गरेकाले यसपटक १६ हजार लिटर डिजेल चोरी हुँदासमेत कर्मचारीलाई सामान्य घटना लागेर वास्ता नगरेको देखिन्छ ।

संक्रमणकालदेखि ०७२ मा भारतले नाकाबन्दी गरेको समयसम्म आउँदा विराटनगर डिपोको कर्मचारीकै मिलेमतोमा आइओसीको बरौनी रिफाइनरीमा लोड भएको तेल भारततर्फ बजारभाउभन्दा सस्तोमा बेच्ने र खाली ट्यांकर नेपाल ल्याउने गरेको आरोप लाग्दै आएको थियो । यसोभन्दा भन्सार कार्यालयमा भने ट्यांकरमा पूरा तेल रहेको भन्दै तोकिएको भन्सार दस्तुर भने बुझाउने गरिएको थियो । यस्तो आरोपलाई ४ मंसिर, ०७५ को एउटा घटनाले पुष्टि गरिदिएको थियो । त्यतिखेर बरौनीबाट डिजेल बोकेर आएको ट्यांकरबाट २५ सय लिटर भारतमै बिक्री गरेको पुष्टि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को छानबिन प्रतिवेदनले गरेको थियो । त्यतिवेला पनि कर्मचारीलाई कारबाही गर्नुको सट्टा डिजेल चोरी गरिएको को.१ख ५९६५ नम्बरका ट्यांकरधनी सुकदेव सिंह र चालक–सहचालकलाई कारबाही गरी घटना सामसुम पारिएको थियो ।

कर्मचारीको चरम लापरबाहीका कारण भदौ, ०७८ मा विराटनगर कार्यालयको प्रांगणमा पार्किङ गरिराखेको ना.४ख ४६९ नम्बरको ट्यांकर नै चोरी भएको थियो । २० हजार लिटर डिजेल रहेको ट्यांकर नै चोरी भएपछि प्रहरीको सक्रियतामा भगाउँदै लगेको ट्यांकर बुढीगंगा गाउँपालिका–३, बाँसबारीबाट समातिएको थियो । त्यस्तै, ०७७ मंसिरमा अमलेखगन्जबाटै विराटनगरका लागि २० हजार लिटर डिजेल लिएर गएको ना.४ख ४१६३ नम्बरको ट्यांकर सिरहाबाट हराएको थियो । यो ट्यांकर जनकपुर–ढल्केबर सडकखण्डमा रित्तो फेला परेको थियो ।