मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रधानमन्त्री प्रचण्डसँग भेट गर्दै अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड । तस्बिर : रासस
२०७९ माघ १७ मंगलबार ०७:४५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको उच्चस्तरीय भेटवार्ता : आर्थिक विकासमा सहकार्य र एमसिसी कार्यान्वयनमा जोड

Read Time : > 3 मिनेट
२०७९ माघ १७ मंगलबार ०७:४५:००

अमेरिकाले नेपालको लोकतन्त्र, आर्थिक समृद्धि र संक्रमणकालीन न्यायबारे चासो राखेको छ । दुईदिने नेपाल भ्रमणमा आएकी राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले उच्चस्तरीय भेटवार्ताका क्रममा अमेरिकाको चाहना र सन्देश प्रकट गरेकी हुन् । 

आइतबार नेपाल आएकी उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग सोमबार बेग्लाबेग्लै भेट गरेकी थिइन् । नुल्यान्डले सबै भेटवार्तामा नेपालको सफल निर्वाचन तथा नयाँ सरकार गठनपछि लोकतन्त्र सुदृढ भएको र नेपालसँग लोकतन्त्र सुदृढ गर्न एवं आर्थिक विकासमा सहकार्य गर्न अमेरिका तत्पर रहेको सन्देश दिएकी छिन् । उनले सबै भेटवार्तामा एमसिसी परियोजना कार्यान्वयनमा जोड दिएकी छिन् । दुईदिने नेपाल भ्रमण पूरा गरी उनी सोमबार फर्केकी छिन् ।

वर्तमान सरकारलाई लोकतान्त्रिक प्रक्रियाको उपजका रूपमा अमेरिकाले लिएको सन्देश दिँदै नुल्यान्डले सार्वभौमसत्तालाई ध्यानमा राखेर नेपालले छिमेकी भारत र चीनसँग सहकार्य गरोस् भन्ने पुरानै अमेरिकी दृष्टिकोण दोहो¥याएकी छिन् । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा उनले चुनाव र सरकार गठनका लागि बधाई दिइन् । ‘मैले प्रधानमन्त्री दाहाल र उनको गठबन्धनलाई सफल निर्वाचनका लागि बधाई दिएँ,’ प्रचण्डसँगको भेटपछि उनले ट्विटरमा उल्लेख गरेकी छिन्, ‘अमेरिका नेपालसँग ७५ वर्षको सम्बन्ध थप गहिरो बनाउन हाम्रा साझा मुद्दाहरू समावेशी विकास, लोकतन्त्र, मानव अधिकार नेपालको आर्थिक वृद्धिमा सहयोग गर्न एवं एमसिसी परियोजना कार्यान्वयनमा प्रतिबद्ध छौँ ।’

भिक्टोरिया नुल्यान्ड, अमेरिकी उपविदेशमन्त्री

हामी नयाँ सरकारसँग काम गर्न तयार छौँ । परियोजना कार्यान्वयन गर्न तयार छौँ । ग्लोबल इस्युमा साझेदारी गर्न चाहन्छौँ । युएन शान्ति स्थापक मिसनमा सहकार्य गर्न तयार छौँ । डेमोक्रेटिक रेजिलेन्स, संक्रमणकालीन न्याय प्रक्रियामा हामी सहयोग गर्छौँ ।

नुल्यान्डले प्रधानमन्त्री प्रचण्डसँग संक्रमणकालीन न्याय प्रक्रिया र अमेरिकी लगानीबारे चासो राखिन् । ‘आर्थिक विकासबारे छलफल भयो । एमसिसी परियोजना कार्यान्वयनको आगामी स्टेपका बारेमा कुरा भयो । संक्रमणकालीन न्याय प्रक्रिया सम्पन्न गर्ने विधेयकका विषयमा कुरा भयो,’ उनले पत्रकारहरूसँग भनिन्, ‘क्लाइमेट चेन्ज, नेपालमा अमेरिकी लगानी र व्यापारबारे कुराकानी भयो । अमेरिकी लगानी प्रक्रिया सहज बनाउने विषयमा छलफल भयो ।’ प्रचण्डको सचिवालयले द्विपक्षीय सहयोग र आपसी हितका विविध विषयमा छलफल भएको उल्लेख गरेको छ ।

कांग्रेस सभापति देउवासँग खुला, विविध र समावेशी सरकारहरूले लोकतन्त्रलाई बलियो बनाउने विषयमा छलफल भएको नुल्यान्डले बताएकी छिन् । ‘नेपालको लोकतन्त्र सुदृढ गर्ने, भ्रष्टाचारसँग लड्ने, मानव अधिकार र आर्थिक वृद्धि प्रवद्र्धन गर्ने विषयमा छलफल भयो,’ देउवासँगको भेटबारे उनले भनेकी छिन् । आफ्नै निवासमा नुल्यान्डसँग भेटपछि देउवाले ट्विटरमा भनेका छन्, ‘द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने तथा लोकतन्त्र, विकास तथा सुशासनका सन्दर्भमा सहकार्य सुदृढ गर्ने विषयमा हाम्रो छलफल भयो ।’

नुल्यान्डले एमाले अध्यक्ष ओलीसँग ऐतिहासिक सम्बन्ध तथा युएसएडमार्फत नेपालको आर्थिक विकासबारे छलफल भएको बताएकी छिन् । ‘अध्यक्ष ओलीसँग हाम्रो ऐतिहासिक सम्बन्ध, लोकतान्त्रिक लचिलोपनलाई सुदृढ गर्दै हाम्रो विदेशी सहायता एजेन्सीसँग साझेदारीमार्फत नेपालको अर्थतन्त्रलाई सुदृढ पार्ने प्रयासहरूबारे छलफल भयो,’ उनले भनिन् । 

परराष्ट्रमन्त्री पौड्यालसँग भेटबारे नुल्यान्डले भनेकी छिन्, ‘नेपालका नयाँ परराष्ट्रमन्त्री पौड्यालसँग अहिलेका समसामयिक वैश्विक मामिला तथा हाम्रो द्विपक्षीय सम्बन्धका बारेमा हार्दिक कुराकानी भयो । दुई देशबीच निकट सहकार्यका लागि प्रतीक्षारत छौँ ।’

लोकतन्त्र र आर्थिक विकास सुदृढ होस्
भेटवार्ता सकिएपछि पाटनस्थित बहादुर शाह भवनमा कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग करिब १५ मिनेटको अन्तरक्रियामा उपविदेशमन्त्री नुल्यान्डले लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने प्रक्रियामा नेपाललाई सहयोग गर्ने बताइन् । ‘नेपालजस्तो साझेदारसँग सहकार्य हाम्रा लागि महत्वपूर्ण छ । नेपालले दिनरात मिहिनेत गरेर लोकतन्त्रलाई सुदृढ गरिरहेको छ र हामी पनि हाम्रो सन्दर्भमा त्यही गरिरहेका छौँ,’ उनले भनिन्, ‘चुनावपछि लोकतन्त्रको फ्रेममा संक्रमणकालीन न्यायलगायतका यहाँ सामना भइरहेका विषयमा सरकारले काम गरिरहेको छ । यो क्षेत्रका लागि मात्र होइन, विश्वकै लागि यो महत्वपूर्ण छ । हाम्रो सम्बन्धको भविष्यबारे म निकै नै आशावादी र उत्साहित छु ।’

यो सरकारसँग अमेरिकाको अपेक्षा के हो भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘हामी नयाँ सरकारसँग काम गर्न तयार छौँ । परियोजना कार्यान्वयन गर्न तयार छौँ । ग्लोबल इस्युमा साझेदारी गर्न चाहन्छौँ । युएन शान्ति स्थापक मिसनमा सहकार्य गर्न तयार छौँ । डेमोक्रेटिक रेजिलेन्स, संक्रमणकालीन न्याय प्रक्रियामा हामी सहयोग गर्छौँ ।’ उनले सुदृढ लोकतान्त्रिक नेपाल निरन्तर होस् भन्ने अमेरिकी अपेक्षा सुनाइन् । ‘नेपाल यो दिशामा छ । ठूला छिमेकीहरूसँग नेपालको दिगो र बलियो सम्बन्ध रहोस् । तपाईंहरूले यो कायम राख्न चाहनुभएको छ जो जरुरी छ,’ उनले भनिन्, ‘हामी नेपालसँग बेग्लै सम्बन्ध सुदृढ गरिरहेका छौँ । हाम्रो साझेदारी आफ्नै कोर्समा नेपालले यो क्षेत्रमा लोकतान्त्रिक रूपमा प्रगति हासिल गरोस् भन्नेमा छ ।’

नुल्यान्डले नेपालको लोकतन्त्र सुदृढ गर्न र नेपाललाई सुदृढ आर्थिक शक्तिका रूपमा नेपालको यात्रा अघि बढाउन सहकार्य गरिरहेको र यो निरन्तर रहने धारणा राखिन् । ‘नयाँ प्रविधि, जलविद्युत् परियोजना अघि बढाउन, नेपाल यो क्षेत्रको प्राविधिक सुपरपावर बन्ने दिशामा हामी सहकार्य गर्न चाहन्छौँ,’ उनले भनिन्, ‘यसले नेपालमा रोजगारको अवसर सिर्जना हुन्छ । शिक्षा, स्वास्थ्य क्षेत्रमा अवसर बढ्छ । हामी नेपालमा जे गर्छौँ, पारदर्शी र खुला रूपमा काम गर्छौँ । एमसिसी हेर्नुस् यो पारदर्शी , वेबसाइटमा छर्लंग छ ।’

पारदर्शिता र सार्वभौमसत्ता ख्याल गर्न चीनलाई आग्रह
विगतमा अमेरिकी अधिकारीहरूले छिमेकी चीनसँग सहकार्यबारे संशय र असन्तुष्टि पोख्ने गरेकोमा यसपटक उपविदेशमन्त्री नुल्यान्डले पारदर्शिता र सार्वभौमसत्तालाई ध्यानमा राखेर भारत र चीनसँग सुदृढ सहकार्य गर्न सुझाव दिएकी छिन् । ‘हामी हेर्दै छौँ दुनियाँमा के भइरहेको छ । दुनियाँमा ग्लोबल रुल फोर्सबाट परिवर्तन गर्न खोजिँदै छ । फोर्सबाट नियम परिवर्तन गर्ने नेपाली वा अमेरिकी तरिका होइन । हामी लोकतान्त्रिक हौँ,’ उनले चीनतर्फ संकेत गर्दै भनिन्, ‘हामी फोर्सबाट होइन, स्वतन्त्रता र छनोटमा विश्वास गर्छौँ । हामी लोकतन्त्रमा सरकारले जनतालाई सेवा गर्नेमा विश्वास गर्छौँ ।’

नेपालले सबै छिमेकीसँग आर्थिक सम्बन्ध राख्नुपर्ने उनको भनाइ थियो । ‘तपाईंहरूले सार्वभौमसत्ता हेर्नुपर्छ । सहकार्य गर्दा पारदर्शी र खुला छ कि छैन भनेर हेर्नुपर्छ । नेपालले आर्थिक समृद्धिका लागि सबै छिमेकीसँग सहकार्य गर्ने कुरालाई हामी स्वागत र्छौँ,’ उनले भनिन्, ‘हाम्रो भारतसँग धेरै नै बलियो सम्बन्ध छ । चीनसँग पनि हाम्रो सहकार्य छ । आगामी साता चीनसँग हाम्रो सघन संलग्नता हुँदै छ । नोभेम्बरमा राष्ट्रपति बाइडेन र सीबीच संवादपछि हामी संवाद गरिरहेका छौँ । नेपालले सबैसँग सहकार्य गर्दा हरेक चीज पारदर्शी होस् र भ्रटाचार नहोस् भन्नेमा सुनिश्चित गरोस् भन्ने हाम्रो चाहना हो ।’ उनले नेपालसँग हरसम्भव सहकार्य गर्न तयार रहेको बताइन् ।