१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
मनीष खड्का रुकुम पश्चिम
Invalid date format १९:५९:oo
Read Time : > 2 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आलोपालो ‘पापिनी विवाह’ ! [तस्बिरहरू] 

Read Time : > 2 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
Invalid date format १९:५९:oo

आइतबार राति रुकुमपश्चिमको मुसिकोट ७ को साँख गाउँमा विवाहको रौनक थियो। 

तलिगाउँबाट बाजागाजासहित जन्ती बेहुली लिन माथिगाउँ जाँदै थिए। मान्छेको थेगिनसक्नुको भिड थियो। एकैछिनमा पञ्चेबाजा गुन्जियो। बेहुलालाई काँधमा बोकियो र बेलुही लिन जन्तीटोली माथिगाउँतिर लाग्यो। 

बेहुलाका रूपमा एक किशोरी नै सजिएकी थिइन्। उक्त विवाह साँच्चिकैको विवाह भने थिएन। केटी केटीकै बीचमा विवाह हुन लागेको थियो। 

साँख गाउँमा हरेक वर्षको माघ १४ गतेबाट सुरु हुने पापिनी मेलामा केटी केटीकै बीचमा विवाह हुन्छ। यो विवाहलाई ‘पापिनी विवाह’ भनिन्छ। साँख गाउँको बीचमा दह छ। उक्त दहको तलपट्टिको गाउँलाई तलिगाउँ र माथिपट्टिको गाउँलाई माथिगाउँ भनिन्छ। 

यहाँ परापूर्व कालदेखि नै तलिगाउँ र माथिगाउँका केटी केटीकै बीचमा विवाह गरिदिने प्रचलन छ। एक वर्ष तलिगाउँबाट बेहुला बनेर बेहुली लिन माथिगाउँ जान्छन् भने अर्को वर्ष माथिगाउँबाट बेहुली लिन तलिगाउँ आउँछन्। 

यो वर्ष बेहुला बन्ने पालो तलिगाउँको थियो भने बेहुली बन्ने पालो माथिगाउँको। जसअनुसार आइतबार राति तलिगाउँबाट धुमधामका साथ बेहुली लिन माथिगाउँ गएका हुन्। १४ गते साँझ बेहुली माग्ने प्रचलन छ।

माथिगाउँमा माइती पक्ष जन्तीको स्वागतमा तम्तयार भएर बसेका थिए। सामाजिक परम्पराअनुसार जसरी विवाह हुन्छ, त्यसरी नै विवाह गरिन्छ। माइती पक्षले रीतअनुसार इष्ट पक्षले स्वागत गर्छन्। 

जन्तीको स्वागतमा तरबाल नाच नाचिन्छ भने स्थानीय परम्पराअनुसार राँको बालेर जन्तीको स्वागत गरिन्छ। बेहुला पक्ष माइतीमा पुगेपछि सामाजिक परम्पराअनुसार टीकाटालो गरिन्छ। 

बेहुला बेहुलीलाई भात खुवाइन्छ भने बेहुला पक्ष र बेहुली पक्षले परम्पराअनुसार टीकाटालो गरेर साइनो लगाउँछन्। माइतीमा विवाह सकिएपछि पापिनी नाच देखाइन्छ। स्थानीय भेषभूषामा सजिएका पापिनीहरूले नाच देखाउँछन्। 

यसैलाई पापिनी नाच भनिन्छ। तालमा ताल मिएर नाचिने यो नाचले सबैलाई आकर्षित गर्छ। यसरी पापिनी बनेर नाच्ने सबै किशोरी हुन्छन्। पापिनीका लागि जनजाति हुनुपर्ने, विवाह नगरेको हुनुपर्ने र नाच्न जान्ने हुनुपर्छ। 

केही समय नाचेपछि माइती पक्षले छोरीलाई अन्माएर पठाउँछन्। बेहुला पक्ष बेहुली लिएर फर्किएपछि आफ्नो गाउँमा पुगेर रीतअनुसार टीकाटालो गर्छन्। फेरि त्यहाँ पनि खुसियालीमा पापिनी नाच नाचिन्छ। यसरी बेहुली लिएर आएपछि विवाह सम्पन्न हुन्छ। 

साँखमा मानवबस्ती सुरु भएदेखि नै साँख दहमा यस्तो विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ। हरेक वर्ष ‘नाटकीय’ विवाह र नाचगान नगर्दा गाउँमा मान्छे मर्छन् भन्ने जनविश्वास लामो समयदेखि रही आएको स्थानीय अगुवाहरू बताउँछन्। 

हरेक वर्ष साँखका दुई गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन्। परम्परा चलाउने कन्यालाई भने, ‘पापिनी’को नाम दिइएको छ। ‘पापिनी’ हुन जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने हुनुपर्छ।’ 

यही योग्यताका आधारमा पापिनी छानिन्छन् भने अगुवा पनि त्यसरी नै छनोट गरिन्छ। ‘गाउँको चालचलन धान्ने कन्या पापिनी हुनुपरेको छ, यो उहिलेकै चलन हो,’ स्थानीय अगुवा पूर्णबहादुर बुढाले भने।’

‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ। माथिगाउँका पूर्णबहादुर बुढाले वर्षौँदेखि यसको अगुवाई गर्दै आएका छन्।  

हरेक राति तलिगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा बस्ने गर्छन्। आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम थला बसेका वेला गरिने बुढाले बताए। 

हरेक वर्ष माघ १४ गते बेहुला पक्षका पापिनी बेहुली माग्न अर्को गाउँ अर्थात् दहको अर्को डिल जान्छन्। १४ गते माग्ने काम सकिएपछि उनीहरू १५ गते बिहेमा सहभागी हुने बुढाको भनाइ छ।