Skip This
जुम्ला विमानस्थल स्तरवृद्धि भएन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १६ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १६ सोमबार ११:११:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जुम्ला विमानस्थल स्तरवृद्धि भएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १६ सोमबार ११:११:oo

२४ वर्षपहिले ३ माघ ०५५ मा जुम्ला विमानस्थलमा (नेकोन एयरको) सिंगल इन्जिन सेस्ना विमान रनवेमै दुर्घटना हुँदा क्याप्टेनसहित पाँचजनाको मृत्यु भयो । त्यस्तै, ७ असार ०६३ मा यती एयरलाइन्सको ट्विनअटर विमान दुर्घटना हुँदा चालकदलका तीनजनासहित आठजनाको मृत्यु भयो । सुर्खेतबाट जुम्ला उडेको उक्त विमान जुम्ला विमानस्थलमा दुर्घटना भएको थियो ।

 विमान दुर्घटनापछि जुम्ला विमानस्थल स्तरवृद्धिको बहस भएको दुई दशकभन्दा बढी भइसक्यो । तर, जोखिमयुक्त विमानस्थलको न त स्तरवृद्धि भयो, न त नियमित उडान भयो । विमानस्थल स्तरवृद्धि गर्ने बहस चलिरहेकै वेला २६ जेठ ०७५ मा नेपालगन्जबाट जुम्ला उडेको तारा एयरको नाइएन एइभी विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भयो । उक्त विमानमा सवार १८ यात्रु सकुशल रहे पनि विमान भने क्षति भयो ।

जहाजको प्राविधिक समस्यासँगै धावनमार्ग स्तरीय नहुनु विमान दुर्घटनाको कारण रहेको जुम्लाका वरिष्ठ पत्रकार नवराज शाही बताउँछन् । नेकोन विमान दुर्घटना भएको गत मंगलबार २४ वर्ष भयो । शाहीले भने, ‘मैले ०५५ सालमा विमान दुर्घटनाको रिपोर्टिङ गरेको थिएँ । त्यसपछि विमानस्थल स्तरवृद्धि गर्ने, नियमित उडान गर्ने भनिए पनि विमान दुर्घटनाको साढे दुई दशक बित्दासमेत समस्या ज्युँका त्युँ छन् ।’

०५५ सालमा जुम्लामा भएको नेकोन एयरको दुर्घटनामा परी स्वर्गीय क्याप्टेन सुरेन्द्रबहादुर चन्दकी श्रीमती पाइलट सन्जु खतिवडाको ०७९ माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भयो । 

नयाँ टर्मिनल भवन बन्ने
जुम्ला विमानस्थलमा नयाँ सुविधायुक्त टर्मिनल भवन बन्ने भएको छ । चालू आवमा नेपालका सात विमानस्थलको टर्मिनल भवन विस्तार तथा स्तरोन्नति गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजनाअनुसार जुम्लामा सुविधायुक्त टर्मिनल भवन निर्माण हुने विमानस्थल प्रमुख सन्तोष अधिकारीले बताए । ‘जग्गा अभावका कारण विमानस्थल स्तरवृद्धि सम्भव छैन । विमानस्थल स्तरवृद्धि आवश्यक छ, तर लगानी छैन,’ उनले भने । तत्काल ०५३ सालमा निर्माण भएको जीर्ण टर्मिनल भवन भने निर्माण हुने उनले बताए । यसका लागि एक करोड बजेट विनियोजन भएको र प्राधिकरणले सर्भेसमेत गरिसकेको उनले बताए ।

दैनिक सयौँ यात्रुको चाप हुने जुम्ला विमानस्थलमा टर्मिनल भवन बन्नु सुखद पक्ष भए पनि हालसम्म विमानस्थल स्तरवृद्धि र नियमित उडान नहुनु दुखद पक्ष भएको पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए ।जुम्लामा दिनमा मुस्किलले दुई, नत्र एक उडान मात्र हुने गरेको छ । तारा, समिट, नेपाल एयरलाइन्स, सीतालगायतका विमानले उडान गरे पनि नियमित उडान नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरिरहेको छ ।

वर्षौँदेखि विमानस्थल स्तरवृद्धिको कुरा चले पनि सार्थकता पाउन नसक्नुमा मुख्य समस्या आर्थिक भएको बताइन्छ । विमानस्थल स्तरवृद्धिका लागि मोटो रकम चाहिने भएकाले बजेट जुटाउन समय लाग्ने गरेको धेरैको बुझाइ छ । विमानस्थल प्रमुख अधिकारी तत्कालका लागि सर्वसाधारणलाई राहत दिन नियमित उडानमा जोड दिन जरुरी रहेको र विमानस्थल स्तरवृद्धि पनि प्राथमिकतामाराख्नुपर्ने बताउँछन् ।