मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ माघ १६ सोमबार ०८:२८:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ १६ सोमबार ०८:२८:००

एक गुरुको आश्रममा धेरै शिष्य एकसाथ बसेर ज्ञान हासिल गर्थे । एक दिन गुरुले आफ्ना शिष्यहरूसित एक प्रश्न गरे– जब दुई मानिस आपसमा रिसाएर झगडा गर्छन्, त्यतिखेर उनीहरू ठुल्ठूलो स्वरमा चिच्याउँछन् ? आखिर उनीहरू त्यसरी किन चिच्याउँछन् ? 

गुरुको प्रश्न सुन्नासाथ उठेर एक शिष्यले जवाफ दिए– झगडा गर्दा दुवैले आफ्नो मनको शान्ति गुमाइसकेका हुन्छन्, त्यसैले उनीहरू त्यसरी ठुल्ठूलो स्वरमा चिच्याउँछन्, गुरुदेव ! गुरुले अन्य शिष्यसित पनि यस प्रश्नको जवाफ मागे । थप केही अन्य शिष्यले पनि आ–आफ्नो क्षमताअनुसार जवाफ दिए । तर, गुरु उनीहरू कसैको जवाफबाट पनि सन्तुष्ट हुन सकेनन् । 

अन्त्यमा उनी स्वयंले उत्तर दिए– जब दुईजना मानिस एक–अर्कासित रिसाउँछन् र झगडा गर्न थाल्छन्, त्यतिखेर उनीहरूको मनको दूरी निकै बढ्छ । जब दुईजनाको मनको दूरी निकै बढ्छ, त्यतिखेर आफ्नो भनाइ अर्कासम्म पुर्‍याउन या अर्कालाई सुनाउन उनीहरू ठुल्ठूलो स्वरमा चिच्याउँछन् । जतिजति उनीहरूको मनको दूरी बढ्दै जान्छ, आफ्नो भनाइ एक–अर्कालाई सुनाउन त्यति नै ठूलो स्वरमा चिच्याउनुपर्ने हुन्छ । 

सन्तले थप भने– यसको ठीक विपरीत जब दुईजनाबीच प्रेम हुन्छ, त्यतिखेर उनीहरूको मन निकै नजिक हुन्छ । उनीहरूले ठूलो आवाजमा बोलिरहनु आवश्यक हुँदैन । कैयौँ कुरा त प्रेम गर्ने दुई आत्माबीच बोल्दैनबोली सञ्चार हुन सक्छ । त्यसैले, जसरी हुन्छ कसैसित पनि मनको दूरी बढ्न नदिनू । आपसमा प्रेम बढाउनू र मन्द आवाजमा कुराकानी गर्नू ।