
नेपाल बिमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय सञ्चालनमा आएको छ । यसअघि सुदूरपश्चिम, कर्णाली, बागमती, मधेस प्रदेशमा शाखा कार्यालय खोलेको प्राधिकरणले लुम्बिनी प्रदेशमा गत साता नै शाखा कार्यालय स्थापना गरेको हो ।
यद्यपि, लुम्बिनी शाखा कार्यालयको औपचारिक उद्घाटन भने भइसकेको छैन । अब छिट्टै औपचारिक रूपमा शाखा कार्यालयको उद्घाटन गरिने लुम्बिनी कार्यालयका प्रमुख पूर्णबहादुर थापाले बताए ।
शाखा कार्यालयले आइतबार नै निर्जीवन बिमा कम्पनीहरूका लुम्बिनी प्रदेश प्रमुखसँग छलफलसमेत गरिसकेको छ । सो छलफलले लुम्बिनी प्रदेशको निर्जीवन बिमा व्यवसायसम्बन्धी छुट्टै तथ्यांक संकलन गर्ने निर्णय गरेको छ ।
साथै, निर्जीवन बिमा व्यवसायको विस्तार तथा प्रवर्द्धनका लागि राय–सुझाव लिने निर्णय पनि उक्त बैठकले गरेको छ ।
अब छिट्टै जीवन बिमा व्यवसायका प्रतिनिधिहरूसँग पनि बैठक गरिने प्राधिकरणका प्रदेश प्रमुख थापाले बताए । प्राधिकरणले गण्डकी र प्रदेश १ मा पनि शाखा कार्यालय सञ्चालन ल्याउने तयारी गरिरहेको छ ।