मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ माघ १५ आइतबार ११:२७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चितवन मेडिकल कलेजमा  सय बेडको क्यान्सर अस्पताल

Read Time : > 1 मिनेट
२०७९ माघ १५ आइतबार ११:२७:००

चितवन मेडिकल कलेजभित्र सय बेड क्षमताको क्यान्सर अस्पताल तयार भएको छ । ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’ नाम दिइएको अस्पतालमा रक्तक्यान्सरबाहेक सम्पूर्ण क्यान्सरको परीक्षण र उपचार हुने इन्स्टिच्युटका रेडिएसन अंकोलोजिस्ट डा. सुवास ठाकुरले जानकारी दिए । इन्स्टिच्युटमा क्यान्सरका बहिरंग सेवा, अन्तरंग सेवा, रेडियो थेरापी, किमो थेरापी, ब्रेकी थेरापीलगायतका सेवा रहेका छन् ।

दैनिक सयजनासम्मलाई रेडिएसन (सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको डा. ठाकुरले बताए । टाउकोभित्रको ट्युमरलाई विनाशल्यक्रिया उपचार गर्ने प्रविधि एसआरएस (स्टेरियो टेक्टिक रेडियो सर्जरी) पनि अस्पतालमा उपलब्ध छ । यस्तै एसबिआरटी (स्टेरियो टेक्टिक बडी रेडिएसन थेरापी) सेवा पनि यही उपकरणबाट दिन मिल्ने उनको भनाइ छ । डा. ठाकुरका अनुसार फोक्सो, प्रोस्टेट, आन्द्राको क्यान्सरमा यो विधि उपयोगी मानिन्छ । यसैगरी, शल्यक्रिया गर्न नमिल्ने चौथो स्टेजमा पुगेको क्यान्सर र हड्डीको क्यान्सरको उपचारमा यही प्रविधिमा सहज र प्रभावकारी हुने डा. ठाकुरले बताए ।

ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्स्टिच्युटमा ल्याइएको छ । पाठेघरको मुख र जिब्रोको क्यान्सरमा यो प्रविधिको उपचार बढी प्रयोग हुने गर्छ ।

क्यान्सर पत्ता लागेको तीन–चार दिनभित्र नै रेडियो थेरापीलगायतका उपचार तत्काल सुरु गरिने भएकाले क्यान्सरको उपचार र परीक्षणमा महिनौँ लामो पालो कुर्नुनपर्ने डा. ठाकुरले बताए । क्यान्सर इन्स्टिच्युटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक रहेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताए ।

सरकारले तोकिएको शुल्कमा उपचार
सिएमसी क्यान्सर इन्स्टिच्युटमा सरकारले तोकेको शुल्कमा उपचार हुने प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । ‘सरकारले तोकेको विपन्न उपचार शुल्कमा नै हामीले बिरामीलाई सेवा दिन्छौँ,’ देवकोटाले भने, ‘निजी भएर महँगो होला भन्ने होइन ।’ अस्पतालले सरकारले क्यान्सरको उपचारका लागि दिने एक लाख र बागमती प्रदेश सरकारले उपलब्ध गराउने ५० हजारबराबरको उपचार सुविधा पनि दिने देवकोटाले बताए ।