Skip This
गण्डकी र एपिएफलाई टाइगर कप 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o६:४२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गण्डकी र एपिएफलाई टाइगर कप 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:४२:oo

तेस्रो टाइगर कप आमन्त्रित खुला क्लब भलिबल च्याम्पियनसिपको महिलामा एपिएफ र पुरुषमा गण्डकी विजेता 

घरेलु टोली गण्डकी र नेपाल एपिएफले शनिबार तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिपको उपाधि हात पारेका छन् । पोखरामा शनिबार भएको पुरुषतर्फको रोमाञ्चक फाइनलमा गण्डकीले एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५–१६ ले एपिएफलाई सुम्पिएको थियो । त्यसपछि गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले जित्दै खेलमा २–१ को अग्रता लियो । 

तर, चौथो सेटमा गण्डकीले अग्रता रक्षा गर्न सकेन । एपिएफलाई तेस्रो सेट जित्नुपर्ने दबाब थियो । यस सेटमा पराजित हुँदा एपिएफले उपाधि गुमाउन सक्थ्यो । एपिएफले उत्कृष्ट प्रदर्शन गर्दै २८–२६ ले जित्यो । फाइनल खेल २–२ को सेट बराबरी भयो । पाँचौँ तथा अन्तिम सेटमा जसले बाजी मारे पनि उपाधि उचाल्ने अवस्था थियो । निर्णायक सेटमा गण्डकीले एपिएफलाई फर्कने कुनै मौका नै दिएन । सुरुवातबाटै अग्रता लिएको गण्डकीले पाँचौँ सेट १५–८ ले जित्दै उपाधि हात पार्‍यो । योसँगै गण्डकीले दोस्रोपटक उपाधि उचालेको हो । दुई वर्षअघिको संस्करण पनि गण्डकीले जितेको थियो । 

फाइनलमा एपिएफले आर्मीलाई हरायो
महिलातर्फको फाइनलमा साबिक विजेता एपिएफले त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि हात पारेको छ । एपिएफ दोस्रोपटक लगातार महिलातर्फको टाइगर कप भलिबल च्याम्पियसिपको विजेता बनेको हो । एपिएफले आर्मीलाई २५–२२, २०–२५, २५–८ र २५–२२ ले हराएको हो । उपाधिसँगै गण्डकी र एपिएफले समान पाँच लाख रुपैयाँ पाएका छन् । पुरुषतर्फको उपविजेता एपिएफ र महिलातर्फ तेस्रो भएको आर्मीले समान दुई लाख ५० हजार रुपैयाँ हात पारेको छ । यसैगरी, पुरुषतर्फ तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले साबिक विजेता आर्मीलाई ३–१ को सेटमा पराजित गर्‍यो । पहिलो सेट २५–२२ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेट २५–१८, २५–२१ र २५–२० ले जित्यो । 

तेस्रो भएको पुलिसले एक लाख २५ हजार रुपैयाँ हात पार्‍यो । आर्मी चौथो हुँदै ५ हजार प्राप्त गरेको छ । महिलातर्फ न्यु डायमन्ड स्पोर्टस् क्लब तेस्रो भयो । न्यु डायमन्डले तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीलाई हराएको हो । न्यु डायमन्डले एक लाख २५ हजार र चौथो स्थान प्राप्त गरेको गण्डकीले ६५ हजार रुपैयाँ जितेका छन् ।

रंगशालालाई प्रशिक्षण भेन्यु बनाइने
प्रतियोगिताका विजेता खेलाडीहरूलाई पुरस्कृत गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पोखराको रंगशालालाई प्रशिक्षणस्थलका रूपमा विकास गर्नुपर्ने बताएका छन् । ‘पोखरालाई अन्तर्राष्ट्रिय खेल भेन्युका रूपमा स्थापित गर्ने कि ट्रेनिङ भेन्यु ? यसमा पोखरेलीहरूको सुझावलाई राखेपले मनन गर्नेछ र त्यसरी नै अघि बढ्नेछ,’ उनले भने । सदस्यसचिव घिसिङले पूर्वमहिला राष्ट्रिय भलिबल खेलाडी लक्ष्मी गुरुङ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलाई भलिबल खेलको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेका थिए । 

रवि र सरस्वती उत्कृष्ट खेलाडी
प्रतियोगितामा गण्डकी प्रदेशका रवि केसी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भए । महिलातर्फ एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट भइन् । उनीहरूले समान २५ हजार रुपैयाँ पाए । प्रतियोगितामा पुरुषतर्फ बेस्ट स्पाइकरमा एपिएफका टेकराज अवस्थी, बेस्ट ब्लकरमा गण्डकीको टिममा समावेश भारतीय खेलाडी नितिन, बेस्ट सेटरमा गण्डकीका विवश आले, बेस्ट स्पाइकरमा एपिएफका विनोद चन्द र बेस्ट सर्भरमा गण्डकीका घनश्याम चौधरी घोषित भए । 

त्यस्तै, महिलातर्फ बेस्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, बेस्ट ब्लकरमा आर्मीकी संगम महतो, बेस्ट सेटरमा न्यु डायमन्डकी प्रगति नाथ, बेस्ट लिबिरोमा आर्मीकी सरस्वती जैशी घोषित हुँदा बेस्ट सर्भरको उपाधि गण्डकीकी अरुणा शाहीले प्राप्त गरेका छन् पुरुष र महिलातर्फ उत्कृष्ट घोषित हुने खेलाडीले समान १० हजारबराबरको गिफ्ट ह्याम्पर पाएका छन् ।