Skip This
सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन : साहित्य, राजनीति र कुप्रथामाथि बहस हुने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:o७:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन : साहित्य, राजनीति र कुप्रथामाथि बहस हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o७:oo

सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलनमा थारू साहित्यसँगै, राजनीतिक, सामाजिक र सांस्कृतिक विषय उठान गरिने भएको छ। 

थारू लेखक संघले राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा गर्न लागेको सम्मेलनमा थारू साहित्यको समकालीन अवस्था, थारू र गैरथारू साहित्यकारबीच समन्वय, विकासमा बरघरको भूमिका, पश्चिम नेपालमा राजनीतिक फिलिंगो, थारू हस्तकला, आख्यानमा थारू जीवन, थारू साहित्यमा युवालगायत विषयमा चर्चा हुने थारू लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले बताए। 

२०–२२ माघमा गर्न लागिएको सम्मेलनमा साहित्यकार डा. गोविन्द आचार्यद्वारा लिखित दंगी र उर्वशी नामक पुस्तकको चर्चासमेत गरिने उनले बताए। 

उक्त सम्मेलनमा थारू समुदायमा विद्यमान सिकलसेल एनिमियाका बारेमा भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे र सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका अध्यक्ष जीवराज चौधरीले सहजीकरण गर्ने कार्यतालिका छ। 

पश्चिम नेपालमा प्रचलित मटावा, बरघर, भल्मन्सा प्रथाले विकासमा पुर्याएको योगदानको समेत चर्चा हुने भएको छ। बरघर प्रथालाई संस्थागत गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएका एकराज चौधरीले बरघर प्रथाको वर्तमान र विगतका बारेमा औँल्याउने भएका छन्। 

‘साहित्य सम्मलेन भनिए पनि हामीले थारू भाषा, साहित्य, संस्कृतिसँगै राजनीतिक, आर्थिक र सामाजिक मान्यता तथा विसंगतिको बारेमा समेत चर्चा गर्ने कार्यक्रम छ,’ उनले भने। 

देवतालाई रक्सी चढाउने र यसलाई थारू समुदायको पहिचानसँग जोड्दा पछिल्लो पुस्तामा नकारात्मक प्रभाव पर्ने भएकोले यसलाई साहित्यमार्फत कुरीतिको रूपमा चित्रण गर्न सुझाव दिइएको छ। 

‘राजनीतिक, सांस्कृतिक र मुद्दासँगै थारू समुदायमा देखिएको सिकलसेल एनिमियासम्बन्धी जानकारी दिने कार्यतालिका छ,’ उनले भने। 

सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलनमा पूर्व मेचीदेखि महाकालीसम्मका तीन सय बढी थारू सर्जक तथा अगुवाले सहभागिता जनाउने आयोजकले जनाएको छ। थारू लेखक संघले पहिलो सम्मेलन दाङको घोराहीमा गरेको थियो। 

दोस्रो कैलालीको धनगढी, तेस्रो बर्दियाको बढैयाताल, चौथो रुपन्देहीको मुर्गिया, पाँचौँ सुर्खेतको नयाँ गाउँ र छैठौँ कञ्चनपुरमा राष्ट्रिय सम्मेलन भएको थियो। कोरोनाका कारण रोकिएको सम्मेलन यसपटक बाँकेका फत्तेपुरमा गर्न लागिएको जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले जानकारी दिए। 

सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको स्थानीय आयोजक थारू गोचाली समाज फत्तेपुरका महासचिव कालुराम समर्पणले जानकारी दिए। उनले बरघर, वन उपभोक्ता समिति र पालिकाले सहयोग गरेको बताए।
 
उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरिए पनि अझैँ फाइनल भइनसकेको उनले बताए। ‘प्रधानमन्त्रीलाई निमन्त्रणा पठाइएको छ। उहाँको समय नमिले पर्यटनमन्त्रीको करकमलबाट उद्घाटन गराउने योजना छ,’ उनले भने।