१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
 अलपत्र अवस्थामा भेटिएका रामबहादुर तामाङ। तस्बिर सौजन्य : अम्बरेसनाग विश्वास ।
२o८१ जेठ १ मंगलबार १७:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोलकातामा नेपाली युवक अलपत्र 

शरीरभरि चोट, मानसिक अवस्था कमजोर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:o४:oo

भारतको कोलकातामा एक नेपाली पुरुष अलपत्र अवस्थामा फेला परेका छन्। अन्दाजी ३४-३५ वर्षको जस्तो देखिने एक पुरुष पश्चिम बंगलाको कोलकातास्थित डाइमन्डहार्वरको बक्खाली क्षेत्रमा अलपत्र अवस्थामा भेटिएका हुन्।

सर्लाहीको हरिवन नगरपालिकास्थित घुर्कौली घर र रामबहादुर तामाङ नाम बताउने ती पुरुष परिवारको सम्पर्कमा नरहेको पाइएको छ।

मानसिक अवस्था ठीक अवस्थामा नदेखिने रामबहादुर बक्खाली क्षेत्रमा भौतारिरहेको कोलकातास्थित वेस्ट बंगाल रेडियो क्लब सचिव अम्बरिसनाग विश्वासले नयाँ पत्रिकालाई जानकारी दिए। ‘ती व्यक्ति अलपत्र अवस्थामा छन्। 

मानसिक अवस्था पनि ठीक देखिँदैन। उनले नेपालको आफ्नो घरका बारेमा राम्ररी बताउन पनि सकेका छैनन्,’ विश्वासले नयाँ पत्रिकासँग भने,‘उद्धार गर्न पाए धेरै राम्रो हुने थियो। उनको परिवारसँग मिलन गराउन हामी आतुर छौँ।’

नयाँ पत्रिकालाई प्राप्त भिडियोअनुसार ती रामबहादुरले आफ्नो घर सर्लाहीको घुर्कौली रहेको बताएका छन्। उनले बुवाको नाम जयबहादुर र आमाको नाम धनकुमारी बताएका छन्। उनले आफ्ना बुवा राजमिस्त्री काम गर्ने पनि बताएका छन्। 

ती पुरुषबारे स्थानीय चन्दनकुमार वाणिकले कोलकातास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा समेत जानकारी गराइसकेका छन्। रामबहादुरको भिडियो पनि चन्दनकुमारले नै तयार पारेका हुन्। 

अनुहार र शरीरभरि चोट देखिने ती पुरुष आफ्नो घर फर्कन चाहेको वेस्ट बंगाल रेडियो क्लब सचिव विश्वासले बताए। उनी शारीरिक रूपमा कमजोर रहेको उनले बताए। ‘१२ वर्षभन्दा धेरै समयदेखि यहाँ रहेको कुराकानीका क्रममा जानकारी पाएका छौँ। उनी परिवारसँग सम्पर्कविहीन भएको अनुमान गर्न सकिन्छ,’ उनले भने। उनले आफ्नो बम्बईमा होटल भएको बताएको भिडियो नयाँ पत्रिकालाई प्राप्त भएको छ।

यसअघि कोलकातास्थित दमदम सेन्ट्रल जेलमा ४१ वर्षदेखि विना सुनुवाइ बसिरहेका इलाम माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई नेपालमा आफन्तसँग सम्पर्क गर्न र नेपाल ल्याउनसम्म वेस्ट बंगाल रेडियो क्लबले भूमिका खेलेको थियो।

कोलकातास्थि महावाणिज्यदूत ईश्वरराज पौडेलले ती व्यक्तिबारे जानकारी पाएको बताए। पौडलले रामबहादुरका बारेमा थप बुझ्ने काम भइरहेको नयाँ पत्रिकालाई जानकारी दिए। उनी कोलकातास्थित महावाणिज्यदूतको कार्यालयदेखि झण्डै १२५ किलोमिट टाडा रहेको उनले जानकारी दिए।

प्राप्त भिडियो हेर्दा मानसिक रूपमा केही समस्या देखिएको अनुमान गर्न सकिने उनले बताए। ‘ती व्यक्तिबारेमा हामीले जानकारी प्राप्त गरेका छौँ। अहिले हामीले उनका बारेमा थप सूचना लिइरहेका छौँ,’ महावाणिज्यदूत पौडेलले भने। उनले परिवार पत्ता लागेमा समन्वय गरेर नेपाल पठाउने जानकारी दिए। ‘थाहा पाएदेखि नै हामी नेपाल पर्‍याउन पर्‍यो भनेर प्रयास गरिरहेका छौँ । प्रवासी नेपालीका संस्थाहरूमार्फत उद्धार गरेर पठाउने छौँ,’ उनले भने, ‘यसको समन्वय हामी गर्छौँ। आवश्यक परेमा बस भाडा पनि हामी नै दिएर पठाउँछौँ।’

उनले पहिचान खुलेमा परिवारलाई बोलाएर पठाउने बताए । पहिचान नखुलेको अवस्थामा पनि तत्कालै उद्धार गरेर मानव अधिकारवादी संस्थासँग समन्वय गरेर केही समय राख्नुपर्ने हुनसक्ने महावाणिज्यदूत पौडेलले बताए।

नागेश्वर साह, वडाध्यक्ष हरिवन नगरपालिका–५ 

रामबहादुर मेरो छिमेकी हो। पहिलादेखि नै मानसिक समस्या थियो । उनलाई धेरै औषधी गर्दा पनि ठीक भएको थिएन। बुवाआमा पहिला नै बित्नुभयो। एउटा भाइ थिए। पोखरा काम गर्न गएका अहिले सम्पर्कविहीन छन्।

उनलाई गाउँमा सबैले माया गर्थे । यता–उता बसेर खाइरहेका थिए । ७-८ वर्षअघि एक्कासी हराए । मैले नै प्रहरीमा खोजतलासका लागि उजुरी पनि दिएँ । हालसम्म भेटिएको थिएन। उनको परिवारमा कोही छैन । पत्ता लाग्यो भने उनलाई वडाले समन्वय गरेर भए पनि नेपाल ल्याउँछौँ। वडामै अनाथ आश्रम छ । त्यहीँ भए पनि राख्ने छौँ ।

ad
ad