
गुरुकुलको परीक्षा समाप्तिपछि सबै छात्र एकत्रित भएर छुट्टीमा आफूले घर गएर गर्ने कामबारे चर्चा गर्दै थिए । अचानक गुरुले सबै छात्रलाई बाहिर मैदानमा एकत्रित हुन आदेश दिए ।गुरुको आदेशपछि सबै मैदानमा एकत्रित भए । गुरुले भने– मेरा प्रिय शिष्यगण, घर जानुअघि तिमीहरू सबैले एउटा दौड प्रतियोगितामा भाग लिनुपर्नेछ । दौडका क्रममा एउटा अँध्यारो सुरुङ पार गर्नुपर्नेछ । दौडमा विभिन्न बाधा पनि आइपर्नेछन्, ती सबैको सामना गर्दै अघि बढ्नुपर्नेछ ।
गुरुको आदेशपछि सबैले एक स्वरमा भने– हामी सबै पूर्ण रूपले तयार छौँ गुरुदेव ! भोलिपल्ट बिहानै दौड सुरु भयो । सबैले फुर्तीसाथ दौड सुरु गरे । जब उनीहरू अँध्यारो सुरुङमा पुगे, तब सबैलाई आआफ्ना खुट्टामा कुनै तिखा वस्तुले घोचेको आभास भयो । ठाउँठाउँमा तिखा ढुंगा थिए । तिनका कारण कैयौँको खुट्टामा चोट लाग्यो । पीडाले धेरैलाई सतायो । जसोतसो गर्दै दौड पूरा गरे । दौड समाप्तिपछि छात्रहरू आश्रममा एकत्रित भए । गुरुले सबैलाई सोधे– तिमीहरूमध्ये कसैले छिटै दौड पूरा गर्यौ भने कसैले लामो समय लगायौ, यस्तो किन भयो ? गुरुको प्रश्न सुनेपछि एक शिष्यले भने– गुरुदेव, हामी सबैले एकसाथ दौडिन सुरु गरेका थियौँ । तर, अँध्यारो सुरुङमा पुग्नासाथ सबैको अवस्था बिलकुलै बदलियो । केही मित्रको पाउमा तिखा पत्थरले घोचेका कारण उनीहरू सम्हालिँदै अघि बढिरहेका थिए भने केही मित्रचाहिँ आफूभन्दा पछि आउने मित्रलाई पीडा नहोस् भनेर तिनै पत्थर उठाएर आआफ्नो हातमा लिएर अघि बढ्दै थिए ।
छात्रको भनाइ सुनेपछि गुरुले भने– जजसले पत्थर टिपेका छौ, मलाई देखाऊ त ! पत्थर टिप्ने छात्रले गुरुलाई आफूले उठाएको पत्थर पालैपालो देखाए । तीमध्ये गुरुले एक पत्थर आफ्नो हातमा लिँदै भने– तिमीहरू जसलाई एक सामान्य पत्थर ठानिरहेका छौ, ती यथार्थमा बहुमूल्य हिरा हुन् । मैले नै सुरुङमा यिनलाई राखेको थिएँ ।
यो दौडले हाम्रो जीवनको प्रतिस्पर्धालाई देखाइरहेको छ । जहाँ हरेक मानिस एकअर्कालाई पछि छाडेर अघि बढ्न दौडिरहेको हुन्छ । तर, आखिरमा असली विजेता त्यही हुन्छ, जो दौडमा अरूको समेत भलाइ गर्दै अघि बढ्छ ।