Skip This
आसिफलाई आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:५४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आसिफलाई आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:५४:oo

आसिफ शेख स्पिरिट अफ क्रिकेट अवार्डबाट सम्मानित हुने पहिलो नेपाली खेलाडी 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर तथा विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले प्रदान गर्ने प्रतिष्ठित अवार्ड जितेका छन् । आसिफले आइसिसी अवार्ड २०२२ को एक विधा स्पिरिट अफ क्रिकेट (उच्च खेल भावना)को अवार्ड हात पारेका हुन् । सन् २०२२ वर्षभित्र भएका अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा आइसिसीले विभिन्न विधामा खेलाडीलाई अवार्ड प्रदान गरेको छ । आइसिसीले २०२२ मा प्रदान गरेका अवार्डमध्ये एक थियो, खेल भावना भएको खेलाडी स्पिरिट अफ क्रिकेट अवार्ड । यो अवार्ड आइसिसीमा निकै प्रतिष्ठित अवार्डका रूपमा रहेको छ । आसिफ सो अवार्ड हात पार्ने पहिलो नेपाली क्रिकेटर हुन् । आयरल्यान्डविरुद्धको खेलमा खेल भावना देखाएका कारण आसिफ यस विधामा परेका थिए । 

यस कारण पाए अवार्ड 
गत वर्ष फागुनमा चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिज भएको थियो । सिरिजअन्तर्गत १४ फेब्रुअरी २०२२ मा नेपालले आयरल्यान्डको सामना गरेको थियो । इनिङ्सको १९.३ ओभरमा नेपालका बलर कमलसिंह ऐरीले बलिङ गरेका थिए । ननस्ट्राइक क्रिजमा आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममै कमल सिंहसँग ठोक्किए । जसका कारण एन्डी क्रिजको मध्यभागमा लड्न पुगे । मार्क आदिर एक रन लिने प्रयासमा ननस्ट्राइकबाट दौडिएका थिए । रन लिने योजनामा एन्डी कमलसिंहसँगै अल्झिएर लडे । 

मार्कले मिड विकेटमा बल प्रहार गर्दै दौडिए । क्रिजमा लडेका म्याक तत्कालै उठ्न सक्ने अवस्थामा थिएनन् । कमलसिंहले नै मिड विकेटबाट बल विकेटकिपिङ गरिरहेका आसिफतिर फ्याँके । मिड विकेट क्षेत्रबाट आसिफले सहजै बल ग्रिपमा लिए । आसिफले चाहेको भए एन्डीलाई सहजै रन आउट गर्न सक्थे । त्यसवेला म्याक स्ट्राइक एन्डसम्म पुग्न धेरै यार्ड टाढा थिए । क्रिजमा लडिरहेका म्याकको अवस्था देखेर आसिफले उनलाई रनआउट गरेनन् ।

रनआउटबाट जोगिएका म्याकसँग आसिफले हात मिलाए । यही घटनालाई आधार बनाएर आइसिसीले आसिफलाई उक्त खेल भावना अवार्ड प्रदान गरेको हो । आसिफले देखाएको ‘स्पिरिट अफ क्रिकेट’लाई तत्काल नेपाल मात्र नभएर अन्तर्राष्ट्रिय चर्चित मिडिया र समर्थकले खुलेर प्रशंसा गरेका थिए । स्वयं आइसिसीले पनि आसिफको सो भावनाको खुलेर प्रशंसा गरेको थियो । विश्वभर सर्वाधिक चर्चा पाएको २०२२ को सो क्षणका कारण आसिफले आइसिसी स्पिरिट अफ दी क्रिकेट इयर अवार्ड जितेका हुन् ।

बाबर बने सर्वोत्कृष्ट क्रिकेटर
आइसिसीले पाकिस्तानका कप्तान बाबर आजमलाई सर गारफिल्ड सोबर्स ट्रफी फर द आइसिसी क्रिकेटर अफ दी इयरको अवार्ड जितेका छन् । यो आइसिसीले वर्षमा प्रदान गर्ने सर्वाधिक ठूलो अवार्ड हो । पाकिस्तानकै तीव्र गतिका बलर साहिन शाह अफ्रिदीले यस अवार्ड गत वर्ष जितेका थिए । लगातार यस अवार्ड पाकिस्तानी खेलाडीले जितेका छन् । यसपटक बाबरसँगै इंग्ल्यान्डका बेन स्टोक्स, जिम्बावेका सिकन्दर राजा र न्युजिल्यान्डका टिम साउथी मनोनयनमा परेका थिए । बाबरले तीन प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड जितेका हुन् । 

बाबरले २०२२ को अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ खेलमा दुई हजार ५ सय ९८ रन बनाएका थिए । जसमध्ये उनले आठ शतक र १५ अर्धशतक प्रहार गरे । यसैगरी, अन्तर्राष्ट्रिय टी–२०, एकदिवसीय र टेस्ट फम्यार्टमा दुई हजार रन बाबरले गत वर्ष प्रहार गरेका थिए । बाबरको कप्तानीमा पाकिस्तान गत वर्ष आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा फाइनलमा पुगेको थियो । बाबरले २०२२ को एकदिवसीय क्रिकेटर अफ दी इयरको अवार्ड पनि जितेका छन् । उनी टेस्ट टिम अफ दी इयरमा पनि परेका छन् । २८ वर्षीय बाबरले नौ एकदिवसीय खेलमा ६ सय ७९ रन बनाएका थिए । यसक्रममा उनले लागतार तीन खेलमा एकदिवसीय शतकीय इनिङ्स खेले । 

सूर्यकुमार टी–२० मा उत्कृष्ट
भारतीय क्रिकेटर सूर्यकुमार यादवले पुरुषतर्फको टी–२० क्रिकेटर अफ दी अवार्ड जितेका छन् । इमर्जिङ क्रिकेटरको अवार्ड दक्षिण अफ्रिका तीव्र गतिका बलर मार्को यानसनले जितेका छन् । इंग्ल्यान्डका बेन स्टोक्सले टेस्ट क्रिकेटर अफ दी इयर अवार्ड जितेका छन् । एसोसिएट क्रिकेटर २०२२ को अवार्ड नामिबियाका कप्तान जेरार्ड इरास्मसले जितेका छन् ।