
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्वसदस्यसचिव युवराज लामाको अध्यक्षतामा बिहीबार २१ सदस्यीय नेपाल कराँते महासंघलाई पुनर्गठन गरेको छ । नेपाली खेलकुदको पहिलो पुस्ताका कराँते खेलाडीसमेत रहेका लामाको नेतृत्वमा पुनर्गठित महासंघलाई ९० दिनभित्र विधान मस्यौदा तयार पारी राखेपकै स्वीकृतिमा साधारणसभा तथा निर्वाचन गर्न निर्देशन राखेपले दिएको छ । लगभग एक दशकदेखि कराँतेमा विवाद छ । अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्रप्त संघका रूपमा कराँतेमा दुई संघ रहेका छन् । एक समूहलाई राखेपको समर्थन र अर्कोलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)ले मान्यता प्रदान गरेको छ ।
राखेपका पूर्वसदस्यसचिवसमेत रहेका लामाले अर्को सातासम्म विधान मस्यौदा तयार पार्ने बताएका छन् । ‘दुई साता अवधिमा एसियाली खेलकुदका लागि खेलाडी छनोट गर्नेछौँ,’ लामाले भने, ‘त्यसपछि विधान पास गरेर निर्वाचनको तयारीमा लाग्नेछौँ ।’ पुनर्गठित महासंघका अध्यक्ष लामाले राखेपले दिएको समयसीमाभित्र निर्वाचनको प्रयास हुने बताए । ‘हामी निर्धारित समयसीमाभित्र निर्वाचन गर्ने प्रयासमा छौँ, त्यसैअनुसार काम हुन्छ ।’
लामाले कराँते आफ्नो घर भएको बताएका छन् । ‘कराँते सधैँ मेरो घर नै हो, यसलाई अगाडि बढाउने हामी सवैको जिम्मेवारी हो, यसलाई एउटा महत्वपूर्ण दायित्वका रूपमा लिएको छु,’ उनले भने । यसअघि पनि कराँतेको विवाद मिलाउन महासंघ पुनर्गठन भएको थियो । यसअघि सहअध्यक्ष रहेका दावा गुरुङ, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, महासचिव हरिशरण केसी, सहमहासचिव ओमकृष्ण प्रसाईं, सचिवद्वय श्याम शेर्पा र बिआर मित्र तथा कोषाध्यक्ष सानुलाल श्रेष्ठलाई पुनर्गठित महासंघमा सोही जिम्मेवारी दिएको छ ।
सदस्यहरूमा राजेन्द्र बराल, देवकुमार लामा, महेन्द्र सिंह, ध्रुवविक्रम मल्ल, निवासगोपाल वैद्य, नारायणबहादुर मगर, धोजुमान मोक्तान, रवि महर्जन, ताराबहादुर ओली, दुर्गा गौतम परियार, यादव काफ्ले, डोल्मा लामा शाह र किशोरप्रसाद भट्टराई रहेका छन् ।
सदस्यसचिव हुँदा लामाले गरे संघको पुनर्गठन
तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवका रूपमा रहँदा लामाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यताप्राप्त नेपाल कराँते महासंघ अस्तित्वमा हुँदाहुँदै राष्ट्रिय मान्यताप्राप्त भन्दै आफ्नो संरक्षकत्व तथा दावा गुरुङको अध्यक्षतामा नेपाल कराँते महासंघ पुनर्गठन गरेका थिए । यसैगरी, एकै प्रकृतिका दुई संघ अस्तित्वमा रहेको भन्दै ०७५ सालमा पनि शम्भु आचार्यको संयोजकत्वमा तदर्थ समिति गठन भएको थियो । आचार्यको संयोजकत्वमा रहेको तदर्थ समितिलाई निर्वाचन गर्ने जिम्मेवारी दिइएको थियो । तर, चार वर्ष बितिसक्दा पनि महासंघको निर्वाचन भएको छैन । खेलवृत्तमा दुई समूह अस्तित्वमा रहेका कारण कराँतेले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो सफलता प्राप्त गर्न सकेन । नेपालको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता कमजोर बन्दै गएको छ ।
कराँतेको विवादकै कारण सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाडमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराँते संघले आफ्नो खेलाडीलाई प्रतिस्पर्धा गराएको थियो । राखेपले निर्माण गरेको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेकी खेलाडीले प्रतिस्पर्धा नै गर्न पाइनन् । कराँतेको विवादका कारण १२औँ दक्षिण एसियाली खेलकुदमा यसलाई समावेश गरिएन । लामा आफैँले निम्त्याएको कराँतेको विवाद समाधानका लागि अहिले नयाँ भूमिकासहित जिम्मेवारी पाएका छन् ।