
सातौँ वरीयताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०२२–२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् । रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा १३औँ वरीयताका रमेश अधिकारीलाई ७–६ ले हराउँदै दिनेशले उपाधि हात पारेका हुन् । उपाधिसँगै दिनेशले ६० हजार र दोस्रो भएका रमेशले ४२ हजार रुपैयाँ जितेका छन् ।
सूर्य नेपाल गल्फ टुरमा पहिलो उपाधि जित्ने क्रममा दिनेशले पहिलो नौ होलको खेलमा चार होलको अग्रता लिएका थिए । १८ होलको समाप्तिमा दिनेशले आठ होलको फराकिलो अग्रता लिए । खेलमा फर्कने संकेत देखाएका रमेशले १९औँ, २०औँ, २१औँ र २२औँ होल लगातार जित्दै दिनेशको अग्रतालाई चार होलमा घटाए ।
दिनेशले २३औँ होल जित्दा रमेशले २४औँ र २५औँ होल आफ्नो पक्षमा पार्र्दै दिनेशको अग्रतालाइ तीन होलमा झारे । तर, २६औँ र २७औँ होल आफ्नो पक्षमा पार्दै दिनेशले ५ होलको अग्रता बनाए । यसपछि दिनेशले २९औँ र ३०औँ होल जित्दै ६ होल बाँकी रहँदा सहज जितका साथ उपाधि आफ्नो नाममा लेखाए ।
प्रतियोगितामा आठौँ वरीयताका धनबहादुर थापा तेस्रो भए । १८ होलको प्रतिस्पर्धा बराबरीमा टुंगिएपछि धनबहादुरले प्ले–अफको पहिलो होलमा १०औँ वरीयताका भुवनकुमार रोक्कालाई पराजित गरे । क्वार्टरफाइनलमा पराजित भएका नेपाल नम्बर एक खेलाडी शुक्रबहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौँ वरीयताका रवि खड्काले समान ११ हजार रुपैयाँ जिते । यसैगरी, पहिलो चरणबाट बाहिरिएका टंकबहादुर कार्की, सञ्जोक मोक्तान, कृष्णमान राजबाहक, प्रदीपकुमार लामा, सञ्जय लामा, सूर्यप्रसाद शर्मा, बलभद्र राई र रामे मगरले समान ६ हजार प्राप्त गरे ।