
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समितिअन्तर्गतका ४७ वटा परम्परागत गुठीहरूलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आफ्नो सभ्यता र सम्पदा जोगाउनका लागि अहिलेको युवा पुस्ता नै अन्तिम पुस्ता भएको पनि बताए। मेयर बालेन्द्रले अहिलेका युवा पुस्ताले पनि सांस्कृतिक सम्पदाहरूको संरक्षण नगरे बिस्तारै सम्पदा र सभ्यताहरू लोप हुँदै जाने बताए।
उनले काठमाडौं उपत्यकावासीले आ-आफ्नो भाषा र संस्कृति, बाजागाजा, सभ्यता, सम्पदा जोगाउने काममा अग्रसर हुन आग्रहसमेत गरे।
महानगरपालिका प्रमुख साहले सभ्यता र संस्कृतिको जगेर्ना गर्नका लागि महानगरले सहयोग गर्ने र सभ्यता, संस्कृतिको संरक्षण काठमाडौं महानगरपालिकाको दायित्व र कर्तव्य भएको बताए।