१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तयारी वस्तु र कच्चा पदार्थको  भन्सारदर फरक गर्न व्यवसायीको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२४:oo

नेपाल उद्योग परिसंघले आयातीत तयारी वस्तु र कच्चा पदार्थको भन्सारदर कम्तीमा दुई तहको फरक गर्न आग्रह गरेको छ । ७१औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर बुधबार आयोजित अन्तरक्रियामा परिसंघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले आत्मनिर्भर भइसकेका तथा आत्मनिर्भरउन्मुख वस्तुहरूको आयात निरुत्साहित गरिनुपर्नेमा जोड दिए । 

अन्तरक्रियामा अर्थ मन्त्रालयका राजस्वसचिव डा. रामप्रसाद घिमिरे र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बढा सहभागी थिए । विदेशबाट आयात हुने तयारी वस्तु र स्वदेशमै सो तयारी वस्तु उत्पादन गर्नका लागि चाहिने कच्चा पदार्थको भन्सारदरमा कम्तीमा एक तहको फरक हुने सरकारको वर्तमान नीतिलाई अब दुई तह वा कम्तीमा १० प्रतिशतको अन्तर हुने गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने अग्रवालले बताए । 

परिसंघका राजस्व समिति सभापति राहुल अग्रवालले भन्सार सन्दर्भ पुस्तिकामा सुधार ल्याउन आग्रह गरे । सन्दर्भ पुस्तिकाका कारण अधिक बिजकीकरण र न्यून बिजकीकरणलाई प्रोत्साहित गरिरहेको उनको भनाइ थियो । बिल–बिजक मूल्यलाई मान्यता दिने तर सन्दर्भ पुस्तिकाको मूल्यलाई आधार मान्ने अभ्यासले मिसम्याच भइरहेको उनले बताए । वस्तुको मूल्य र आयातकर्ताको विवरण नखुलेको सामान निर्वाध आयात भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले भन्सारमा कडाइ गर्न आग्रह गरे । 

परिसंघले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न सरकारी निकायमा नेपाली उत्पादन प्रयोग गराउन पनि आग्रह गरेको छ । यस्तै, चोरी–पैठारी नियन्त्रण गर्न, सार्वजनिक बिदाका दिन अन्य दिनजस्तै नियमित पूर्णरूपमा काम गराउन, भन्सार जाँच पासपछि पनि मालवाहक गाडी पुनः चेकजाँच गर्ने परिपाटी कम गर्न पनि परिसंघले आग्रह गरेको छ । 

राजस्वसचिव डा. घिमिरेले कारोबारमा आधारित अर्थतन्त्रबाट उत्पादनमा आधारित अर्थतन्त्रतर्फ जानैपर्ने बताए । औद्योगीकरणको प्रवद्र्धन गर्न उत्पादन बढाउनुको विकल्प नभएको बताउँदै उनले त्यसका लागि सरकारले सहजीकरण गर्ने आश्वासन दिए । ‘चोरी–पैठारी नियन्त्रण गर्न प्रभावकारी रूपमा काम गर्छौँ, यसमा निजी क्षेत्रको पनि सहयोग चाहिन्छ,’ उनले भने, ‘ग्रिन च्यानलबाट पैठारी हुने वस्तुको संख्या बढाउने परिसंघको सुझावमा आवश्यक कदम चानिलेछ ।’ 

सार्वजनिक बिदाका दिन पनि भन्सार सुचारु हुनुपर्ने परिसंघको आग्रहमा भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले यो सुझाव सकारात्मक रहेको बताए । उनले सार्वजनिक बिदाका दिन राजस्वमा पनि असर परेको भन्दै बिदाको दिन पनि अरू दिनजस्तै नियमित ‘फुलफ्लेज’मा काम गर्न छलफल भइरहेको बताए ।