मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १२ बिहीबार ०८:५३:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : गरिब राजा !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १२ बिहीबार ०८:५३:००

एक साधुले बाटामा एउटा सुनको सिक्का फेला पारे । उनलाई धनको चासो थिएन । त्यसैले, उनका लागि पैसा अर्थहीन थियो । उनी त्यो सिक्का गरिबलाई दिन चाहन्थे । तर, उनले गरिब भेटेनन् । 

एक दिन एक राजा आफ्नो सेनाको दलबल र हातहतियारसहित छिमेकी राज्यमा आक्रमण गर्न जाँदै थिए । बाटामा ती साधुले राजालाई देखे । उनले राजाको उद्देश्य राम्ररी बुझे । त्यसपछि केहीबेर सोचमग्न भई उनले सिक्का राजाको रथमा पर्ने गरी फ्याँकिदिए । सिक्का सीधै राजाको अगाडि खस्यो । कसैले आफूलाई स्वर्णसिक्का प्रहार गरी अपमान गरेको ठानेर राजा झनक्क रिसाए । यसो यताउता हेर्दा उनले एक साधुलाई आफूतिर हेरेर मुस्कुराइरहेको देखे ।

आफ्नो समूहलाई केहीबेर रोकिन आदेश दिएर साधु भएको स्थानमा पुगेर राजाले प्रश्न गरे– साधुजी, तपाईंले मलाई यसरी किन स्वर्णसिक्काले हिर्काउनुभयो ? साधुले शान्त भावले भने– महाराज, यो सिक्का मैले बाटामा भेटेको थिएँ । आफूलाई यसको काम नभएकाले कुनै गरिबलाई यो सिक्का दिने सोच बनाएको थिएँ । तर, सोचेजस्तो गरिब कोही पनि भेटिएन । तर, तपाईंलाई देखेपछि तपाईंजति गरिब अर्को कोही हुन सक्दैन जस्तो लाग्यो र यो सिक्का तपाईंलाई दिएको हुँ ।

साधुको भनाइ सुनेर अचम्म मान्दै राजाले प्रश्न गरे– भनेपछि तपाईंले मलाई सबैभन्दा गरिब देख्नुभयो, होइन त ? साधुले भने– हो महाराज, यति ठूलो राज्यका राजा भएर पनि छिमेकी राज्यमाथि आक्रमण गरेर रगतको खोलो बगाउन तयार हुने तपाईंजति गरिब अर्को को होला र ? आखिर तपाईंलाई पुग्दो सम्पत्ति हुँदो हो त रगतको खोलो बग्न सक्ने युद्ध किन चाहनुहुँदो हो र ? साधुको भनाइ सुनेपछि राजा झसंग भए । उनले आफ्नो गल्ती महसुस गरे र सैनिकलाई फर्काएर जीवनभर अर्को राज्यमाथि आक्रमण नगर्ने वाचा गरे ।