Skip This
कालीगण्डकीको शिलाबाट अयोध्याको राम मन्दिरमा बन्नेछ श्रीरामको बालस्वरूप मूर्ति 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदीबाट अयोध्या पठाउन शिला ट्रकमा राखिँदै
Invalid date format o५:५६:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कालीगण्डकीको शिलाबाट अयोध्याको राम मन्दिरमा बन्नेछ श्रीरामको बालस्वरूप मूर्ति 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५६:oo

२३ टन र १५ टनका दुई शिला पोखराबाट जनकपुर हुँदै सोमबार अयोध्या पठाइने

भारतको उत्तर प्रदेशमा रहेको अयोध्यास्थित राम मन्दिरको मुख्य गर्भगृहमा नेपालको कालीगण्डकीबाट लगिएका शिलाबाट श्रीरामको बालस्वरूप मूर्ति निर्माण हुने भएको छ । अयोध्या लैजाने शिला (ढुंगा) गण्डकी प्रदेश सरकारका तर्फबाट बिहीबार जनकपुरस्थित जानकी मन्दिरलाई हस्तान्तरण हुनेछ भने जनकपुरबाट १६ माघमा अयोध्या पठाइनेछ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा शिला हस्तान्तरण गर्नेछन् । कालीगण्डकीबाट २३ टन र १५ टनका दुई शिला पठाउन लागिएको छ । गण्डकी प्रदेश सरकारको आवश्यक व्यवस्थापनमा देवशिला जनकपुर पुर्‍याउने कार्यक्रम छ । जनकपुरबाट अयोध्यासम्म पठाउने व्यवस्था पनि नेपालकै तर्फबाट हुनेछ । 

राम मन्दिरको गर्भगृहमा श्रीरामको बालरूप झल्किने मूर्ति नेपालबाट पठाइने शिलाबाट कुँद्न लागिएको हो । राम मन्दिरको मूल प्रतिमा नै नेपालको देवशिला हुनेछ । यसले कालीगण्डकी क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन हुने र दुई देशको सांस्कृतिक सम्बन्ध थप बलियो हुने जानकारको विश्वास छ । 

‘कालीगण्डकीको देवशिला जनकपुरधाम पुर्‍याएपछि पूर्जा–अर्जना गरेर शोभायात्रासहित अयोध्या पठाउनेछौँ,’ जानकी मन्दिरका महन्थ राम तपेश्वर दासका उत्तराधिकारी रामरोशन दासले नयाँ पत्रिकासँग भने । उनका अनुसार अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले कालीगण्डकीको शिला उपलब्ध गराउने कार्यको समन्वय गरिदिन जानकी मन्दिरका महन्थलाई आग्रह गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले २ पुसमा कालीगण्डकी नदीका शिला पठाउने निर्णय गरेको थियो । त्यसपछि निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई शिलाको आवश्यक बन्दोबस्तका लागि आग्रह गरेका थिए । त्यसपछि नेपाल र भारतका विज्ञको टोलीले कालीगण्डकीमा दुई शिला फेला पारेका थिए । अयोध्या लैजाने शिलाको १ माघमा पूजाआजा भएको थियो, जहाँ कांग्रेस नेता एवं सांसद विमलेन्द्र निधि, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, निवर्तमान मुख्यमन्त्री नेपालीलगायत सहभागी थिए ।

कालीगण्डकीबाट देवशिला छनोटमा नेता निधि, विश्व हिन्दू परिषद् नेपालका महामन्त्री जितेन्द्रकुमार सिंह, विश्व हिन्दू परिषद्का सचिव पंकज सिंह, शिलासम्बन्धी विज्ञ तथा कालीगण्डकीका जानकार डा. कुलराज चालिसेलगायत सक्रिय थिए । चालिसेका अनुसार सुरुमा मुस्ताङमा अर्को शिला छनोटमा परेको थियो, तर अयोध्या लैजान सम्भव नभएपछि अन्नपूर्ण–धौलागिरि हिमालको बीचका दुई शिला लैजाने तय भएको हो । यो वर्ष जनकपुरबाट अयोध्या बराँत पठाउने सौगातका रूपमा देवशिला हुनेछन् । 

अयोध्यामा नौ महिना लगाएर रामको मूर्ति तयार हुने जानकारी आएको विश्व हिन्दू परिषद् नेपालका महामन्त्री जितेन्द्रकुमार सिंहले जानकारी दिए । ‘अयोध्यामा बन्ने श्रीराम मन्दिरको गर्भगृहमा नेपालको कालीगण्डकीबाट लगिने शिलाबाट कुँदिएको मूर्ति राखिने कुराको महत्व अनन्तकालसम्म रहनेछ,’ पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता निधिले नयाँ पत्रिकासँग भने, ‘यो कार्यको प्रयास गर्ने सौभाग्य पाएँ, मलाई अत्यन्तै गर्व लागेको छ । यसले नेपाल र भारतबीच युगौँदेखि कायम रहेको सांस्कृतिक सम्बन्ध पनि थप प्रगाढ हुनेछ ।’ 

एमाले केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख कृष्णबहादुर केसीले भने, ‘मुक्तिनाथको शिरबाट बगेको कालीगण्डकीको शिला आफैँमा पवित्र छ । पवित्र कालीगण्डकी नदीको शिला अयोध्यास्थित राम मन्दिरको गर्भगृहमा राख्नुको अर्थ नेपाल–भारतको सांस्कृतिक सम्बन्धको मात्र नभएर कालीगण्डकी तटीय क्षेत्रका हामी बासिन्दाका लागि पनि गौरवको विषय हो ।’ 

राम मन्दिरको निर्माण मार्च २०२० देखि हुँदै आएको छ । राम मन्दिर ७० एकड जमिनमा तीन सय ६० फिट लम्बाइ, दुई सय ३५ फिट चौडाइ र एक सय ६१ फिट अग्लो बन्दै छ । मन्दिरमा पाँच मण्डप रहनेछन् भने बीचमा गर्भगृह रहने राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको वेबसाइटमा उल्लेख छ । भुइँ तलामा गर्भगृह हुनेछ भने पहिलो तलामा राम दरबार निर्माण हुँदै छ । जनवरी २४ मा राम मन्दिरको उद्घाटन हुने र दर्शनार्थीका लागि खुला गर्ने तयारी छ । राम मन्दिर र कम्पाउन्ड निर्माणका लागि करिब २० अर्ब भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको भारतीय पत्रिका द मिन्टले जनाएको छ । मन्दिर मात्रै निर्माणका लागि साढे पाँच अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले सरकारबाट रकम लिएको छैन । हालसम्म भक्तजनहरूबाट ३२ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको ट्रस्टका परियोजना निर्देशक भिके मेहताले जानकारी दिएका छन् ।