
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले आफ्ना आरपिएस/कनेक्ट आइपिएस माध्यमबाट गरिने भुक्तानीहरूको कारोबार शुल्क घटाएको छ ।
आरपिएसमार्फत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, कर्पोरेटपे एवं बैंक, वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरूमा अब रु. १० हजारसम्मको भुक्तानीमा रु. २ र सोभन्दा माथि रु. २० लाखसम्मको भुक्तानीमा रु. ५ कारोबार शुल्क लागू हुने एनसिएचएलले जनाएको छ ।
हाल एनसिएचएलका वालेट एपमार्फत सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्न चाहने व्यक्ति वा संस्थाले यी विभिन्न अनलाइन माध्यममार्फत वा कुनै पनि बैंक वित्तीय संस्थाको शाखामा गई राजस्व भुक्तानी गर्न सक्दछन् ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एनसिएचएलका विभिन्न च्यानलहरूमार्फत सरकारी राजस्व भुक्तानीका रु. एक सय १४ अर्बबराबरका नाै लाख ७० हजारभन्दा बढी भुक्तानी कारोबारहरू भएका छन् । एनसिएचएलले गत पाँच वर्षदेखि सरकारी भुक्तानीहरू डिजिटाइज गर्न सरकारी निकायसँग समन्वय गर्दै आएको छ भने गत आर्थिक वर्ष लगभग २० प्रतिशतजति राजस्व संकलन अनलाइन माध्यमबाट गराउन पनि सफल भइसकेको छ ।