मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुजे विल्सन
२०७९ माघ ११ बुधबार १०:४६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रधानमन्त्री जेसिन्डा आर्डेनको राजीनामा र लिंगभेद

Read Time : > 2 मिनेट
सुजे विल्सन
२०७९ माघ ११ बुधबार १०:४६:००

ताज पहिरेको शिरले नै असहज महसुस गर्छ’ भनेर महान् अंग्रेजी साहित्यकार विलियम सेक्सपियरले सन् १५०० कै शताब्दीमा लेखेका थिए । यस अर्थमा उच्चतहको नेतृत्व अत्यधिक तनावपूर्ण एवं जिम्मेवारीयुक्त हुन्छ । दोहारिइरहने तनावका चरणले मानिसलाई शिथिल बनाउने जोखिम रहन्छ । तैपनि, थोरैले मात्र मुलुक चलाउन अत्यधिक श्रम चाहिन्छ र तनाव बोक्नुपर्छ भनेर बुझेका छन् । र, विद्यामान संकटका समयमा र आधुनिक मिडिया एवं सामाजिक सञ्जालका जमानामा नेताको हरेक बोली र कदममा अत्यधिक निगरानी एवं टिप्पणी हुने गर्छ । 

टिप्पणीकै कुरा गर्ने हो भने न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनको कार्यकालमा उनीमाथि गरिएका टिप्पणी अत्यन्त भद्दा, हिंसात्मक, लिंगभेदी र स्त्रीद्वेषी छन् । यद्यपि उनले राजीनामा दिँदा उल्लिखित दुव्र्यवहारलाई उल्लेख गरिनन् । यहाँसम्म कि उनले आफ्नो पार्टनर (पुरुष मित्र) र बच्चामाथि साधिएको निसाना पनि उल्लेख गरिनन् । यसले पहिल्यैदेखि असहज मानिने कामलाई थप चुनौतीपूर्ण बनाइदिएको छ ।      

संकट, संवेदना र साहसी निर्णय :  संकटलाई नेताको क्षमता र नैतिकताको सबैभन्दा कठोर परीक्षणका रूपमा हेरिन्छ । संकटले महत्वपूर्ण निर्णय गराउँछ, जसमध्ये केहीले वास्तवमै जीवन–मरणकै भिन्नतालाई दर्साउँछन् । निर्णय तुरुन्तै लिनुपर्छ, जबकि नतिजा के हुने हो भन्नेबारे कुनै टुंगो हुँदैन । आर्डेनको प्रधानमन्त्रीकालमा संकटमा संकट थपिन रोकिएको थिएन । हरेक संकटका वेलामा उनले नेतृत्वदायी क्षमता प्रदर्शन गरेकी थिइन् र संकटलाई कुशलतापूर्वक समाधान गरेकी थिइन् । 

क्राइस्टचर्चमा भएको आतंकवादी हमलापछि त्यस्ता प्रकृतिका घटना हुन नदिन विनम्रता, करुणा र दृढ संकल्पयुक्त कदम चालेका कारण उनलाई सारा विश्वले प्रशंसा गरेको थियो । वकारी ह्वाइट टापुमा आएको ज्वालामुखीको घटनामा उनले लिएको पहलकदमीलाई पनि ठूलै प्रशंसा मिल्यो । उनले त्यसवेला पनि स्थिर एवं धैर्ययुक्त विवेक प्रदर्शन गर्दै संकटपूर्ण घटनाबाट प्रभावित व्यक्तिलाई सहयोग गर्ने नेताले जनतामा ठूलो छाप पार्छ भनेर पुष्टि गरेकी थिइन् । आर्डेनले करुणा एवं दयालाई साहससँग सम्मिश्रण गर्दै कठोर निर्णय लिने आफ्नै शैली निर्माण गरेकी थिइन् ।

आर्डेनलाई निसाना बनाएर गरिएका स्त्रीद्वेषी आलोचना र घृणाले नेतृत्वमा महिलालाई समान रूपमा व्यवहार गर्नबाट न्युजिल्यान्ड धेरै टाढा छ भन्ने देखाउँछ
 

एक नेताप्रति अवास्तविक अपेक्षा :  आर्डेनले महामारीको समयमा साहसी निर्णय गर्ने आफ्नो तत्परतालाई लगातार प्रदर्शन गरिरहेकी थिइन् । सरकारले कोभिड महामारीलाई लिएर गरेको प्रतिक्रियालाई जनताले ग्रहण गरेर समर्थन गर्नु उनको कुशलताको मात्रै नभई कोभिड उन्मूलन रणनीतिको सफलता थियो । उनको नेतृत्वका कारण धेरै जीवन एवं जीविका जोगिएका थिए । आर्डेनले डेल्टा र त्यसपछि ओमिक्रोन भेरियन्ट सतहमा आएपछि परिस्थितिलाई अनुकूलन गर्न सरकारका नीतिलाई निरन्तर परिमार्जन गर्ने काम गरिन् । लगनशीलता र लचिलोपन उनका सबल पक्ष हुन् र त्यति भन्दै गर्दा उनको सबैभन्दा दुर्बल पक्ष हठधर्मिता थियो । 

निःसन्देह उनका हरेक निर्णय सफल थिएनन् र हरेक निर्णयलाई सफलताको कसीमा राखेर जाँच्नु अत्यन्त अव्यावहारिक हुन जान्छ । उनका केही निर्णयले नकारात्मक प्रतिक्रिया उब्जाएका थिए । नेताहरूले सधैँ सही निर्णय लिन्छन् भनेर अपेक्षा गर्नु अनुचित हुन्छ किनभने नेता हुँदा स्वतः विवादास्पद निर्णय लिने गरिन्छ । 

लिंगभेदी एवं स्त्रीद्वेषी दुव्र्यवहारमा बढोत्तरी :  कुनै पनि नेता विशेषतः लोकतन्त्र र आजको जोडिएको विश्वमा सर्वशक्तिमान हुँदैनन् । दैनिक जीविका खर्च हालको सबैभन्दा टड्कारो चुनौती हो, जुन आर्डेनले सामना गरिरहेकी थिइन् । यद्यपि महँगी प्रायः बाह्य प्रभावका कारण उब्जिने गर्छन र न्युजिल्यान्डका कुनै पनि प्रधानमन्त्रीले यसको समाधान गर्न सक्ने सामथ्र्य राख्दैनन् । यसका बाबजुद न्युजिल्यान्ड अन्य धेरै राष्ट्रका तुलनामा राम्रो स्थितिमा छ । केही मानिस यसमा सहमत नहुन सक्छन्, जुन आर्डेनका लागि सुखद पक्कै होइन ।

उनको बढ्दो अलोकप्रियता केही हदसम्म नेताले वास्तवमा के गर्न सक्छन् र के गर्न सक्दैनन् भन्ने अवास्तविक अपेक्षा र समस्याका लागि कसै न कसैलाई दोष दिन आवश्यक छ भन्ने प्रवृत्तिका कारण भएको हो । यति भन्दै गर्दा उनीमाथि गरिएको आलोचना असामान्य ढंगले लिंगभेदी एवं स्त्रीद्वेषी दृष्टिकोणबाट प्रभावित देखिन्छ ।

यस्ता दृष्टिकोणसहितको आलोचनाको सिलसिला नै छ । यी धारणा लिंगभेदी उपनाम ‘सिन्डी’बाट सुरु हुन्छ, जसले हाम्रो राष्ट्रको नेतृत्व गर्न चुनिएकी वयस्क महिलाको अधिकार एवं हैसियतको अवमूल्यन गर्छ । र, सिलसिला ‘कन्ट’ (महिलाको अपमान गर्न योनीलाई दिइएको अश्लील संज्ञा) शब्द प्रयोग भएर अन्त्य हुन्छ । डिसइन्फर्मेसन प्रोजेक्टको अनुसन्धानअनुसार यो शब्दको प्रयोग एक ठूलो भाष्यसँग जोडिएको छ, जसले महिलाको रूपमा आर्डेनको पहिचानका अन्य पक्षको बेइज्जत गर्छ । यहाँसम्म कि यो शब्दले उनको बलात्कार र मृत्युको काल्पनिकीलाई समेत प्रोत्साहन गर्छ ।

यस्ता व्यवहार स्पष्ट रूपमा अक्षम्य हुनुपर्छ । आर्डेनले यो अपमान भोग्नु न्युजिल्यान्डका लागि स्थायी लज्जाको विषय हो । उनको विभाजनकारी भनिएका नीतिका लागि उनी दुव्र्यवहार‘योग्य’ छन् भनेर पुष्टि गर्नु वाञ्छनीय हुँदैन । किनभने यसले विगतका बलात्कारी र घरेलु हिंसा गर्नेलाई टाउको ठड्याउने मौका दिन्छ । 

आर्डेन न्युजिल्यान्डकी तेस्रो महिला प्रधानमन्त्री थिइन् । तसर्थ सहभागिताको कोणबाट न्युजिल्यान्डका सन्दर्भमा महिला प्रधानमन्त्रीको कार्यभार सम्हाल्न सक्षम छन् भन्ने पुष्टि हुन्छ । हाम्रो संसद्मा महिलाको बराबरी उपस्थिति पनि छ । तर, आर्डेनलाई निसाना बनाएर गरिएका आलोचना र घृणा लिंगभेदी एवं स्त्रीद्वेषी थियो भन्ने तथ्यले नेतृत्वमा महिलालाई समान रूपमा व्यवहार गर्नबाट हामी धेरै टाढा छौँ भन्ने देखाउँछ ।

(विल्सन मास्से विश्वविद्यालयकी वरिष्ठ अध्यापक हुन्) द कन्भर्सेसनबाट