
भारतीय बजारमा विद्युत् उत्पादन घटेसँगै मूल्य पनि अधिकतम बिन्दुमा पुगेको छ । कोइला प्लान्टबाट बढी विद्युत् उत्पादन हुने भारतमा कोइला अभाव भएसँगै विद्युत्को आपूर्ति पनि प्रभावित भएको छ । बजारमा मागअनुसार विद्युत् आपूर्ति नभएपछि पछिल्लो समय भारतमा बिजुलीको मूल्य अधिकतम बिन्दुमा पुगेको हो । भारत सरकारले आफ्नो खुला बजारमा विद्युत् व्यापार गर्न प्रतियुनिट १२ भारुको अधिकतम सीमा तोकेको छ ।
अहिले अधिकांश समयमा सोही मूल्यमै विद्युत् खरिद बिक्री भइरहेको छ । यही अधिकतम मूल्यमा नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् खरिद गर्नुपरेको छ । तर, नेपाली बजारमा प्राधिकरणले खरिद गरेको भन्दा कम मूल्यमा विद्युत् बिक्री गर्दै आइरहेको छ । भारतबाट विद्युत् महँगोमा खरिद गर्नुपरेका कारण नै प्राधिकरणले आयात नगरेर औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेको उद्योगीहरूको आरोप छ ।
भारतबाट पर्याप्त विद्युत् आयात नभएपछि विशेष गरी औद्योगिक क्षेत्रमा दैनिक ६ घन्टा विद्युत् कटौती हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणले औपचारिक रूपमा लोडसेडिङ घोषणा नगरे पनि औद्योगिक क्षेत्रमा बिहान र बेलुका पिक आवरमा तीन–तीन घन्टा विद्युत् कटौती गर्दै आइरहेको छ । प्राधिकरणले अघिल्लो दिन नै उद्योगहरूमा फोन गरेर भोलिको पिक आवरमा विद्युत् नदिने जानकारी दिँदै आएको छ । सोहीअनुसार पिक आवरमा विद्युत् कटौती हुँदै आएको व्यवसायीहरूको भनाइ छ ।
विशेष गरी विराटनगर, वीरगन्ज, हेटाैँडा, भैरहवा, नेपालगन्जलगायतका औद्योगिक क्षेत्रमा विद्युत् कटौती भइरहेको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयेस प्याकुरेलले पिक आवरमा उद्योगहरूको विद्युत् कटौती भइरहेको बताए । ‘विशेष गरी बिहान–बेलुका पिक आवरमा तीन–तीन घन्टा विद्युत् कटौती भइरहेको छ,’ उनले भने, ‘प्राधिकरणले लोडसेडिङ घोषणा गरेको छैन । तर, प्रत्येक साँझ फोन गरेर भोलिपल्ट पिक आवरमा विद्युत् कटौती हुने जानकारी दिँदै आएको छ र विद्युत् कटौती पनि भइरहेको छ ।’
यता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पिक आवरमा सामान्य विद्युत् कटौती भइरहेको बताए । ‘खोलामा पानीको वहाब (सतह) अत्यधिक घटेपछि विद्युत् उत्पादन पनि एकदमै घटेको छ । आगामी दिनमा पनि विद्युत् उत्पादन थप घट्न सक्छ,’ उनले भने, ‘भारतबाट पनि पर्याप्त मात्रामा विद्युत् पाउन सकिएको छैन । फलस्वरूप औद्योगिक क्षेत्रमा पिक आवरमा सामान्य विद्युत् कटौती गरेका छौँ । यसलाई सबैले स्वाभाविक रूपमा लिनुपर्छ ।’
नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाह (आरओआर)मा आधारित छन् । त्यस अवस्थामा बर्सातमा खोलामा पानी बढी हुँदा आयोजनाबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । त्यतिवेला भारतमा विद्युत् निर्यातसमेत गर्न सकिन्छ । तर, हिउँदमा भने खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि स्वतः घट्छ । तर, यसपालिको हिउँदमा विद्युत् उत्पादन अझ धेरै घटेको छ ।
सोहीअनुसार नेपालको बिजुली उत्पादन घट्दा आन्तरिक माग धान्न गत मंसिरदेखि नै भारतदेखि विद्युत् आयात गरिँदै आइएको छ । हाल नेपालको कुल विद्युत् जडित क्षमता २३ सय मेगावाट हाराहारी छ । नेपालको अधिकतम पिक डिमान्ड भने १६ सयदेखि १७ सय मेगावाट हाराहारी हुन्छ । तर, अहिले ११ सय मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । आन्तरिक माग पूर्ति गर्न भारतबाट ५–६ सय मेगावाटसम्म विद्युत् आयात गर्नुपर्छ । तर, भारतबाट चार सय मेगावाट हाराहारी मात्रै विद्युत् आयात हुने गरेको छ । त्यसैले विद्युत् कटौती गर्नुपर्ने बाध्यता भएको नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
आयातमा प्राविधिक कठिनाइ
प्राधिकरणले भारतको बिहारबाट प्रतियुनिट ६.१८ भारुमा पिपिए गरेर विद्युत् खरिद गर्दै आएको छ । अहिले त्यहाँबाट ९५ मेगावाटसम्म विद्युत् आयात भइरहेको छ । यसबाहेक भारतीय खुला बजारबाट प्रतिस्पर्धी दरमा पनि बिजुली खरिद गरिएको छ । तर, पछिल्लो समय भारतबाट पर्याप्त मात्रामा विद्युत् आयात गर्न केही कठिनाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बताउँछन् ।
भारतबाट विद्युत् आयात गर्ने ढल्केबर–मुजफ्फरपुरलगायतका प्रसारण लाइन छन् । भारतको खुला बजार र बिहारबाट आयात गरिने विद्युत् ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट नै ल्याइन्छ । खुला बजारबाट ल्याइने विद्युत् अन्य प्रसारण लाइनबाट ल्याउन सकिँदैन । साथै, बिहारले पनि अन्य प्रसारण लाइनबाट विद्युत् पठाउन मानेको छैन, फलस्वरूप पर्याप्त विद्युत् आयात गर्न नसकिएको उनको भनाइ छ । साथै, अहिले भारतमा विद्युत् उत्पादन घटेको छ । भारतमा कोइला पावर प्लान्ट बढी छन् । तर, पछिल्लो समय कोइलाको अभाव भएपछि भारतमा पनि विद्युत् उत्पादन कम भएको छ । भारतको उत्पादन घटेपछि मागअनुुसार विद्युत् नपाएको प्राधिकरणको भनाइ छ ।
यसलाई स्वाभाविक रूपमा लिनुपर्छ
कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
खोलानालामा पानीको वहाब (सतह) अत्यधिक मात्रामा घटेपछि विद्युत् उत्पादन पनि एकदमै घटेको छ । आगामी दिनमा पनि विद्युत् उत्पादन थप घट्न सक्छ । भारतबाट पनि पर्याप्त मात्रामा विद्युत् पाउन सकिएको छैन । फलस्वरूप औद्योगिक क्षेत्रमा पिक आवरमा सामान्य रूपमा विद्युत् कटौती गरेका छौँ । यसलाई सबैले स्वाभाविक रूपमा लिनुपर्छ । बर्खामा हामीले दुई महिनासम्म विद्युत् खेर फाल्यौँ । त्यसवेला उद्योगहरूले विद्युत् खोजेनन् । अहिले उनीहरूले पिक आवरमा एकछिन उद्योग नचाउँदा राजनीति गरिहाल्नुपर्ने ? अहिले स्वदेशी उत्पादन छैन । आयात गरौँ भने पनि प्रसारण लाइनको क्षमताले गर्दा पुग्दैन । त्यसमाथि मागेजति बिजुली पाएका छैनाैँ । यो समस्या सबैले बुझ्नुपर्छ ।
अघोषित लोडसेडिङ नगरौँ
सुयेश प्याकुरेल, अध्यक्ष, उद्योग संगठन मोरङ
जति विद्युत् आवश्यक पर्छ, त्यति नै प्रयोग गर्ने हो । तसर्थ, प्राधिकरणले बर्खामा विद्युत् खेर जान्छ भनेर तर्क गर्न सुहाउँदैन । तर, अहिले प्राधिकरणसँग नभएको विद्युत् मागेका छैनौँ । यो संकटमा हामी पनि सहयोग गर्न चाहन्छौँ । प्राधिकरणले दैनिक रूपमा भन्दा पनि निश्चित हप्ता वा महिनासम्म दैनिक यति घन्टासम्म विद्युत् कटौती हुन्छ भनेर औपचारिक रूपमा भन्नुपर्यो । त्यसपछि हामीले सोहीअनुसार नै उद्योग सञ्चालनको समयतालिका बनाउँछौँ । तर, प्राधिकरणले दैनिक विद्युत् कटौतीको सूचना दिँदा गाह्रो भएको छ ।