मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्पबाट भत्किएको घर । भूकम्पको धक्काले बझाङमा पनि क्षति पुगेको छ । 
गगन अयडी बाजुरा
२०७९ माघ ११ बुधबार ०६:१८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुदूरपश्चिममा साढे दुई महिनामा भूकम्पका दुई ठूला झड्का

ठूला भूकम्पको चेतावनीका रूपमा पनि लिनुपर्ने राष्ट्रिय भूकम्प मापन केन्द्रको भनाइ

Read Time : > 2 मिनेट
२०७९ माघ ११ बुधबार ०६:१८:००

मंगलबारको भूकम्पमा एकको मृत्यु, धेरै घर भत्किए

सुदूरपश्चिम प्रदेशमा साढे दुई महिनामा ठूला दुई भूकम्प गएका छन् । गत २२ कात्तिकमा साढे चार हजार निजी घर भत्काउने गरी गएको डोटी भूकम्पपछि मंगलबार बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले बाजुरा र बझाङका थुप्रै घरमा क्षति पुर्‍याएको छ । 

भूकम्पबाट बाजुराको गौमुल गाउँपालिका– २ की ३५ वर्षीया जमुना रोकायाको ज्यान गएको छ भने सुदूरपश्चिमका विभिन्न जिल्लामा भौतिक क्षति पुर्‍याएको जिल्ला संवाददाताहरूले जनाएका छन् । गाउँनजिकैको जंगलमा दिउँसो घाँस काट्ने वेला गएको भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

भूकम्पमा परेर दुईजना घाइते भएका छन् । जंगलमा भेडा चराइरहेका वेला भूकम्प जाँदा खसेको पहिरोमा परेर गौमुल गाउँपालिका– १ का रामदल बोहरा घाइते भएका प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए । 

हिमाली गाउँपालिका– ६ मा भूकम्प गएका वेला भाग्ने क्रममा आत्तिएर हुम्लाको ताजाकोट घर भई दिदीको घर आएकी सरिता नेपाली बेहोस भएकी थिइन् । उनको होस खुलेको र गाउँको स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपी थापाले बताए ।

बाजुरामा ५८ वटा घरमा क्षति पुगेको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यमध्ये १४ घर पूर्ण रूपमा भत्किएका छन् । त्यस्तै, ३६ घर चर्केर आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् भने तीनजना घाइते भएका छन् । बडीमालिका नगरपालिका– २ का चन्दा महत छानोको ढुंगा खसेर घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । 

‘क्षतिको यकिन विवरण आइसकेको छैन,’ बाजुराका डिएसपी सूर्यबहादुर थापाले भने, ‘कतिपय विकट क्षेत्रमा सञ्चार सम्पर्क हुन सकिरहेको छैन ।’ बडीमालिका, बुढीनन्दा, हिमाली, गौमुललगायत पालिकाका घरमा बढी क्षति भएको देखिएको उनले बताए । 

बझाङमा भूकम्पमा परी एकजना घाइते भएका छन् भने ३२ वटा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्प गएपछि आत्तिएर घरबाहिर निस्कन खोज्दा जयपृथ्वी नगरपालिका– ११ का हरिकृष्ण जोशीको बायाँ हात भाँचिएको छ । जिल्लाभरि ३२ वटा घरमा भूकम्पले क्षति पुर्‍याएको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए । 

घर भत्केर बाहिर बस्नुपर्ने अवस्था भने नरहेको उनले बताए । ‘कतिपय घरका भित्ता चर्केका छन् । सिमेन्ट उप्किएको छ,’ सूचना अधिकारी अवस्थीले भने, ‘बित्थडचिरलगायत हिमपात भएका केही पालिकामा सञ्चार सम्पर्क हुन सकेको छैन ।’ सदरमुकाम चैनपुरस्थित जयपृथ्वी नगरपालिकामा मात्रै १४ वटा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । चैनपुरमा रहेको सशस्त्र प्रहरी बस्दै आएको कृषि ज्ञान केन्द्रको भवन, जिल्ला अस्पताल, भवानी आधारभूत विद्यालयसहित व्यक्तिका घर र सुर्मा गाउँपालिकामा प्रहरी चौकी भवनमा क्षति पुगेको अवस्थीले जानकारी दिए । बाजुरा केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का सुदूरपश्चिमका अन्य जिल्लामा पनि महसुस गरिएको थियो । अन्य जिल्लामा भने कुनै क्षति भएको विवरण नरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

२२ कात्तिक राति २ बजेर १२ मिनेटमा डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको ज्यान गएको थियो भने आठजना घाइते भएका थिए । त्यसपछि २६ कात्तिक राति ८ बजेर १२ मिनेटमा बझाङको छान्ना केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बाजुरा केन्द्रबिन्दु भएर १० माघ दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्पले थप क्षति पुर्‍याएको छ । ‘पश्चिम केन्द्रबिन्दु भएर धेरै भूकम्प गइरहेका छन्, कात्तिक र मंगलबारको भूकम्प मध्यमस्तरको हो,’ राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले भने, ‘यसको अर्थ त्यस क्षेत्रमा भूकम्पीय शक्ति सञ्चित भएर बसेको छ, त्योभन्दा ठूला भूकम्पको चेतावनीका रूपमा पनि लिन सकिन्छ ।’