मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ १० मंगलबार २०:२९:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बागमती सरकारले भाेलि पूर्णता पाउने, अटाएनन् एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी 

Read Time : > 2 मिनेट
२०७९ माघ १० मंगलबार २०:२९:००

बागमती प्रदेश सरकारले भोलि बुधबार पूर्णता पाउने भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।

बैठकले मन्त्रालय घटाउन बनेको कार्यदलले मंगलबार नै बुझाएको प्रतिवेदनअनुसार प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णयसमेत गरेको मन्त्री थपालियाले जानकारी दिए।

‘प्रदेशको मन्त्रिपरिषद्ले भोलि बुधबार पूर्णता पाउँदै छ। हामी सरकारलाई पूर्णता दिने विषयमा सहमत भइसकेका छौँ। मन्त्रालयको संख्या घटाउन कार्यदलले दिएको सुझावअनुसार प्रदेशमा ११ वटा मन्त्रालय रहने निर्णय पनि गरेका छौँ,’ मन्त्री थपलियाले भने।

बुधबार पूर्णता पाउने मन्त्रिपरिषदमा ८ जना नयाँ मन्त्री नियुक्त गरिने उनको भनाइ छ। दलहरूभित्र आन्तरिक छलफल गरी बुधबार दिउँसो २ बजेपछि नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ तय गरिएको पनि उनले जानकारी दिए। मन्त्री थपलियाका अनुसार प्रदेशमा नेकपा एमालेले ५, माओवादीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने सहमति भएको छ। 

कुन मन्त्रालय कसले पाउने भन्ने विषय भने अझै पनि छलफलकै चरणमा रहेको मन्त्री थपलियाले बताए। उनले गठबन्धनको सरकार भएकाले सहमति र सहकार्य गरेर जाने भएकाले कुन मन्त्रालय कसले लिने भन्ने विषयमा खासै समस्या नरहेको दाबी गरे। 

तर, यसअघि पौष २६ गते मुख्यमन्त्रीमा जम्कट्टेलसँगै एमालेका तर्फबाट संसदीय दलका नेतासमेत रहेका थपलियाले आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा शपथ लिँदा मन्त्रालयको भागबन्डा नमिलेको भन्दै राप्रपाका संसदीय दलका नेतासमेत रहेका उद्धव थापाले विना विभागीयमन्त्रीका रूपमा शपथ लिएका थिए। उनले भौतिक पूर्वाधार तथा योजना मन्त्रालय पाउनुपर्ने दाबी गरेका थिए। 

यस्तै, मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशमा विद्यमान आर्थिक संकटलाई मध्यनजर गर्दै मन्त्रालयगत रूपमा हुने खर्च कटौती गर्न अध्ययनका लागि तीनसदस्यीय कार्यदल गठन गरेको छ। 

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको संयोजकत्वमा गठित कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख सदस्य रहेका छन्। कार्यदलले १५ दिनभित्र प्रदेश मन्त्रिपरिषद्लाई आफ्नो प्रतिवेदन बुझाउनुपर्ने समय सीमासमेत तोकिएको छ। 

अटाएनन् एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी

बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने भए पनि माओवादीको नेता शालिकराम जम्कट्टेललाई मुख्यमन्त्रीमा समर्थन गरेका एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी भने सरकारमा नअट्ने भएका छन्।

गत पौष २५ गते एमाले, माओवादी, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहित ५ दलका ७० सांसदहरूको समर्थनमा प्रदेशको मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारमा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी भने नअट्ने भएका हुन्। 

मंगलबारको मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बागमती प्रदेश सरकारमा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई समेट्न नसकिने बताएका हुन्।

उनले मन्त्रिपरिषदमा ३ वटा दलको मात्र सहभागिता रहने जानकारी दिए। उनका अनुसार प्रदेश सरकारमा माओवादी केन्द्र, एमाले र राप्रपा मात्र सहभागी हुनेछन्। मुख्यमन्त्रीको प्रस्ताव विनासर्त स्वीकार गरेको हाम्रो नेपाली पार्टीले अहिले आएर सरकारमा भाग खोजेको भन्दै मन्त्री थपलियाले तत्काल उसलाई सरकारमा समेट्न सक्ने अवस्था नरहेको बताए। 

यस्तै, एकीकृत समाजवादीका विषयमा भने आफूलाई केही थाहा नभएको मन्त्री थपलियाको भनाइ छ। प्रदेशमा एसका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। 

यसअघि नयाँ पत्रिकासँग कुरा गर्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई पनि सरकारमा समेटेर जाने विषयमा छलफल भइरहेको बताएका थिए। 

उनले अन्य कुरामा सत्तागठबन्धन दलहरूबीच सहमति भए पनि एकीकृत समाजवादीलाई सरकारमा समेट्ने विषयमा भने एमाले र राप्रपा सहमत हुन नसकेको बताएका थिए। 
मुख्यमन्त्री जम्कट्टेलका अनुसार सभामुख र उपसभामुखमा तटस्थ बसेको एकीकृत समाजवादीलाई सरकारमा सँगै लिएर जाने विषयमा एमाले र राप्रपाले असहमति जनाएका हुन्। 

एमाले र राप्रपाले आफ्ना सभामुख र उपसभामुखका उम्मेदवारहरुलाई समर्थन नगर्ने एकीकृत समाजवादीलाई सरकारमा सँगै लान नसकिने तर्क गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए।