
दादुराविरुद्धको खोप नलगाएका कारण बाँकेका बालबालिकामा दादुरा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
दुई सय ५१ दादुरा संक्रमित बालबालिकाको विश्लेषण गर्दा खोप नलगाएका एक सय १८ बालबालिकामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताइन्।
खोप लगाएको–नलगाएको थाहा नभएको २५ जना अभिभावकले बताएको र एक सय आठजना खोप लगाएका बालबालिका भएको बताइन्।
‘खोपप्रति विश्वास नभएको र सामाजिक एवं धार्मिक अन्धविश्वासका कारण खोप नलगाएको देखिन्छ,’ उनले भनिन्, ‘खोप नलगाएकै कारण दादुरा संक्रमण भएको यकिन गर्न सकिन्छ।’
दादुरा पुष्टि भएका बालबालिकाको जातिगत विवरण पनि स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै ८३ प्रतिशत मुस्लिम बालबालिकामा दादुरा पुष्टि भएको छ।
त्यसैगरी, दलित, मधेसी र जनजातिका पाँच–पाँच प्रतिशत तथा एक प्रतिशत बाहुन, क्षेत्री बालबालिकामा दादुरा पुष्टि भएको छ। ‘पहिलो चरणमा बाहुन, क्षेत्री बालबालिकामा दादुरा संक्रमण कम देखिएको थियो, तर अहिले यो समुदायमा पनि संक्रमण बढेको छ,’ उनले भनिन्।
दादुरा संक्रमण हुनेमा पाँच वर्षभन्दा माथिका धेरै रहेको जनस्वास्थ्य प्रमुख पौडेलले बताइन्। उनले पाँच वर्षमाथिका एक सय ३६ बालबालिकामा दादुरा पुष्टि भएको बताइन्।
त्यसैगरी, दुई–पाँच वर्ष उमेर समूहका ७०, १५ महिनादेखि दुई वर्षका १८, ९–१५ महिनाका १५ र ९ महिनाभन्दा कम उमेरका १२ बालबालिकामा दादुरा पुष्टि भएको छ। ‘दादुरा पुष्टि हुनेमा सानोभन्दा ठूलो उमेरका बालबालिका धेरै छन्,’ उनले भनिन्।
बाँकेको नेपालगन्ज, खजुरा, डुडुवा र नरैनापुरमा दादुरा–रुबेलाविरुद्धको खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालयका खोप अधिकृत नरेशबाबु श्रेष्ठले बताए। उनले ८९ हजार ४५८ लक्षित समूहमध्ये ९ माघसम्म ७९ हजार ९३५ बालबालिकालाई खोप दिइएको बताए।
दादुरा फैलिएको पालिकामा ८९.४ प्रतिशत खोप प्रगति भएको छ। खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउने अभियान जारी छ,’ उनले भने। दादुराका कारण नेपालगन्ज उपमहानगरपालिका ५ का ३१ महिने एक बालकको मृत्यु भएको छ।