१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार काठमाडाैं
२०७९ माघ १० मंगलबार ०८:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारतमा दुई नेपाली युवाको हत्या : प्रहरीले अपहरणमुक्त गराउन बेवास्ता गरेको भन्दै प्रदर्शन

Read Time : < 1 मिनेट
हदिश खुद्दार, काठमाडाैं
२०७९ माघ १० मंगलबार ०८:५१:००

भारतको बिहार मामाघर गएका जनकपुरधामका दुई युवाको अपहरणपश्चात् हत्या भएपछि मृतकका परिवारजन र स्थानीय प्रदर्शनमा उत्रिएका छन् । जनकपुरधामको पिडारी चोकमा सोमबार दिनभर चक्काजाम गरी प्रदर्शन गरेका उनीहरूले गृहमन्त्री रवि लामिछानेको राजीनामासमेत मागेका छन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय धनुषा घेराउसमेत गरे । 

अपहरणको सूचना दिँदा पनि प्रहरीले अपहरणमा परेकालाई मुक्त गराउन बेवास्ता गरेकाले दुई युवाको ज्यान गएको भन्दै उनीहरूले संलग्न दोषी प्रहरीमाथि छानबिन र कारबाहीमोसमेत माग गरेका छन् । गत २७ पुसमा जनकपुरधाम उपमहानगरपालिका– ८ का २० वर्षीय विष्णुकुमार साह र २२ वर्षीय रोहितकुमार साहको भारतको बिहार राज्यस्थित सीतामाढीको परिहार मामाघर गएका वेला अपहरण भएको थियो । अपहरणको १२ दिनपछि आइतबार हत्या गरी बोरामा बाँधेर जमिनमा गाडिएको अवस्थामा उनीहरूको शव बरामद भएको थियो ।

अपहरणपश्चात् फिरौती माग्दै अपहरणकारीले फोन गरेको सम्बन्धमा तत्कालै प्रहरीलाई खबर गरिएको तथा प्रत्येकपटक अपहरणकारीको फोन रेकर्ड गरेर प्रहरीलाई पठाउने गरेको भए पनि प्रहरीबाट अपहरणमुक्त गराउने कुनै प्रयास नभएको पीडितहरूको आरोप छ । प्रहरीले विष्णु र रोहितको अपहरणपश्चात् खोजतलासमा सहयोग नगरेको मात्र नभई घटनालाई मोड्न अनेकपटक अनेक बहाना बनाएको गम्भीर आरोपसमेत उनीहरूले लगाएका छन् । 

प्रहरीकै लापरबाहीले गर्दा उनीहरूको हत्या भएको परिवारजनको आरोप छ । घटनाको अनुसन्धानको नाममा प्रहरीले आफूहरूबाट पटक–पटक पैसा लिएको पनि परिवारजनले आरोप लगाएका छन् । अपहरणमा परेको दुई दिनपछि नै शंकास्पद व्यक्तिलाई पक्राउ गर्न पटक–पटक आग्रह गरे पनि प्रहरीले आनाकानी गरेको र पछि सोही व्यक्तिलाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको विष्णुका पिता गणेश साहले बताए । धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले भने प्रहरीबाट घटनाको अनुसन्धानमा कुनै प्रकारको कमजोरी नभएको दाबी गरेका छन् ।