१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश सुवेदी काठमाडौं
२०७९ माघ ९ सोमबार १०:३७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्यान र सेभेन थ्रीबीचको सम्झौता प्रक्रियागत भएन : राखेप

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
२०७९ माघ ९ सोमबार १०:३७:००

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छानबिन कार्यदल समितिले नेपाल टी–२० लिग आयोजनाको मुख्य सम्झौता नै प्रक्रियागत नभएको निष्कर्ष निकालेको छ । नेपाल क्रिकेट संघ (क्यान) आफैँले पहिलोपटक आयोजना गरेको प्रतियोगिताको मुख्य प्रायोजक भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई बनाएको थियो । क्यानले भारतीय कम्पनीसँग गरेको सम्झौता राखेप ऐनअनुरूप नभएको निष्कर्ष छानबिन कार्यदलले निकालेको हो ।

‘हामी सबैलाई थाहा भएको कुरा हो, क्यान र भारतीय कम्पनीबीच भएको सम्झौता प्रक्रियागत छैन,’ राखेप कार्यदल समितिका एक सदस्यले नयाँ पत्रिकालाई भने, ‘सुरुबाटै मुख्य सम्झौता, खेलाडी श्रमस्वीकृतिको विषय विवादमा आए । त्यो नै प्रक्रियागत नभएको हामीले पाएका छौँ ।’ उनका अनुसार क्यान र सेभेन थ्री स्पोर्टस्बीचको सम्झौता राष्ट्रिय खेलकुद विकास ऐन २०७७ भएको छैन । 

क्यानले नेपाल टी–२० लिग आयोजना गर्दा भारतीय कम्पनीलाई व्यापारिक तथा रणनीति साझेदारीका रूपमा अनुबन्ध गरेको थियो । लिग चलिरहँदा नै स्पट फिक्सिङ र म्याच फिक्सिङ भइरहेको खेलाडीदेखि कमेन्टेटरसम्मले खुलासा गरेका थिए । त्यसपछि २० पुसमा राखेपको बोर्ड बैठकले एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन कार्यदल गठन ग¥यो । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन छ । कार्यदलको आइतबार (८ माघ) अन्तिम दिन हो । 

यसबीच सार्वजनिक बिदाका कारण कार्यदलले थप पाँच दिन काम गर्न समय पाएको छ । कार्यदलले तयार पारेको ६० पृष्ठको प्रतिवेदन मंगलबार राखेपलाई बुझाउनेछ । त्यही दिन नै प्रतिवेदन सार्वजनिक हुने कार्यदलका संयोजक कुँवरले नयाँ पत्रिकालाई जानकारी दिए । ‘हामीले तयार पारेको ६० पृष्ठको प्रतिवेदनमा के–के छ, पत्रकार सम्मेलन गरेर नै बुझाउँछौँ,’ कुँवरले भने । अहिले प्रतिवेदनलाई अन्तिम खाका दिने प्रयास भइरहेको छ । यसबीच केही तल–माथि हुन सक्ने उनको भनाइ छ । 

क–कसले बयान दिए ?
कार्यदलले १२औँ दिनसम्म आफ्नो बयान जारी राखेको थियो । यसक्रममा टी–२० लिग प्रतियोगितासँग सरोकार राख्ने आठजना खेलाडी, चारजना विज्ञ र क्यानका पाँच पदाधिकारीसँग कार्यदलले बयान लिएको थियो । यसक्रममा पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल बयान दिन गए । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, प्रदीप ऐरीलगायतसँग कार्यदलले बयान लिएको थियो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, क्यानका निवर्तमान सचिव अशोक प्याकुरेल, कोषाध्यक्ष रोशनबहादुर सिंह र पूर्वकप्तान एलबी क्षेत्रीसँग पनि बयान लिएको थियो । यसैगरी, पूर्वप्रशिक्षक जगत टमाटा, क्यानका क्रिकेट म्यानेजर विनोद दास, महाप्रबन्धक वृतान्त खनाल र कमेन्टेटर सचिन तिमिल्सिनासँग पनि कार्यदलले बयान लिएको थियो ।

तीन पक्षबाट छानबिन
टी–२० लिगमा विवाद बढ्दै गएपछि आइसिसीको एन्टिकरप्सन टोलीका सिनियर इन्टिग्रिटी अफिसर एन्ड्रयु एफग्रेभ र सन्नी अनुसन्धान गर्न नेपाल आए । दुई सदस्यीय आइसिसीको टोलीले प्रतियोगितासँग जोडिएका सम्पूर्णसँग जानकारी लिएर फर्किए । नेपाल टी–२० लिगलाई अहिले तीन पक्षले छानबिन गरिरहेका छन् । आइसिसी र राखेपसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन जारी राखेको छ ।  १८ पुसमा भारतीय कम्पनीका मालिक जतिन अहुवालिया सुरक्षाको कारण देखाउँदै कसैलाई जानकारी नदिई भारत लागे । खेलाडीले समयमै पारिश्रमिक नपाएको र सहभागी टोलीका मालिक सम्पर्कमा नआउँदा खेलाडीले खेल नै खेल्न मानेनन् ।

मोन्टीलाई मुख्य प्रशिक्षक बनाउने तयारी
राष्ट्रिय क्रिकेट टोलीमा रिक्त रहेको मुख्य प्रशिक्षकमा भारतीय नागरिक मोन्टी देसाईलाई नियुक्ति गर्ने तयारी क्यानले गरेको छ । गत मंसिरमा मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोलीको मुख्य प्रशिक्षक रिक्त छ । क्यानले मुख्य प्रशिक्षक चयनका लागि दरखास्त आह्वान गरेको थियो । क्यानले आएका २५ आवेदनबाट पाँच प्रशिक्षकलाई सर्ट लिस्टमा राखेको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केही दिनमै नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक नियुक्त हुने बताए ।