मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ ८ आइतबार ०६:३४:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

२७६ प्रतिशतले बढ्यो डिजिटल ठगी

डिजिटल कारोबार गर्नेहरू बढेसँगै ठगी धन्दा चलाउने पनि त्यही प्लेटफर्ममा प्रवेश, ०७८/७९ मा २८ करोड ९ लाख ४२ हजार ठगी भएको थियो, तर चालू आवको पाँच महिनामै साढे ३२ करोड ठगी

Read Time : > 5 मिनेट
२०७९ माघ ८ आइतबार ०६:३४:००

डिजिटल कारोबार गर्नेहरू बढेसँगै अनलाइनमार्फत हुने वित्तीय अपराध पनि बढ्दै गएको छ । चालू आर्थिक वर्षको मंसिरसम्म पाँच महिनामै डिजिटल प्लेटफर्ममार्फत ३२ करोड ३८ लाख ३१ हजार ठगी भएको छ । पाँच महिनाको यो तथ्यांक अघिल्ला तीन वर्षको कुल ‘डिजिटलाइज्ड’ ठगीभन्दा पनि धेरै हो । ०७६/०७७ देखि ०७८/७९ सम्म तीन वर्षमा ३१ करोड २४ लाख ७२ हजार ठगी भएको थियो ।

नेपाल प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै क्रिप्टोकरेन्सीको नाममा र ह्याकिङबाट ठगी भएको छ । त्यस्तै, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल, अनलाइन बैंकिङ, अनलाइन सपिङ, अनलाइन पेमेन्टलगायत माध्यमबाट ठगी भएको प्रहरीले जनाएको छ । ०७६/७७ यता प्रहरीमा ‘डिजिटलाइज्ड’ ठगीका १४ सय २९ उजुरी परेका छन्, जसमा १८६ उजुरी अदालती (मुद्दा) प्रक्रियामा अघि बढेको छ । नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता पशुपतिकुमार रायले सबै उजुरी मुद्दाका रूपमा अघि बढाउन योग्य नहुने बताए । ‘अनलाइनमार्फत हुने वित्तीय अपराधका सबै उजुरी मुद्दाको रूपमा अघि बढाउन योग्य हुँदैनन् । कतिपय ठगीको रकम प्रहरीमै फिर्ता हुन्छ, कतिपय उजुरीमा प्रमाण पुग्दैन,’ उनले भने, ‘त्यसैले उजुरीको तुलनामा मुद्दाको संख्या कम भएको हो ।’ 

इन्टरनेटको प्रयोग बढे पनि त्यसअनुसार सचेतना नहुँदा अनलाइन ठगी बढेको सरोकारवाला बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राई भुक्तानीसम्बन्धी प्रणाली बलियो र सुरक्षित नबनाउँदा पनि यस्तो समस्या आएको बताउँछन् । ‘अनलाइनमार्फत जोसँग पनि सजिलै पहुँच पुर्‍याउन सकिने भयो ।

पहुँच पुगेपछि विभिन्न माध्यम तथा बहानामा सजिलै रकम ठगी गर्ने गरेको पाइन्छ,’ उनले भने, ‘पछिल्लो समय अनलाइन बैंकिङ तथा भुक्तानी बढे पनि यसलाई सुरक्षित बनाउन सञ्चार मन्त्रालय, गृह मन्त्रालय, राष्ट्र बैंक, बैंक तथा वालेट कम्पनीहरूको आवश्यक ध्यान गएको छैन । यसले पनि डिजिटलाइज्ड अपराध बढेको छ । सम्बन्धित पक्षले यसमा ध्यान दिनुपर्छ । आममान्छेमा पनि अनलाइन ठगीबारे सचेतना जगाउनुपर्छ ।’ साइबर ब्युरोका प्रवक्ता राय पनि आफूहरूले सचेतना बढाउने गरी काम गरे पनि आमसर्वसाधारण त्यसप्रति गम्भीर नबँदा पनि ठगी बढेको दाबी गर्छन् । 

कुन वर्ष कति उजुरी, कति ठगी ?
०७६/७७ देखि ०७९/८० को मंसिर मसान्तसम्म डिजिटल प्लेटफर्ममार्फत ठगी भएको भनेर १४ सय २९ उजुरी परेका छन् । जसमध्ये सबैभन्दा धेरै गत आर्थिक वर्ष ०७८/७९ मा सात सय १४ उजुरी परेका थिए । सो वर्ष २८ करोड नौ लाख ४२ हजार ठगी भएको प्रहरी तथ्यांक छ । त्यस्तै, चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै ६ सय ६ उजुरी परेकामा ३२ करोड ३८ लाख ३१ हजार ठगी भएको उल्लेख छ । ०७६/७७ र ०७७/७८ मा क्रमशः ६९ र ४० उजुरी परेकामा ६९ लाख ६५ हजार र दुई करोड ४५ लाख ६९ हजार ठगी भएको छ । तथ्यांकअनुसार अनलाइनमार्फत हुने ठगीको आकार दुई वर्षयता बढेको देखिन्छ । 

कुन माध्यमबाट कति ठगी ?
ह्याक, क्रिप्टोकरेन्सीलगायत नाममा सबैभन्दा धेरै रकम ठगी हुने गरेको छ । तीन वर्ष पाँच महिनामा यसमा मात्रै ५८ करोड ४९ लाख ७१ हजार ठगिएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै ३२ करोड ३८ लाख ३१ हजार ठगी भएकोमा ९७ प्रतिशत अर्थात् ३१ करोड ३९ लाख त ह्याक र क्रिप्टोकरेन्सीबाट मात्रै छ । बैंक खाता र वालेट अकाउन्ट ह्याक गरेर तथा क्रिप्टोकरेन्सी, बिटक्वाइन र गेमिङमार्फत ठूलो रकम ठगी भएको प्रहरी बताउँछ । 

त्यस्तै, सामाजिक सञ्जालमार्फत तीन वर्ष पाँच महिनामा दुई करोड दुई लाख ठगिएकोमा चालू वर्षको पाँच महिनामा २० लाख ६ हजार, लट्रीका नाममा ९५ लाख ५८ हजारमध्ये चालू वर्षको पाँच महिनामा चार लाख ८६ हजार ठगिएका छन् । अनलाइन सपिङबाट उल्लेखित कुल अवधिमा ६२ लाख १४ हजार ठगी भएकोमा चालू आवको पहिलो पाँच महिनाको हिस्सा एक लाख ७८ हजार रहेको प्रहरीले जनाएको छ । 

अनलाइन बैंकिङबाट तीन वर्षमा पाँच महिनामा ५४ लाख ४५ हजार ठगी भएकोमा पछिल्लो पाँच महिनाको मात्रै अंक १७ लाख तीन हजार छ । यस्तै, अघिल्ला तीन वर्ष कुनै ठगी नभएको स्पामबाट चालू आवको पाँच महिनामा मात्रै ५४ लाख १० हजार ठगी भएको प्रहरी तथ्यांक छ । 

इसेवा–खल्तीजस्ता वालेटमार्फत ४४ लाख २२ हजार ठगी भएकोमा पछिल्लो चालू आवको पाँच महिनाको हिस्सा एक लाख १० हजार छ । त्यस्तै, फेक आइडीबाट चार लाख तीन हजार र स्काममार्फत तीन लाख दुई हजार ठगी भएकोमा पछिल्लो पाँच महिनामा भने यस्तो ठगीसम्बन्धी कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ । 

प्रहरीको परामर्श सुनेर उल्टै ठगी, विदेशी पनि संलग्न
प्रहरीले अनलाइनमार्फत हुने ठगीबारे सर्वसाधारण तथा उजुरीकर्तालाई परामर्श पनि दिने गर्छ । तर, कतिपयले सोही परामर्शको आधारमा अनलाइन ठगीकै धन्दा चलाएको प्रहरी बताउँछ । ‘केही व्यक्तिहरूले हाम्रो परामर्शको गलत रूपमा प्रयोग गरे । उनीहरू उजुरी गर्न प्रहरी कार्यालयमै आए । हामीले ठगी कसरी हुन्छ भनेर जानकारी दियौँ,’ प्रहरीका एक उच्च अधिकारीले भने, ‘हामीबाट जानकारी लिएपछि तिनै व्यक्ति उल्टै सोही धन्दामा सक्रिय भए । त्यसपछि हामीले यससम्बन्धी सबै जानकारी सार्वजनिक गर्न पनि छाड्यौँ । अनलाइन वित्तीय अपराधमा विदेशीसमेत संलग्न रहेको प्रहरी बताउँछ । 

विदेशबाटै ठगीमा संलग्नलाई पक्राउ र रकम फिर्तामा चुनौती
प्रविधिमार्फत गरिने ठगीमा सम्बन्धित अभियुक्तलाई पक्राउ गर्न पनि चुनौती हुने गरेको छ । अभियुक्तले एकपटकमा कुनै निश्चित ठाउँमा बसेर ह्याकिङलगायतका क्रियाकलाप गरेका हुन्छन्, जुन लोकेसन पत्ता लगाउन प्रहरीलाई तीन दिन लाग्छ । तर, तीन दिनसम्म सम्बन्धित अभियुक्तले लोकेसन नै परिवर्तन गर्ने गरेको प्रहरी बताउँछ । नेपालबाहेक अन्य देशबाट गरिने ठगीमा त पक्राउ गर्नै नसकिने प्रहरीको भनाइ छ । नेपालबाटै ठगिएको रकम फिर्ता गर्न सकिने भए पनि विदेशबाट ठगिएको रकम फिर्ता गर्न नसकिएको प्रहरी प्रवक्ता राईले बताए । ‘नेपालदेखि हुने ठगीमा ८० प्रतिशतसम्म फिर्ता हुने गर्छ । तर, विदेशबाट भएको ठगीको रकम फिर्ता गर्न सकिएको छैन,’ उनले भने । 

के गर्दै छ राष्ट्र बैंक ? 
अनलाइन माध्यमबाट ठगी बढेपछि राष्ट्र बैंकले पनि रोकथामका गतिविधि गर्दै आएको छ । विशेष गरी बैंक तथा वित्तीय संस्था, वालेट कम्पनी र भुक्तानी प्रणाली सञ्चालकहरूलाई फिचर्स तथा प्रडक्टको क्षमता बढाउन र सुरक्षित बनाउन जोड दिँदै आएको छ । त्यस्तै, राष्ट्र बैंकको वेबसाइटमै यस्ता गुनासा गर्न ‘गुनासो पोर्टल’को व्यवस्था गरिएको छ । 

‘राष्ट्र बैंकले आफ्नो वेबसाइटमा ‘गुनासो पोर्टल’को व्यवस्था गरेर ग्राहकले ठगीसम्बन्धी उजुरी दिन सक्ने व्यवस्था मिलाएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरू र वालेट कम्पनीमा टोल फ्री नम्बरलगायत माध्यमबाट ग्राहकका समस्या सुन्ने व्यवस्था पनि गरिएको छ,’ राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेलले भने, ‘राष्ट्र बैंकले अनलाइनमार्फत हुने ठगी नियन्त्रण गर्न बैकिङ शिक्षा, लघुनाटक, जिंगललगायतका सामग्री पनि प्रकाशन तथा प्रसारण गर्दै आएको छ । त्यसले अवारनेसमा राम्रो सहयोग पुगेको छ । आगामी दिनमा पनि यस सम्बन्धमा आवश्यक काम गर्नेछौँ ।’

 यसरी हुन्छ अनलाइनबाट ठगी
पछिल्लो समय फेसबुक, ट्विटर, टिकटकजस्ता सामाजिक सञ्जाल ह्याक गरेर नजिकका साथीहरू पहिचान गरी पैसा माग्ने गरेको पाइन्छ । साथै, कुनै परिचित मान्छेको नाममा छुट्टै आइडी बनाएर नजिकका आफन्त पहिचान गरी रकम माग्ने गरेको पनि प्रहरी भनाइ छ । त्यस्तै, आपराधिक समूहले विभिन्न माध्यमबाट अनलाइन बैंकिङ तथा वालेटको युजर आइडी पत्ता लगाउँछन् । प्रयोगकर्तालाई नै फोन गरी आफू सम्बन्धित बैंक तथा वालेट कम्पनीबाट भएको परिचय दिन्छन् । त्यसपछि प्रयोगकर्तासँग आवश्यक विवरण मागेर उसको खाताबाट रकम ठगी गर्ने गरेको प्रहरी बताउँछ । 

पुरस्कार तथा लटरी पर्‍यो भनेर पनि ठगी गर्नेको संख्या बढ्दै गएको छ । ह्वाट्सएप तथा फेसबुकको माध्यमबाट लटरी परेको सूचना पठाउने र पैसा पाउनुअघि कर चुक्तालगायत प्रयोजनका लागि भनेर उल्टै पैसा मागी सम्पर्कविहीन हुने गरेका घटना छन् । साथै, बैंक खातालगायत व्यक्तिगत विवरण मागेर पैसा तान्ने गरेको पनि प्रहरीले जनाएको छ । 

धेरै आर्थिक लाभको आशा देखाउँदै क्रिप्टोकरेन्सी र बिटक्वाइनमा लगानी गर्न लगाउने, रकम माग्ने र सम्पर्कविहीन हुनेजस्ता ठगीका उजुरी पनि प्रहरीमा आएका छन् । केही व्यक्ति र आपराधिक समूहले प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदिमा भिडियो कल गरेर आफैँले अश्लील क्रियाकलाप देखाई सम्बन्धित व्यक्तिलाई पनि अश्लील क्रियाकलाप गर्न उक्साउने गर्छन् । त्यसपछि प्रयोगकर्ताको अश्लील क्रियाकलाप रेकर्ड गर्ने र पछि सोही भिडियो सार्वजनिक गर्ने धम्की दिएर बारम्बार पैसा माग्ने गरेको प्रहरीको भनाइ छ । 

व्यक्तिगत विवरण कसैलाई नदिनू, सामाजिक सञ्जालमा  आउने जथाभावी लिंक नखोल्नू
सञ्जीव सुब्बा, सिइओ,  नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)

इन्टरनेट र प्रविधिको विकाससँगै मोबाइल बैंकिङ, डिजिटल वालेट र सामाजिक सञ्जालको प्रयोग नेपालमा पनि बढेको छ । ठगी गर्ने गिरोहले फेसबुक, ह्वाट्सएप, भाइबरलगायतलाई माध्यम बनाएर उपभोक्तासँग पहुँच बढाएका छन् । प्राकृतिक रूपमा मानिसको स्वभाव नै लोभी हुन्छ, त्यही भावनालाई बुझेर ह्याकरहरूले चिट्ठा, क्यास रिवार्डको प्रलोभन देखाई व्यक्तिगत विवरण माग्छन् । यस्तो प्रस्ताव आउँदा बुझ्न जरुरी छ कि कसैले पनि सित्तैमा केही दिँदैन । सामाजिक सञ्जालमा आउने चिट्ठा झुटो हो । 

ठगी गिरोहले विभिन्न प्रलोभन देखाएर सामाजिक सञ्जालमा लिंकहरू पठाएका हुन्छन् । त्यस्ता लिंक खोल्नेबित्तिकै प्रयोगकर्ताको व्यक्तिगत विवरण उनीहरूसम्म पुग्छ । त्यसैले जथाभावी आउने लिंक खोल्नुहुँदैन । कतिपय एप्सहरू इन्स्टलमेन्ट गर्नेबित्तिकै मोबाइल ह्याक हुन्छ, मोबाइलमा भएका सम्पूर्ण विवरण ह्याकरको हातमा पुग्छ ।

त्यस्तै, पछिल्लो समय सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिने प्रचलन बढेको छ, जुन ह्याकरका लागि ठूलो सुराक हो । कतिपयले मोबाइल बैंकिङलगायत उपकरणको सेक्युरिटी फिचरमा समेत जन्मदिन राखेका हुन्छन् । कतिपयले जन्ममिति नै पिनकोड राखेका हुन्छन् । यस्तो विवरण बाहिरिनासाथ बैंकको खातामा ह्याकरको पहुँच पुग्छ । 

कतिपयले नागरिकता नै सामाजिक सञ्जालमा सार्वजनिक गर्छन्, जुन गम्भीर कमजोरी हो । ह्याकरले नागरिकता पाएपछि त्यसैबाट सिमकार्ड झिक्छ । सोही मोबाइल नम्बर र नागरिकता लगेर बैंकमा खाता खोल्छ । सोही नामबाट फेसबुक आइडी बनाएर सम्बन्धितको आफन्तसँग पैसा माग्छ ।

ओटिपीसमेत सोही नम्बरमा आउँछ । यसरी कुनै एक व्यक्तिको नामको बैंक खाताबाट अज्ञात व्यक्तिले अवैध कारोबार गरिरहेको हुन्छ । यस्तो कसुरमा कानुनी प्रक्रिया अघि बढ्यो भने नागरिकतावालाले नै सजाय भोग्नुपर्छ, कसुर गर्ने व्यक्तिले होइन । त्यस्तै, सामाजिक सञ्जालमा फेक आइडी बनाएर म्यासेन्जरबाट पैसा मागेका घटना पनि धेरै छन् । फोन गरेर सक्कली व्यक्ति हो कि ठग हो पहिचान गर्नुपर्छ ।