१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ७ शनिबार
  • Sunday, 11 May, 2025
२o७९ माघ ७ शनिबार २o:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्दिरा रानामगर : भुइँमान्छेको संरक्षणदेखि सदनकाे नेतृत्वसम्म

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ७ शनिबार २o:१६:oo

कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बनेकी छिन्। झापाको अर्जुनधारा–११ सालबाडीनिवासी उनको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन्। 

जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन्।

जीवनका ५२ वर्षे उकाली–ओराली बिताइसकेकी उनलाई आज प्रतिनिधिसभाको बैठकले उपसभामुख पदमा निर्वाचित गर्यो। अब उनी कैदीबन्दीका छोराछोरीहरूको मात्र नभएर ‘संसद्कै नेतृत्व’ गर्ने महत्वपूर्ण जिम्मेवारीमा पुगेकी छिन्। 

बुवा स्व. प्रताप रानामगर र आमा स्व मनमाया रानामगरको कान्छी सुपुत्रीका रूपमा विसं २०२७ मा झापाको अर्जुनधारामा जन्मिएकी रानामगर  २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाडौंमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी थिइन्। 

उनलाई यसका लागि प्रसिद्ध साहित्यकार पारिजातले प्रेरणा दिएकी थिइन्। घर छाडेर काठमाडौंमा पढ्न जाँदा उनलाई पारिजातले नै संरक्षण प्रदान गरेकी थिइन्। 

अर्जुनधाराको महारानीगन्ज प्राथमिक विद्यालयको कक्षा ४ मा १२ वर्षको उमेरमा भर्ना भएर उनले औपचारिक शिक्षा प्रारम्भ गरेको उनका दाजु जगत रानामगरले बताए। उनले समाजशास्त्रमा स्नातकोत्तर तहको शिक्षा प्राप्त गरेकी छिन्। उनकी एउटी छोरी सुबिना राना छिन्।  

पारिजातले सञ्चालन गरेको मानवअधिकारवादी संस्थामा उनले स्वयंसेवक बनेर मानवीय सेवाको थालनी गरेकी थिइन्। पारिजातसँगै कारागार जाँदा उनले कैदीबन्दीका दुःख र पीडा मात्र नभएर तिनका सन्तानको अलपत्र अवस्थाले उनलाई त्यतातिर तान्यो। 

उनले बन्दी सहायता नेपालमार्फत झापा, पाल्पा, काठमाडौंलगायत स्थानमा बाल संरक्षणगृह सञ्चालन गरेकी छिन्। तिनीहरूलाई पढाउन दुईवटा प्राथमिक विद्यालय सञ्चालन गरेको झापाको जुनकिरी प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले जानकारी दिइन्। 

बन्दी सहायता नेपाल (पिए नेपाल)की अध्यक्ष इन्दिरा राना राजनीतिमा लागेको धेरै भएको छैन। उनी लगातार बालअधिकार र मानवीय सेवामा लाग्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गठन हुँदासमेत उनी कुनै पार्टीमा थिइनन्। 

रास्वपाका अध्यक्ष रवि लामिछानेले समाजसेवाबाट राजनीतिमा आउन आग्रह गर्दा उनी सुरुमा अलमलिएकी थिइन्। भुइँमान्छेको सेवामा लागिरहेको हुँदा राजनीतिमार्फत पनि समाजसेवा नै हुने कुरामा सहमत भएपछि उनी राजनीतिमा होमिएको बताइन्। 

छोटो अवधिमै रास्वपाले उनलाई समानुपातिक सिटबाट सांसद निर्वाचित गर्यो। अब उनी  जिम्मेवारी सांसदबाट धेरैमाथि उक्लिएर संसद्कै अभिभावक अर्थात् उपसभामुख तहमा पुगेकी छिन्। 

सन् २००० मा बन्दी सहायता नेपाल स्थापना गरेपछि उनको योगदानले चर्चा मात्र होइन, सम्मान पनि पाउन थाल्यो। सन् २००५ मा उनले प्रतिष्ठित ‘अशोका फेलो’ पाइन्। सन् २००९ मा उनले ‘एसिया जनसेवा’ अवार्ड, २०१४ मा नोबेल पुरस्कार विजेता पाकिस्तानकी युसुफ मलाला र अमेरिकी जोन उडसँगै प्रतिष्ठित ‘वर्ल्र्ड चिल्ड्रेन अनररी अवार्ड’ बाट सम्मानित भइसकेकी छिन्। सन् २०१७ मा बिबिसीले विश्वका सिर्जनशील महिलाहरूको सूचीमा नेपालकी इन्दिरा रानाको नाम समेट्यो। रासस