
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले उपसभामुखमा रानामगरलाई उठाउने निर्णय गरेको हो । सत्तागठबन्धनमा उपसभामुख रास्वपाले पाउने सहमति भएको थियो ।
झापाकी मगर समानुपातिक सांसद हुन् । उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा भए पनि पार्टीले मगरलाई अघि सारेको हो । उपसभामुखको उम्मेदवारको प्रस्तावकमा गौतम रहने बताइएको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएको र कानुनबारे जानकार रहेकाले उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताइन् ।
त्यस्तै, सांसद इन्दिरा रानामगरले आफूले कानुनको औपचारिक अध्ययन नगरे पनि कानुनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको बताइन् । उनले भनिन्, ‘म प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अवार्डहरू दाबी गरिरहेको मान्छे हो । कानुन नपढे पनि जेलदेखि बालबालिका, मानव अधिकारका थुप्रै क्षेत्रहरूको अनुभव ३३ वर्षमा गरेकी छु ।’