मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ ६ शुक्रबार ०९:१७:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

राजापुर नगरपालिकामा मौलाउँदै बालविवाह : एक वर्षमा ९७० विवाहमध्ये ४६५ बालविवाह  

Read Time : > 2 मिनेट
२०७९ माघ ६ शुक्रबार ०९:१७:००

बर्दियाको राजापुर नगरपालिकामा एक वर्षमा भएका विवाहमध्ये ४८ प्रतिशतले बालविवाह गरेको एक तथ्यांकले देखाएको छ । राजापुर नगरपालिका, प्लान नेपाल र बाँके युनेस्को क्लबले गरेको संयुक्त सर्वेक्षणले राजापुर नगरपालिकामा भएका विवाहमध्ये ४८ प्रतिशत बालविवाह गरेको देखाएको हो । 

नगरपालिकाका एक हजार चार सय ११ महिला र एक हजार चार सय ९३ पुरुष गरी दुई हजार नौ सय चार परिवारमा गरिएको सर्वेक्षणमा नौ सय ७० जोडीले विवाह गरेको फेला परेको थियो । तीमध्ये चार सय ६५ जोडीले बालविवाह गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

बालविवाह गरेका दुई सय ८० महिला र एक सय ४५ पुरुष गरी चार सय २५ जनाले आफूखुसी प्रेमविवाह गरेको बताएका छन् । ‘सर्वेक्षणले देखाएको तथ्यांकअनुसार आफूखुसी बालविवाह गर्नेको संख्या ९१ प्रतिशत हुन आउँछ,’ राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले भने । राजापुर नगरपालिकामा अभिभावकले विवाह गरिदिएको संख्या नाै प्रतिशत मात्र रहेको छ । 

बालविवाह गर्नुको कारण पनि सर्वेक्षणले समेटेको छ । बालविवाह गरेकामध्ये ३२ प्रतिशतले केटा र केटी राम्रो पाएर विवाह गरेको बताएका छन् । २७ प्रतिशतले राम्रो परिवार पाएर विवाह गरेको र २५ प्रतिशतले सानो उमेरमा विवाह गरे पनि त्यसलाई बालविवाह नभएको दाबी गरेका छन् । त्यसैगरी, १० प्रतिशतले विवाह गर्ने उमेर थाहा नभएको र पाँच प्रतिशतले दाइजो कम लाग्ने भएकाले बालविवाह गरेको दाबी गरेको प्रतिवेदनमा उल्लेख छ । 

बालविवाह गरेकामध्ये ३३ प्रतिशतले आफैँ प्रेमविवाह गरेको जनाएका छन् । बालविवाह गरेका १८ प्रतिशतले साथीभाइको लहलहैमा र देखासिकी गरेर सानो उमेरमा विवाह गरेकाे जनाएका छन् । ‘बालविवाह गरेका १३ प्रतिशतले परम्परागत चलनचल्तीका कारण र १२ प्रतिशतले गरिबीका कारण बालविवाह गरेको प्रतिवेदनले देखाएको छ,’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने । 

प्रतिवेदनका अनुसार बालविवाह गरेका १७ प्रतिशतले विद्यालय जान छाडेका छन् । त्यसैगरी, स्वास्थ्य समस्या र चाँडै गर्भवती तथा बच्चा जन्मिने समस्या १७–१७ प्रतिशत रहेको छ । नाै–नाै प्रतिशतले मानसिक स्वास्थ्य समस्या, आर्थिक समस्या र कामको भारका साथै जिम्मेवारी बढेको जनाएका छन् । बालविवाह गर्दा सात प्रतिशतले पारिवारिक कलह भएको जनाएका छन् भने चार प्रतिशतले लैंगिक हिंसा भएको बताएको प्रतिवेदनमा उल्लेख छ । 

बालविवाह भएकामध्ये एक वर्षमा एक जोडीको सम्बन्धविच्छेद भएको छ । १९ जना गर्भवती भएको र १८ जनाले बच्चा जन्माएको प्रतिवेदनमा छ । बालविवाह गर्न हुँदैन भन्ने जानकारी हुँदाहुँदै विवाह गरेको देखिएको छ । दुई सय ५५ जनालाई सोध्दा २३ प्रतिशतले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न हुँदैन भन्ने जवाफ दिएका थिए । १७ प्रतिशतले विवाह स्वतः बदर हुन्छ भन्ने जवाफ दिँँदा ३७ प्रतिशतले विवाह दर्ता हुँदैन भन्ने जवाफ दिएको पालिकाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । बालविवाह गरेका एक सय ५५ जनालाई प्रश्न गर्दा १६ प्रतिशतले कैद र जरिवाना दुवै हुने उल्लेख गरेका थिए । 

प्रतिवेदनले पालिकालाई झस्काएको छ : प्रमुख प्रशासकीय अधिकृत सुवेदी
राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बालविवाहको बढ्दो लहरले चिन्तित बनाएको बताए । उनले सार्वजनिक भएको प्रतिवेदनले पालिकालाई झस्काएको बताए । आधुनिकीकरण, सूचना, प्रविधि र सामाजिक सञ्जालको प्रयोगले प्रेमविवाह मौलाएको देखिन्छ । यसले पालिकालाई चुनौती थपेको छ,’ उनले भने । 

बालविवाह न्यूनीकरणका लागि वडास्तरमा सचेतना अभियान सञ्चालन गर्न जरुरी देखिएको बताउँदै उनले बालविवाह न्यूनीकरणका लागि सञ्चालन भएका कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उब्जिएको बताए । ‘वडास्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न दुईजना वडा सदस्य र एकजना महिला स्वयंसेविका सम्मिलित एक्सन समिति बनाएर अगाडि बढ्ने योजना पालिकाले बनाएको छ,’ सुवेदीले भने । 

पालिकामा बालविवाह न्यूनीकरणका लागि बाल क्लब, युवा क्लब र विभिन्न संघसंस्थाले काम गर्दै आएका छन् । त्यहाँ २३ वटा संघसंस्थाले बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक काम गर्दै आएको नगरपालिकाले जनाएको छ ।