
एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले सहज जित निकालेका छन् । थाइल्यान्डको बैंककमा सञ्चालन भइरहेको प्रतियोगिताको बिहीबार महिला ४८ केजी तौल समूहमा सुष्माले भियतनामकी क्युनहानलाई ५–० अंकको आधारमा पराजित गर्दै दोस्रो चरण स्थान पक्का गरेकी हुन् । ५७ केजी तौल समूहमा हेमा राईले सिंगापुरकी चौउजिमिन बेर्नेसलाई आरएसी आईका आधारमा हराइन् ।
यसैगरी, पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी लेफ्चरसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछन् । ५७ केजीमा नेपालका इन्द्रबहादुर सुनारले प्रिक्वार्टरफाइनलमा लाओसका खेलाडीलाई ५–० अंकका आधारमा जित हासिल गर्दै क्वार्टरफाइनल स्थान पक्का गरेका छन् । इन्द्रले क्वार्टरफाइनलमा मंगोलियन गन्तुमार लुन्डासँग भिड्नेछन् ।
नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जबेगु (७५ केजी)ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । उनीहरूले क्रमशः इन्डोनेसियाका मोसकिता माइकल र काजकिस्तानका एरजनसँग खेल्नेछन् ।