मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ माघ ५ बिहीबार ०६:१८:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सभामुखको निर्वाचन आज : सत्ता र विपक्षी गठबन्धन भिड्दै

Read Time : > 3 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ माघ ५ बिहीबार ०६:१८:००

प्रतिनिधिसभाको सभामुख पदका लागि सत्तापक्ष र विपक्षी गठबन्धनबाट गरी दुईजनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले सभामुख पदमा मनोनयन दर्ता गराएका हुन् । सभामुखको निर्वाचनका लागि बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । 

झापा २ बाट निर्वाचित घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गरेका थिए । घिमिरेको मनोनयनलाई माओवादी प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गरेका छन् ।  कैलालीबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद न्यौपानेलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव र एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले समर्थन गरेका छन् । 

सभामुख पदमा उम्मेदवारी दिँदै घिमिरेले आफू निर्वाचित हुने निश्चित भएको दाबी गरे । ‘निर्वाचित भइसकेपछि सभालाई प्रभावकारी ढंगबाट सञ्चालन गरेर अघि बढ्छु । विगतबाट शिक्षा लिएर राजनीतिक दलहरूको सहमतिका आधारमा सभालाई व्यवस्थित ढंगले सञ्चालन गर्ने सोच बनाएको छु । आरोप–प्रत्यारोप र पूर्वाग्रहभन्दा यथार्थपरक ढंगबाट चलाउने भूमिका रहन्छ । सभामुखको भूमिका तटस्थ हिसाबले निर्वाह गर्छु,’ उनले भने । 

विपक्षी गठबन्धनकी उम्मेदवार न्यौपानेले आफू विजयनजिक रहेको दाबी गरिन् । ‘विभिन्न दलहरूले मलाई समर्थन गरेका छन् । कति दलले समर्थन गरे भन्ने कुरा निर्वाचनपछि थाहा पाउनुहुन्छ,’ उनले भनिन् । आफू निर्वाचित भएपछि सबैको सभामुख हुने उनको भनाइ थियो । ‘सभामुख भएर सञ्चालन गर्न पाउँदा तटस्थ भएर सांसद र संसद्प्रति न्याय गरेर राम्रो हिसाबले चलाउनेछु,’ न्यौपानेले भनिन् । 

कांग्रेस महामन्त्री शर्माले न्यौपानेको अनुभव, शालीनता र सक्षमताले संसद्को गरिमा उच्च हुने जिकिर गरे । सांसदले विधि पु¥याएर मतदान गरे नेपालको संसद्ले फेरि महिला सभामुख पाउने अवसर रहेको उनको भनाइ थियो । एकीकृत समाजवादीका प्रमुख सचेतक ज्वालाले प्रतिपक्षी दलहरू सभामुख र उपसभामुखमा मिलेर लड्ने सहमतिअनुसार सभामुखमा कांग्रेसलाई समर्थन गरेको बताए । उपसभामुखमा उम्मेदवारी दिने विषय सभामुखको निर्वाचनपछि टुंगो लगाइने उनको भनाइ थियो । 

सत्तागठबन्धनमा अहिले माओवादी, एमाले, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टी छन् । यीमध्ये भागबन्डामा असन्तुष्ट जसपा सरकारमा गएको छैन । रोजेको मन्त्रालय नपाउँदा जनमत पार्टी पनि असन्तुष्ट छ । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी भने प्रतिपक्षी बेन्चमै बसेको छ । गठबन्धनमा रहेका माओवादी ३२, एमाले ७९, रास्वपा २० र राप्रपा १४ गरेर एक सय ४५ मत सुनिश्चित छ । सभाध्यक्षको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले मत हाल्नेछैनन् । कर्तव्य ज्यान मुद्दामा फरार एमालेका लक्ष्मी कोइरी महतोले मत नहालेमा सत्तागठबन्धनका चार दलको मत एक सय ४३ हुन आउँछ । सभामुख चयन हुन तत्काल कायम रहेको दुई सय ७५ सदस्यको बहुमत अर्थात् एक सय ३८ संख्या आवश्यक पर्छ । सत्तागठबन्धनभित्र जसपा १२, जनमत ६ र नागरिक उन्मुक्ति पार्टीको चारजना गरेर २२ सदस्य भएका चार दल असन्तुष्ट छन् । 

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र विपक्षी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटघाट तीव्र बनाएका छन् । यादवकै आग्रहमा कांग्रेसले मधेस प्रदेशमा जसपाका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । अध्यक्ष यादवले शक्ति बाँडफाँटमा पुनर्विचार नभए सरकारमा सहभागी नहुने र सभामुखको निर्वाचनमा पनि साथ नदिने बताए । सभामुखको निर्वाचनमा सत्तापक्षीय उम्मेदवारलाई मत दिने वातावरण सरकारले बनाउनुपर्ने उनले बताए । ‘भोलि बिहानसम्म हाम्रो असन्तुष्टिलाई सम्बोधन भयो भने त्यही खालको निर्णय गर्छाैँ । अन्यथा हामी निर्वाचनमा साथ दिँदैनौँ,’ अध्यक्ष यादवले भने । 

जनमत पार्टीका अध्यक्ष सिके राउतले सभामुखको निर्वाचनमा कसलाई मत दिने तय भइनसकेको बताए । ‘हामी सरकार पक्षको मत पर्खिराखेका छौँ । भोलि बिहान निर्णय गर्छाैँ,’ उनले भने । पोर्टफोलियोभन्दा पनि माग मुद्दा सम्बोधनका लागि सरकारमा गएको भन्दै राउतले माग मुद्दासँग जोडिने मन्त्रालय नपाउने अवस्थामा सरकारमा जानुको औचित्य नभएको तर्क गरे । ‘राज्य सञ्चालनमा पनि सरकारले हामीलाई पूर्ण बाइकट ग¥यो । सरकारको नीति तथा कार्यक्रम पनि प्रतिगामी देखियो । थारू, मधेसी, अल्पसंख्यक, आदिवासीहरूको सवालमा पाएको अधिकार पनि खोसिने तरिकाले अघि बढेको देखियो । त्यसै भएर आशंका उब्जियो,’ उनले भने । सत्तारूढ पक्षको प्रतिक्रियाका आधारमा जनमतले पोजिसन क्लियर गर्ने राउतले स्पष्ट पारे । 

तीन सिट भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बिहीबार बिहान निर्णय लिने बताइन् । आफूहरू प्रतिपक्षी बेन्चमै रहेको उल्लेख गर्दै श्रेष्ठले सभामुखमा कसलाई समर्थन गर्ने भन्ने तय बिहान गरिने बताइन् । ‘हाम्रो माग मुद्दा सम्बोधनको बलियो आधार हेरेर अघि बढ्छौँ,’ उनले भनिन् । 

सरकारलाई विश्वासको मत दिएको, तर सहभागी नभएको लोसपाले पनि बिहान नै निर्णय गर्ने जानकारी दिएको छ । चार सिट भएको लोसपासँग सरकारले औपचारिक रूपमा मत मागिसकेको छैन । ‘बिहान हाम्रो संसदीय दलको बैठक बस्छ । के गर्ने भन्ने निष्कर्षमा पुग्छौँ,’ सांसद शरत्सिंह भण्डारी भन्छन् । 

सरकारलाई विश्वासको मत नदिएका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपामा प्रेम सुवालले बिहान नै निर्णय गर्ने बताएका छन् । संसद्मा तीनजना स्वतन्त्र सांसद छन् । अमरेश सिंह, प्रभु साह र योगेन्द्र मण्डलले सरकारलाई विश्वासको मत दिएका थिए । उनीहरूले कतातिर मत दिने खुलाइसकेका छैनन् । विपक्षी दलतिर अहिले कांग्रेसको ८८ र एकीकृत समाजवादीका १० जना गरी ९८ जना खुलेका छन् । जसपाले साथ दिए एक सय १० जना पुग्नेछ भने लोसपा थपिए संख्या एक सय १४ पुग्नेछ ।

अंकगणित के छ ? 

सभामुख चयन हुन तत्काल कायम रहेको दुई सय ७५ सदस्यको बहुमत अर्थात् एक सय ३८ संख्या आवश्यक पर्छ । गठबन्धनमा रहेका माओवादी ३२, एमाले ७९, रास्वपा २० र राप्रपा १४ गरेर एक सय ४५ मत सुनिश्चित छ । सभाध्यक्षको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले मत हाल्नेछैनन् । कर्तव्य ज्यान मुद्दामा फरार एमालेका लक्ष्मी कोइरी महतोले मत नहालेमा सत्तागठबन्धनका चार दलको मत एक सय ४३ हुन आउँछ । सत्तागठबन्धनभित्र जसपा १२, जनमत ६ र नागरिक उन्मुक्ति पार्टीको चारजना गरेर २२ सदस्य भएका चार दल असन्तुष्ट छन् ।विपक्षी दलतिर अहिले कांग्रेसको ८८ र एकीकृत समाजवादीका १० जना गरी ९८ खुलेका छन् । जसपाले साथ दिए एक सय १० जना पुग्नेछ भने लोसपा थपिए संख्या एक सय १४ पुग्नेछ । यति हुँदा बहुमतका लागि २४ जना कम हुनेछ । असन्तुष्ट जनमत र नाउपा थपिए संख्या एक सय २४ पुग्नेछ । १४ जना कम हुनेछ । सभामुख निर्वाचनलाई लिएर जनमोर्चा र नेमकिपाका एक–एक र तीन स्वतन्त्र गरी पाँच सांसदले मतदानबारे बुधबार रातिसम्म केही बताएका छैनन् ।