Skip This
प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको आधिकारिक जानकारी अब गाइडबाट मात्रै 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको आधिकारिक जानकारी अब गाइडबाट मात्रै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२२:oo

हलेसी तुवाचुङ नगरपालिकाले विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरको महत्व बुझाउन स्थानीय २५ जना युवालाई पर्यटक गाइड तालिम दिएको छ। 

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसी आउने पर्यटक तथा भक्तजनलाई त्यहाँको आधिकारिक महत्व बुझाउँदै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ नगरपालिकाले आठदिने तालिम दिएको हो। 

हलेसी तथा आसपासका धार्मिक एवं पर्यटकीय स्थलहरूको महत्वका बारेमा आ–आफ्नै तवरले वर्णन गरिएकाले आगामी दिनमा आधिकारिक गाइडबाट आधिकारिक महत्व मात्र जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताइन्।

‘हलेसी, ताराखसे, तुवाचुङ–जयाजुमलगायतका पर्यटकीय स्थललाई आ–आफ्नै धारणाअनुसार वर्णन तथा व्याख्या गर्ने गरेको पाइएको छ,’ उनले भनिन्, ‘जसका कारण त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषयविज्ञलाई झिकाएर पर्यटक गाइड तालिम दिइएको छ। आगामी दिनमा आधिकारिक गाइडबाट मात्रै हलेसीको वर्णन गरिनेछ।’

प्राकृतिक रूपमा समेत विश्व प्रसिद्ध हलेसीको हिन्दु, बौद्ध र किराँत तीनवटै धर्मावलम्बीको आ–आफ्नै इतिहास रहेको जानकारहरू बताउँछन्। सोही आधिकारिक जानकारी पर्यटकलाई दिन नगरपालिकाले गाइड राख्ने उद्देश्यले गत पुस–२७ गतेदेखि माघ–४ गतेसम्म आठदिने पर्यटक गाइड तालिमको आयोजना गरेको हो। 

नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेज्मेन्ट (एनएटिएच)सँगको सहकार्यमा नगरपालिकाले दिएको तालिमको सहजीकरण एनएटिएचका विभागीय प्रमुख अजयकुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सहप्राध्यापक तथा संकृतिविद् डा.लोकनाथ दुलाल, बौद्ध धर्म गुरु पुण्यप्रसाद पराजुली र किराँत मुन्धुम अध्येता भोगीराज चाम्लिङ राईले गरेका थिए। पर्यटक गाइडसम्बन्धी तालिमका लागि नगरपालिकाले गत मंसिर–८ गते सूचना निकालेको थियो। 

नगरपालिकाले निकालेको सूचनाको आधारमा ३३ जनाको आवेदन परेकोमा दुईजनाको प्रक्रिया नपुगेपछि २५ जनालाई तालिममा सहभागी गराइएको वडा नं. ७ महादेव स्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिए। तालिममा सात महिला र १८ पुरुष गरी २५ जना सहभागी भएका थिए। 

तालिममा सहभागी युवालाई सूचीकृत गरेर आधिकारिक गाइड राखिने नगरपालिकाले जनाएको छ। उनीहरूको पारिश्रमिकको विषयमा नगर कार्यपालिकाको बैठक बसेर निर्णय गरिने वडाध्यक्ष एवं नगर प्रवक्ता गिरीले जानकारी दिए। 

धार्मिक तथा सांस्कृतिक रूपले विश्व प्रसिद्ध हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। हलेसीमा महादेव गुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका विभिन्न जिल्लासँगै भारत, चीन, बंगलादेश, भुटान तथा अमेरिका, दक्षिण कोरियालगायत विभिन्न देशबाट पर्यटक एवं भक्तजन आउने गरेका छन्।  

हलेसीमा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरू आ–आफ्नै तरिकाले पूजापाठ गर्दै आएका छन्। हिन्दु धर्ममा आस्था राख्नेहरूले यसलाई पशुपतिनाथ, बौद्ध धर्मावलम्बीहरूले दोस्रो लुम्बिनी तथा किराँत धर्मावलम्बीहरुले आदिम भूमि मान्ने गरेका छन्।

दैनिक सयौँको संख्यामा पर्यटक र भक्तजनको भिड लाग्ने हलेसीमा चैतमा रामनवमी मेला १५ दिन, मंसिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्रि मेला ७ दिन र भदौमा तीज मेला तीन दिन लाग्ने गरेको छ। मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीको मेला भर्न तथा पूजाआजा गर्न आउने पर्यटक तथा भक्तजनको संख्या दिनानुदिन वृद्धि हुँदै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।