
कांग्रेसबाट सभामुख पदमा ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा प्रस्तावक र समर्थकमा एकीकृत समाजवादीबाट प्रमुख सचेतक प्रकाश ज्वाला छन्।
उम्मेदवारी दर्तापछि उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निर्वाचनमा जय र पराजय सामान्य रहेको बताइन्। उनले भनिन्, ‘निर्वाचनमा जय र पराजय दुवै स्वीकार गर्नुपर्छ। म डेमोक्य्राट हुँ। म विजयनजिक छु भन्ने लाग्छ।’
न्यौपानेले आफू सभामुख पदमा निर्वाचित भएपछि संसदप्रति जिम्मेवार र तटस्थ भएर जिम्मेवारी निर्वाह गर्ने बताइन्। यसअघि न्यौपाने सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाध्यक्षता गर्ने अध्यक्षमण्डलको सदस्य थिइन्।
उनले संसद्को पहिलो बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले आराम गर्दा अध्यक्षता गरेकी थिइन् । अनेमसंघ, कांग्रेस केन्द्रीय सदस्य हुँदै न्यौपाने पार्टीको प्रमुख सचेतक भइसकेकी हुन्।
तस्बिर : अमुल थापा/ नयाँ पत्रिका