
कर्णाली प्रदेश सभाको उपसभामुख पदका लागि माओवादी केन्द्रकी यशाेदा न्यौपाने र कांग्रेसकी इन्द्राकुमारी शाहीको उम्मेदवारी परेको छ। आज हुने उपसभामुखको निर्वाचनमा शाही र न्यौपानेको उम्मेदवारी परेको हो।
उपसभामुखका लागि आज निर्वाचन हुने कार्यतालिका रहेको छ। न्यौपाने कालिकोटबाट र शाही दैलेखबाट समानुपातिक सांसद हुन्। कर्णाली प्रदेशमा माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राप्रपाको गठबन्धन छ।
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक–एकजना सभासद् छन्।
यसरी हेर्दा उपसभामुखमा सत्तागठबन्धनकाे २५ जना मत हुनेछ । त्यसैले उपसभामुखमा न्यौपानेको जित निश्चितजस्तै देखिएको छ।