मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ ४ बुधबार ०९:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो    

Read Time : < 1 मिनेट
२०७९ माघ ४ बुधबार ०९:३१:००

पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरूका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार मंगलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एकजनाको स्थिति अझै अज्ञात छ । यसअघि मंगलबार नै ४८ शवलाई काठमाडौंस्थित शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौंमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ ।  

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताए । मंगलबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो ।

‘सोमबार शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको हो वा एउटैको हो, पत्ता लागाउने काम भइरहेको छ,’ उनले भने । ६८ यात्रसहित चार चालकदलका सदस्य लिएर आइतबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज सेती खोँचमा खसेको थियो ।