
लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधा मात्रै विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहावमा कमी आएपछि केन्द्रबाट उत्पादन हुँदै आएको विद्युत् कमी भएको हो ।
बर्खाको समय टर्बाइन खुला छोड्दा ७३ मेगावाटसम्म उत्पादन हुने उक्त जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ३५ मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रका केन्द्र प्रमुख पवन बस्नेतले बताए ।
‘यसपटकको हिउँदमा गत वर्षको तुलनामा उत्पादन अझ घट्न सक्छ, छिटो नदी सुकेपछि बिजुली उत्पादन अघिल्ला वर्षभन्दा सानो हुने सम्भावना छ,’ उनले भने, ‘गएको वर्ष औसत ३० मेगावाटसम्म थियो । केन्द्रबाट वर्षायाममा ७३ मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ ।’ केन्द्रले ६ महिनासम्म कम्तीमा ७० मेगावाट विद्युत् उत्पादन हुने र अन्य समयमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन घट्ने जनाएको छ ।