
नेपालमा विद्युत्को मुख्य स्रोत जलविद्युत् हो । त्यसमा पनि अधिकांश जलविद्युत् आयोजना नदी प्रवाह (आरओआर) मा आधारित छन् । वर्षात्मा खोलामा पानी बढी हुँदा आयोजनाबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । त्यतिवेला भारतमा विद्युत् निर्यातसमेत गर्न सकिन्छ । तर, हिउँदमा भने खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि स्वतः घट्छ ।
हिउँदमा आरओआर आयोजनाबाट कुल क्षमताको ४० प्रतिशत हाराहारीमा विद्युत् उत्पादन हुने गर्छ । अहिले नेपालको कुल विद्युत् जडित क्षमता कम हुँदा हिउँदमा पुग्ने गरी बिजुली उत्पादन हुन सकेको छैन । अहिले हिउँद लागेसँगै विद्युत् उत्पादनमा कमी आइसकेको छ ।
नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग धान्न गत मंसिरदेखि नै भारतदेखि विद्युत् आयात गर्न सुरु गरेको छ ।