
नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी वल्र्ड डिभिजन–२ शृंखलाअन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्धको खेल तालिका सार्वजनिक गरिसकेको छ । राष्ट्रिय टोलीका खेलाडीहरू प्रशिक्षकविहीन अवस्थामा छन् । उनीहरूको प्रशिक्षण पनि नियमित भइरहेको छैन । नेपाली राष्ट्रिय क्रिकेट टोली गत मंसिरदेखि प्रशिक्षकविहीन छ । मनोज प्रभाकरले गत महिना मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
एकदिवसीय मान्यता रक्षा गर्न पनि आइसिसी वल्र्ड डिभिजन–२ का आगामी खेल निकै महत्वपूर्ण मानिएको छ । लिगको अंक तालिकामा शीर्ष पाँचभित्र पर्न सकिएन भने नेपालले आफ्नो एकदिवसीय मान्यता गुमाउनेछ । अहिले नेपालले २४ खेलबाट १८ अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ । लिगमा नेपालले १२ खेल खेल्न बाँकी छ । शीर्ष पाँच स्थानमा रहन कम्तीमा पनि नेपालले नौ खेलमा जित निकाल्नुपर्छ ।
क्यानले नामिबिया र स्कटल्यान्डसँग त्रिदेशीय शृंखला २–९ फागुनसम्म गर्ने तयारी गर्दा प्रशिक्षण र प्रशिक्षकको टुंगो लागेको छैन । यद्यपि, क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकका लागि निवेदन माग गरेको छ । प्रभाकरको बहिर्गमनपछि मुख्य प्रशिक्षकको दरखास्त आह्वानमा अहिलेसम्म २५ भन्दा बढी प्रशिक्षकले दरखास्त राखेका छन् ।
यसबीच, क्यान आफैँले आयोजना गरेको नेपाली टी–२० लिग विवादास्पद रूपमा सम्पन्न भयो । क्यानले प्रभावकारी उत्कृष्ट हुने दाबी गरेको प्रतियोगितामा नेपाली टोली प्रशिक्षकविहीन हुँदा नेपाली खेलाडीको प्रदर्शनबारे मूल्यांकन कसैले गरेनन् । अब, क्यान नेपालमै रहेका प्रशिक्षक र छनोट समितिकै आधारमा अन्तिम खेलाडी छनोट गर्ने मनसायमा छ । चाँडै छनोट कमिटीबाट प्रशिक्षक नियुक्ति गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नयाँ पत्रिकालाई बताए । पछिल्लो दरखास्तमा पूर्वप्रशिक्षकद्वय मोन्टी देसाईसँगै डेबिड ह्वाटमोरले समेत पुनः इच्छा देखाएका छन् ।
क्यान, खेलाडी र प्रशिक्षकबीच असमझदारी
प्रभाकरबाट खेलाडी र क्यान सन्तुष्ट हुन सकेनन् । प्रभाकरले पारिवारिक कारण देखाउँदै क्यानलाई राजीनामा पत्र बुझाए । प्रभाकर एक पात्र मात्रै हुन् । यो दुई वर्षमा क्यानलाई मुख्य प्रशिक्षकबाट राजीनामा बुझाउने चारजना पुगेका छन् । खेलाडीबीचको गुट–उपगुट, खराब नतिजा र क्यानसँगको सम्बन्ध गतिलो बनाउन नसक्दा नेपाली टोलीका प्रशिक्षक अहिले लामो समयसम्म टिक्न सकेका छैनन् । उनीहरूले सम्झौताअनुसार प्रशिक्षण कार्यकाल पूरा नगर्दै टोली छाडेर गएका देखिन्छन् । प्रभाकर अघि पुबुदु दासानायके, डेभ ह्वाटमोर र उमेश पटवालले यस्तै समस्या भोग्दै राजीनामा दिएका थिए ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवालले नेपाली क्रिेकटभित्र ‘सिस्टम’ नहुनु र क्रिकेटभित्रको राजनीतिका कारण प्रशिक्षक स्थायी रूपमा टिक्न नसकेको विश्लेषण गरेका छन् । ‘हाम्रो कमीकमजोर पक्कै छ । प्रशिक्षकले नेपालमा वातावरण राम्रो नभएपछि, भविष्य नदेखेपछि छोडेका देखिन्छ,’ अग्रवाल भन्छन्, ‘हाम्रो सिस्टम र व्यवस्थापन राम्रो भएन, भविष्यकै चिन्ताले विदेशी प्रशिक्षक टिकेका छैनन् ।’
दुई वर्ष अवधिमा राजीनामा दिएका प्रशिक्षक
उमेश पटवाल
०७६ माघ तेस्रो साता उमेश पटवालले राष्ट्रिय टोली छाडेका थिए । आइसिसी विश्वकप क्रिकेट लिग–२ सुरु हुन एक दिनअघि पटवालले क्यानलाई राजीनामा पत्र पठाए । अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेलेपछि पटवाल नेपाली टोलीबाट बाहिर भए । पटवालले आठ महिना नेपाली टोलीसँग बिताए । आइसिसीको सहयोगमा पटवालले मासिक सात हजार अमेरिकी डलर पारिश्रमिक लिएका थिए । क्यान निलम्बनमा रहेको समयमा पटवाललाई आइसिसीको सहयोगमा राखेपले प्रशिक्षकमा नियुक्त गरेको थियो ।
डेभ ह्वाटमोर
०७८ भदौ दोस्रो साता डेभ ह्वाटमोरले क्यानलाई मेलमार्फत राजीनामा बुझाएका थिए । ओमानमा आइसिसी विश्वकप क्रिकेट लिग–२ पछि ह्वाटमोरले नेपाल छाडेका थिए । एक वर्षका लागि नेपाली टोलीमा नियुक्त भएका ह्वाटमोरसमेत पूरा कार्यकाल रहेनन् । उनी ९ महिना मात्रै टोलीसँग रहे । नियमित तलब र श्रमस्वीकृतिजस्ता विवादमा फस्न थालेपछि ह्वाटमोरले टोली छाडेका हुन् । नेपालले ह्वाटमोरको प्रशिक्षणमा घरेलु मैदानमा खेलेको त्रिकोणात्मक टी–२० शृंखलाको उपाधि नै जितेको थियो । कुशल भुर्तेललाई ह्वाटमोरले नै डेब्यु गराएका थिए ।
पुबुदु दासानायके
०७९ साल साउनमा पुबुदु दासानायकेले टोली छाडेका थिए । उनको कार्यकालमा नेपालले आइसिसी विश्वकप लिग–२ तथा विश्वकप टी–२० छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको थियो । पुबुदुको दोस्रो कार्यकाल सफल हुन सकेन ।
मनोज प्रभाकर
०७९ मंसिर अन्तिम साता प्रभाकरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । कार्यभार सम्हालेको चार महिनापछि नै उनले नेपाली टोलीसँगै नरहने बताए । प्रशिक्षणमा खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि उनले राजीनामा दिए ।
खास कारण बुझ्न सकेनौँ
चतुरबहादुर चन्द, अध्यक्ष, क्यान
सबै प्रशिक्षक व्यक्तिगत कारण भन्नुहुन्छ । खास कारण के हो ? मलाई केही पनि थाहा छैन । सन्तोषजनक नतिजा नआएको र खेलाडी सन्तुष्ट नहुँदा प्रभाकरलाई नै हामीले राजीनामा दिन आग्रह गर्यौँ । क्यानले हटाउनुभन्दा राजीनामा सजिलो पनि भयो । सहमतिमै भएको हो । अरू प्रशिक्षकको भने क्यानसँग विमति छैन ।
प्रशिक्षकले भविष्य देखेनन्
पवन अग्रवाल, पूर्वकप्तान
प्रशिक्षक दीर्घकालीन समयसम्म नहुनुमा हाम्र्रो पनि कमजोरी छ । प्रशिक्षक स्वतन्त्र हुनुपर्छ । आफूले स्पेस पाउन नसक्दा र भविष्य नदेख्दा छाडेर गएको जस्तो लाग्छ । हामीले हटाएको भन्दा पनि उनीनहरू आफैँ छाडेर गएका हुन् । मनोज प्रभाकर मात्रै फरक केस हो । अरू सबै यहाँ बस्न ठीक छैन भनेर गएका थिए । हाम्रो सिस्टम अलि कमजोर छ । व्यवस्थापन चुस्त नभएपछि अन्यतिर भविष्यको खोजीमा उनीहरू लाग्छन् ।