मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
आइतबार पोखराको सेतीनदी खोँचमा दुर्घटनाग्रस्त यतीको ९एन–एएनसी कलसाइन नम्बरको एटिआर–७२ जहाज । तस्बिर : रोहितराज पराजुली/नयाँ पत्रिका
नवीन अर्याल काठमाडाैं
२०७९ माघ २ सोमबार ०६:३७:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आठ महिना नबित्दै यती समूहको अर्को जहाज दुर्घटना : आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो मानवीय क्षति

Read Time : > 3 मिनेट
२०७९ माघ २ सोमबार ०६:३७:००
  •  ६९ को मृत्यु, तीनजना अझै फेला परेनन्
  •  नेपालमा उडानका लागि  तुलनात्मक सुरक्षित मानिने एटिआर विमान पहिलोपटक दुर्घटना
  •  पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन, ४५ दिनको समयसीमा
  •  शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा, सनाखत भएका शव आज परिवारलाई हस्तान्तरण गरिने
  •  भौगोलिक सहजता र अनुकूल मौसम हुँदाहुँदै ‘अस्वाभाविक’ दुर्घटना

आठ महिना नबिन्दै यती समूहको अर्को जहाज दुर्घटना भएको छ । यती एयरलाइन्सको ९एन–एएनसी कलसाइन नम्बरको एटिआर–७२ जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए)मा ल्यान्ड गर्नु केही सेकेन्डअघि दुर्घटनामा परेको हो । यसअघि गत १५ जेठमा पोखराबाट मुस्ताङतर्फ गएको यतीकै भगिनी संस्था तारा एयरको ट्विनअटर विमान थसाङमा दुर्घटना भएको थियो । 

एटिआर–७२ दुर्घटना हुँदा आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठूलो मानवीय क्षति भएको छ । ६८ यात्रु र चालक दलका चार सदस्यसहित ७२ जना सवार जहाज सेती नदीको खोँचमा खसेको हो । दुर्घटनास्थलबाट ६९ जनाको शव फेला परिसकेको छ भने तीनजनाको उद्धारकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ । बेपत्ता यात्रुको सम्भव भएसम्म रातिमा पनि खोजी जारी रहने पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले बताएका छन् ।

वरिष्ठ क्याप्टेन कमल केसी र पाइलट अञ्जु थापाले बिहान १०: ३२ बजे जहाज काठमाडौंबाट पोखराका लागि उडाएका थिए । चालक दलका सदस्यसहित जहाजमा ५७ जना नेपाली, पाँचजना भारतीय, चारजना रसियन, दुईजना कोरियन तथा अर्जेन्टिना, अस्ट्रेलिया, आइरिस र फ्रान्सका एक–एकजना नागरिक थिए । भौगोलिक सहजता र अनुकूल मौसम हुँदाहुँदै मानवीय वा प्राविधिक के कमजोरीले दुर्घटना भयो भन्ने अहिलेसम्म खुलेको छैन । सबै कुरा ठीकठाक हुँदाहुँदै ‘अस्वाभाविक’ ढंगले दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

पोखराको आकाशमा पुगेपछि पाइलटले विमानस्थलमा जहाज अवतरण गर्न एयर ट्राफिक कन्ट्रोल (एटिसी)सँग अनुमति मागेका थिए । एटिसीले रनवे क्लियर रहेको जानकारी गराउँदै जहाज अवतरणका लागि अनुमति पनि दिएको थियो । विमानस्थल टावरसँग चालक दलको अन्तिमपटक दुर्घटनास्थलमाथिको आकाशमा १०:५० बजे सम्पर्क भएको थियो ।

स्रोतका अनुसार एटिसीले विमानस्थलको पूर्वतर्फ रनवे ३० बाट अवतरण गर्न आग्रह गरेको थियो । तर, पाइलटले पश्चिमतर्फ रनवे १२ बाट अवतरण गर्न अनुमति मागेका थिए । रनवे खाली र मौसम पनि सफा रहेकाले एटिसीले पाइलटको आग्रहअनुसार रनवे १२ बाट अवतरणको अनुमति पनि दिएको थियो । लगत्तै पश्चिमतर्फबाट मोडिएर जहाज विमानस्थलनजिकै आउँदै गर्दा अकस्मात् दुर्घटनामा परेको पोखरा विमानस्थलका प्रमुख गौतमले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेको दुवैतर्फबाट उडान र अवतरण गर्न मिल्छ । 

‘अवतरणको अनुमति मागेपछि चालक दलले एटिसीसँग थप केही कुरा गरेको छैन, यदि जहाजमा प्राविधिक समस्या आएको वा मौसम खराब भएर अवतरणमा समस्या आएको हुन्थ्यो भने एटिसीलाई जानकारी गराउँथ्यो होला,’ क्यानका प्रवक्ता निरौलाले भने, ‘दुर्घटनाको समय मौसम सफा थियो, जहाज पनि सामान्य अवस्थामै थियो, रनवे क्लियर हुनाले एटिसीले जहाज अवतरण गर्न अनुमति दियो, तर अकस्मात् खस्यो ।’ जहाज दुर्घटनाको कारण एटिसीलाई पनि पत्तो नभएको उनको भनाइ छ । 

नेपालमा एटिआरको उडान तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । तर, त्यही जहाज दुर्घटनामा परेको छ । पोखरालाई पनि उडानका लागि सुरक्षित स्थान मानिन्छ । यही जहाजले गत ७ पुसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेको थियो । वरिष्ठ क्याप्टेन केसीले नै डेमो उडान गरेका थिए । 

पोखरामा दुर्घटनामा परेको जहाज यतीले थाइल्यान्डको नुक एयरलाइन्ससँग २६ मार्च २०१९ मा किनेको हो । यो जहाज सन् २००७ मा बनेको हो । यसको पहिलो उडान १ अगस्ट २००७ मा भएको थियो । सुरुवातमा जहाज भारतीय अर्बपति विजय माल्याको वायुसेवा कम्पनी किङफिसरले चलाएको थियो । किङफिसरले ६ वर्ष उडाएपछि सन् २०१३ मा थाइल्यान्डको नुक एयरलाई बिक्री गर्‍यो । नुक एयरले सन् २०१९ सम्म जहाज उडाएको थियो ।

सामान्यतया जहाजको कुनै आयु नहुने हवाईविज्ञको भनाइ छ । तर, जहाज निर्माता कम्पनीले दिएको सेड्युलअनुसार जहाज मर्मतसम्भार नगर्ने, पार्टपुर्जा नफेर्ने गरेमा जहाज उडानयोग्य हुँदैन । नेपालमा वायुसेवा कम्पनीहरूले जहाजको नियमित मर्मतसम्भारमा ध्यान नदिने गरेको नियामक निकायकै अधिकारीहरू बताउँछन् । वायुसेवा कम्पनीले जहाजको नियमित मर्मतसम्भार गरेको छ कि छैन ?

पार्टपुर्जा फेरेको छ कि छैन ? जहाज उडाउनयोग्य छ कि छैन भनेर नियमन गर्ने क्यानको जिम्मेवारी हो । तर, नियमनकारी निकायभन्दा वायुसेवा कम्पनीहरू बलिया हुँदा छनबिन प्रभावित हुँदै आइरहेको छ । बर्सेनि दुर्घटनापछि छानबिन समिति बन्छन् । समितिले प्रतिवेदन पनि बुझाएका छन् । तर, अहिलेसम्म छानबिन प्रतिवेदनहरू कार्यान्वयन गरेर हवाई सेवालाई सुरक्षित बनाउन कुनै पहल नभएको हवाईविज्ञको गुनासो छ ।

प्रत्यक्षदर्शीले के–के देखे ?
८७ वर्षीय बबरजन गुरुङ भन्छन्–जहाज तीनपटक दायाँ–बायाँ कोल्टिँदै बाँसको झ्याङमा गएर ठोक्कियो
म घरअगाडि घाम तापेर बसिरहेको थिएँ । माथिबाट एक्कासि बेग्लै चर्को आवाज निकाल्दै जहाज आयो । यस्तो आवाज यसअघि कुनै जहाजको पनि थिएन । विगतमा भन्दा धेरै कम उचाइबाट उडेको जहाज मेरो घरमाथिबाटै घुम्यो । त्यसपछि तीनपटकसम्म दायाँ–बायाँ कोल्टिँदै नजिकैको बाँसको झ्याङमा ठोक्किएर सेतीको खोँच (उनको घरबाट दुई सय मिटरको दूरी)मा खस्यो । केहीबेरमै चर्को आवाज आयो, धुवाँको मुस्लो छुट्यो, दनदनी आगो बल्न थाल्यो । तत्कालै मानिस दुर्घटनास्थलमा जम्मा भए । सुरक्षाकर्मी पनि आएपछि उद्धार सुरु भयो । यती एयरलाइन्स लेखेको कागजको ग्लास र जहाजको टिनको पाता उछिट्टिएर मेरो घरको कम्पाउन्डसम्म आइपुगेको थियो । 

चिजा विक भन्छिन्–एयरपोर्टमा झर्नुपर्ने जहाज अर्कै बाटो लागेको शंका बढेको थियो 
जहाज काउँडाँडामाथिबाट घुमेर आएको थियो । एयरपोर्टमा झर्नुपर्ने जहाज पृथ्वीचोकबाट केही माथितिर लाग्दै फेरि तलतिर गयो । तल किन गयो भनेर मनमा शंका लाग्यो । जहाज कता जाने रै’छ भनेर हेरिरहेँ । नजिकैबाट फेरि जहाज घुम्यो । घुमेर केही अगाडि आएपछि भने सेतीको खोँचमा खस्यो । त्यसको केही समयपछि ठूलो आवाज आयो । 

दुर्घटनालगत्तै घटनास्थल पुगेका बुद्ध छिनाल भन्छन्–तत्काल पानी पाएको भए केहीलाई 
जीवितै उद्धार गर्न सकिन्थ्यो होला

म घरमै बसिरहेको थिएँ । फरक आवाज निकाल्दै एउटा जहाज अगाडि बढिरहेको थियो । हामी बसेको स्थानभन्दा केही अगाडि पुगेर जहाज घुम्यो र केही अगाडि पुग्नेबित्तिकै खोँचमा खस्यो । सँगै रहेका ६–७ जना साथीसहित म जहाज खसेको स्थानतिर दौडिएँ । हामी दुर्घटनास्थल पुग्दा जहाजमा आगो लाग्न थालिसकेको थियो । तीन–चारवटा शरीर चलमलाइरहेको अवस्थामा देखेका थियौँ । तर, उनीहरूको शरीरमा आगोको लप्काले छोइसकेको थियो । तत्काल पानी पाएको भए उनीहरूलाई जीवितै उद्धार गर्न सक्थ्यौँ होला, तर पानी थिएन ।

एक महिलालाई तान्यौँ । उनको खुट्टामा केही चोट थियो, शरीर केही भएको थिएन, तर बेहोस थिइन् । तत्काल १०० मा फोन गर्‍यौँ, तर व्यस्त थियो । त्यसपछि १०–११ जनालाई निकालेर माथि ल्यायौँ । एउटा बच्चाको टाउको थिएन, त्यो शवलाई त्यहीँ छाड्यौँ । जहाजमा आगो दन्किन थालेपछि जहाज पड्किने हो कि भनेर हामीलाई डर लाग्यो । दुर्घटनास्थल भिरालो पनि भएकाले हामी माथि आयौँ । त्यसपछि केही साथी नजिकैको नयाँगाउँ बोरिङमा गएर ट्यांकरमा पानी ल्यायौँ । पानी हाल्न थालेपछि मात्रै सुरक्षाकर्मी र उद्धार टोली आए । त्यतिवेला दुर्घटना भएको १५–२० मिनेट भइसकेको थियो ।